एमालेका नेताले आफ्नै नेतामाथि यस्ते आरोप लगाए

एमालेका नेताले आफ्नै नेतामाथि यस्ते आरोप लगाए

शेरधन राई

निज (कृपाशुर शेर्पा) सँग मेरो चिनजान ०५६ सालको आम निर्वाचन पश्चात भएको हो । म सांसदमा निर्वाचित हुँदै गर्दा पहिलोपटक उनीसँग भेट भएको हो । उनका बारेमा सुन्दा ‘खै मुखिया, खरिदार, सुब्बा केमा जागिर खान्छ रे, राजनीतिक हिसाबमा निज पञ्चायतमा मण्डले, बहुदल आएपछि राप्रपा र कांग्रेसलाई सघाउँदै आएको’ भन्ने सुनेको थिएँ ।

पहिलो भेट हुँदा निज एमाले समर्थक भएको भनेर थाहा पाएको हुँ । निजलाई काठमाडौंमा सम्पर्क मञ्चको सदस्यता दिई मञ्चमै ०५७ सालमा संगठित गरेको हो । र, एकपटक मञ्चको सल्लाहकार अध्यक्ष र मञ्चको अध्यक्ष भएका हुन् । ०५८ सालमा संगठित सदस्यताको सिफारिस गराएको र निजले सदस्यता प्राप्त गरेको हो ।

निजले जिल्लाका अगुवा नेता र केन्द्रमा केही प्रमुख नेताहरुलाई टिकटको निर्णय हुनुपूर्व भोजपुरको निर्वाचन खर्च सबै आफूले व्यवस्थापन गर्ने कुरा गरेका थिए । तर, टिकटको निर्णय पश्चात निजले बोली र व्यवहार पूरै परिवर्तन गरेको, पार्टी खातामा क्षेत्र नम्बर दुईमा एक/एक करोड जम्मा गर्छु भनेर आफैंले हौवा पिटाए । तर, एक पैसा पनि निर्वाचन खर्च जम्मा गरेनन् ।त्यसपश्चात जिल्लामा भूगोलमा काम गर्ने इच्छा प्रकट गरेपश्चात ०६२/६३ मा म जिल्ला कमिटीको सचिव रहेका बेला जिल्ला कमिटीमा मनोनित गरेको र दुई कार्यकाल जिल्ला कमिटीमा काम गरेका हुन् । कृपासुरलाई ०७० सालको संविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर १ को टिकटका लागि सिफारिस गरिएको र उनले टिकट प्राप्त गरेका हुन् ।

निज शेर्पाले गह्रुङ्गो मनले क्षेत्र नम्बर दुईका लागि बुथ खर्चका नाममा करिब १० लाखको हाराहारीमा हुन आउने रकम चाहिँ दिने भनेका थिए । त्योसमेत मंसिर १ गतेसम्म पनि दिने चाल नदेखिएपछि आफूले कडा शब्दमा फोनबाट दबाव दिएको भोलिपल्ट उनले दुई लाख रुपैयाँ पठाएका थिए ।

कृपाशुर शेर्पाका बारेमा, जो अहिले दलित महिलासँगको सम्बन्ध र सन्तानका बारेमा निर्वाचन प्रचारका बेला पर्चा छपाएर छ्याप्छ्याप्ती बाँडिएको थियो, त्यसबारे निजलाई पार्टीको तर्फबाट सोध्दा होइन भनेका थिए । त्यसैले यसबारे सिंगो पार्टीेले खण्डन र प्रतिवाद गरेको थियो । जुन कुरा पछि प्रमाणित भई सकारेका छन् । तर, हाल छोराबुहारीलाई पद र पैसाको दबावमा थुनाउने तर्साउने र गोलीले उडाइदिन्छु भन्ने अभिव्यक्तिहरु स्वयमले दिएको कुरा सार्वजनिक सञ्चार माध्यममा आइरहेको कुरा पार्टीलाई अवगतै हुनुपर्छ ।

निज (शेर्पा) ले मलाई सिध्याउने भनेर आफ्नो पद, शक्ति र पैसा खर्च गरेको र त्यो हदसम्मको अपराधिक काम गरिरहेकोमा म आश्चर्यचकित छु । यसबाट म ज्यादै गम्भीर बनेको छु ।सारमा भन्दा निज शेर्पासँग मेरो कुनै व्यक्तिगत, राजनीति दुश्मनी वा प्रतिस्पर्धा केही नरहेको जानकारी गराउँछु । निजसँगको सम्बन्ध विल्कुल पार्टीगत र कमरेड्ली मात्रै रहेको छ । अराजनीतिक वा कुनै स्वार्थ र लाभको सम्बन्ध आफूले कुनै पनि मानेमा राखेको छैन । निजले गरिरहेका अराजनीतिक, अपराधिक र खतरनाक गतिविधिहरु लगातार थाहा पाएर पनि आफूले कुनै क्रिया प्रतिक्रिया दिने गरेको छैन ।

यस प्रकारका पृष्ठभूमिका व्यक्तिहरुले पार्टीभित्र बसेर, पद र पैसाको दुरुपयोग गरेर कृत्रिम पात्र खडा गरेर, मजस्तो एउटा इमानदार कार्यकर्ता, जसले आफ्नो घरपरिवार र निजी जिन्दगी त्यागेर यो पार्टीमा समर्पित छ, र यो ठाउँमा आइपुगेको एक निश्कलंक व्यक्तिमाथि यो हदसम्मको हथ्कण्डा अपनाउँछ । अनि, पार्टी र समाजलाई नै जबरजस्त दिग्भ्रमित पार्न खोजिन्छ भने त्यसलाई कसरी बुझ्ने ? मैले कसरी लिने ?

त्यसैले पार्टी अध्यक्ष कमरेडलाई मेरो विनम्र निवेदन छ- यसलाई गम्भीरतापूर्वक लिई आवश्यक कारबाही गरियोस् । अन्यथा म गम्भीर भएर यस विषयका सबै कुराहरु सार्वजनिक गर्दै आफ्नै ढंगले कदम चाल्न बाध्य हुनुपर्ने समेत अवगत गराउन चाहन्छु ।

(एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री शेरधन राईले एमाले अध्यक्ष केपी ओलीसमक्ष बुझाएको निवेदनको अंश) source : onlinekhabar.com

 

 

प्रतिक्रिया