दश वर्षमा पनि बिजुली बलेन !

दश वर्षमा पनि बिजुली बलेन !

अमर सुनार

दैलेख, फागुन १८ – करिव ५–७ मेगावाटको विद्युत उत्पादन गर्ने आयोजना हो भने २ वर्षमा बिजुली बलिसक्छ, केन्द्रीय प्रसारणबाट हो भने पहिले बिजुली पुगी सकेको ठाउँबाट ५–७ किलोमीटर दुरीमा पोल गाडेर तार खिच्ने अनि ट्रान्समीटर समेतको काम गरेर उपभोक्ताले बिजुली बाल्न एक वर्ष काफी हो । तर दैलखेको लाँकुरी गाउँमा चाहिं पोल गाडेको १० वर्ष नाघिसक्दा पनि उपभोक्ताले बिजुली बाल्न पाएका छैनन् ।

तस्विरमा स्वीच देखाउदै लाँकुरी, भैरवस्थानकी ६७ वर्षीया लालमती खत्री । तस्विर ः अमर सुनार)
तस्विरमा स्वीच देखाउदै लाँकुरी, भैरवस्थानकी ६७ वर्षीया लालमती खत्री । तस्विर ः अमर सुनार)

लाँकुरी गाविस वडा नं. ३ र ४ लाँकुरी गाउँमा विद्युतको पोल गाडेको १० वर्ष भयो, घरघरै उपभोक्ताले विद्युतका प्राविधिक लगायर वारिङ्ग गरेको पनि २ वर्ष भयो तर बिजुली बलेको छैन । विद्युत प्राधिकरणले ठेकेदारको म्याद थप्दै गरिदिंदा बिजुली बाल्न यति धेरै ढिला भएको हो ।

अघिल्लो ठेकेदारले चुप्राबजारदेखि खाडासम्म पोल गाड्ने काम सकेपछि छिटो बिजुली बाल्ने चाहनाले त्यतिबेला २०६३ सालमा लाँकुरी गाविस, जिविसको लगानीमा विद्युतको पोल किनेर गाउँसम्मै पु¥याए तर पछिल्लो ठेकेदार ढिला सुस्ती र विद्युत प्राधिकरणले सम्झौता अनुसारको काम गर्न म्याद सकिदै गर्दा पटकपटक सहजै म्याद थपिदिंदा निर्माण कार्य अधुरै छ ।

‘क्षेत्रीय कार्यालयले ठेक्का दिएको र अनुगमन समेत उसैले गर्ने भएकोले आफूले केही गर्न सकिएन विद्युत प्राधिकरण दैलेखका कार्यालय प्रमुख जगदीश पाण्डेले टिप्पणी गरे ।

विद्युत प्राधिकरण नै निरीह बनेको देखेपछि ठेकेदारलाई सोझै सम्पर्क गरेर अहिले स्थानीयहरुले छिटो बिजुली बाल्न दवाव दिन थालेका छन् । तारुपरे निर्माण सेवा तथा सप्लायर्स सल्यानका प्रोप्राइटर गोबिन्द पुनलाई दवाव दिएपछि २ महिनाभित्र बिजुली बाल्ने वचन दिए स्थानीय मानवअधिकार निगरानी समूहकी सदस्य लाँकुरी–३ की सुन्तली बिष्टले बताइन् ।

घरघरै वारिङ्ग गरेको २ वर्ष भइसक्दा पनि बिजुली बाल्न पोलमा तार नखिचेको विषयमा राजनीतिक दवाव दिंदा समेत कार्यालय प्रमुख पाण्डेले पहल गर्न नसकेको नेकपा एमालेका गाउँ कमिटी अध्यक्ष रुद्रबहादुर बिष्टको असन्तुष्टी छ ।

ठेकेदार र कार्यालयको मिलेमतोमा बिल बढाउन पाउने खुकुलो कानूनी व्यवस्थाको दुरुपयोग गरी काम ढिलाई गरिएको नेपाली काँग्रेसका गाउँ सचिव गंगबहादुर खत्रीको टिप्पणी छ । तर वर्षात अघि निर्माण नगरे जनआक्रोस बढ्ने उनको भनाई छ । ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तरगत विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय कार्यालय सुर्खेतले २०७१ मा निकालेको इबिडिङ्गमा एक्लै २१ स्थानमा काम पाएको तारुपरे निर्माण सेवा तथा सप्लायर्स सल्यानले साढे ९ लाख रुपैंयाँमा ६ महिनामा काम सक्ने कबोलमा गरेकोमा ३ पटकसम्म थपिएको पछिल्लो म्याद पनि गएको असोजमा सकिएको छ । ग्लोवल टेण्डरको नियम अनुसार काम सकेर मात्र एकमुष्ट भुक्तानी पाउने भएकोले ठेकेदारले पोल गाड्ने र तार समेत खिचिसकेकोले चैतसम्ममा काम पूरा गर्ने तारुपरे निर्माण सेवा तथा सप्लायर्सका प्रोप्राइटर गोबिन्द पुनमगरले टेलिफोन सम्वादमा बताए । सोध्नेहरु सबैलाई उनले यसो भन्ने गरेकोले बिजुली छिट्टै बलि हाल्छ भन्ने बिश्वास नरहेको लाँकुरी–४ भैरवथानकी लालमती खत्रीले बताइन् ।

प्रतिक्रिया