सामाजिक कार्यमा बाल क्लवको सक्रियता बढ्दै

सामाजिक कार्यमा बाल क्लवको सक्रियता बढ्दै

विगतमा मनोरञ्जनात्मक र खेलकुद क्रियाकलाप सञ्चालन गर्दै आएका बाल क्लवहरु अहिले सामाजिक कार्यमा पनि सक्रिय बनेका छन् । समुदायमा सार्वजनिक धारा, बाटो कुलो निर्माण, सरसफाई लगायतका गतिविधिमा उनीहरुको भूमिका बढ्दै गएको छ ।
विन्ध्यावासीनी गाविसको वडा नं १ र २ का बाल क्लवले भनभने देखि माथिल्लो टाटासम्म गोरेटो बाटो मर्मत गरेका छन् । त्यसैगरी वडा नं २ को बाल क्लव र युवा क्लव मिलेर सामूहिक वृक्षारोपण कार्य सञ्चालन गरे । अहिले झरना बाल क्लवले आफ्नो समुदायमा स्वास्थ्य तथा सरसफाई अन्तर्गत प्रत्येक घरमा फोहोर फाल्ने खाल्डा, भाडा सुकाउने चाङ र जुठ्यान बनाउन जुटेका छन् । उनीहरुले विहान, साझ र विदाको दिनमा हरेक सदस्यले आ आफ्नो घरमा करेशावारीमा काम गर्नुपर्ने नियम पनि बनाएका छन् । समुदाय परिवर्तनका लागि केही गर्नु पर्छ भन्ने सोचाई बोकेका बाल क्लव सदस्यहरु भन्छ्न हामीले नगरे कसले गर्ने, आज नगरे कहिले गर्ने ।
सकारात्मक सोचका साथ समाज परिवर्तन गर्न आफ्नो भूमिका रहने गाविसस्तरीय बाल सञ्जालकी अध्यक्ष भविसरा थापाले बताईन् । उनले थपिन, पहिला बाल क्लवको सक्रियता नहुदाँ राज्यले व्यवस्था गरेको बालबालिका लक्षित बजेट नत कार्यविधिले तोके अनुसार नै विनियोजित हुन्थ्यो नत विनियोजित बजेट सदुपयोग गरिन्थ्यो । अहिले कार्यविधिले तोके अनुसार बजेट विनियोजन गरियको छ । उनले थपिन्, बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्न पाउदा आनन्द र खुसी दुवै पाएकी छु ।
बाल क्लवको सक्रियता बढदै गए पछि गाउ परिषदबाट आ.व. ०७२÷०७३ मा १ लाख ४८ हजार र आ.व. ०७३÷०७४ मा १ लाख ६९ हजार ६ सय २५ विनियोजन गरियो । आ.व. ०७४÷०७५ को लागि ३ लाख १८ हजार रकम बाल बालिकाको लागि प्रस्ताव गरिएको छ ।
विनियोजित बजेट बाट क्लवले विभिन्न क्षमता विकासका कार्यक्रम संचालन गरेका छन् । उक्त बजेट बाट ७ वटा विद्यालयमा खेलकुद सामाग्री वितरण गरियो भने प्रत्येक वडामा २÷२ जनाका दरले विपन्न परिवारका १८ जना बालबालिकालाई पोषाक वितरण गरिएको थापाको भनाई थियो ।
बाल क्लवले बाल भित्त पत्रिका प्रकाशनको शुरुवात गरेको छ । उक्त पत्रिकामा समुदायमा भएका स साना घटनाहरु पनि प्रकाशित हुने गर्दछन् । पत्रिका प्रकाशनले बालबालिकाहरुको अतिरिक्त क्षमताको विकास पनि भएको छ ।
बाल क्लवको सक्रियता बढे पछि बाल विवाहमा न्यूनिकरण भएको अध्यक्ष थापाले बताईन् । गाविसमा अहिले सम्म एउटा बाल बिबाह रोकिएको र अरु हुन नदिन बाल क्लवले सक्रिय भूमिका खेलेको थापाको भनाई थियो ।

प्रतिक्रिया