सप्तरी घटनाले सत्ता गठबन्धनमै विवाद, प्रधानमन्त्री र गृहमन्त्रीबीच नै मनमुटाव

सप्तरी घटनाले सत्ता गठबन्धनमै विवाद, प्रधानमन्त्री र गृहमन्त्रीबीच नै मनमुटाव

काठमाडौं । नेकपा एमालेको मेची–महाकाली अभियानका क्रममा सप्तरीमा भएको घटनाले सत्ता गठबन्धनमै विवाद उत्पन्न भएको छ । यस घटनाले प्रधानमन्त्री र गृह मन्त्रीबीच नै विवाद उत्पन्न भएको स्रोतको दाबी छ ।  सप्तरीको राजविराजमा भएको नेकपा एमालेको सभापछि हिंसा भड्किँदा चार जनाको मृत्यु भएको थियो ।

सोही विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री निधिबीच विवाद देखिएको स्रोतले जानकारी दियो । प्रधानमन्त्री दाहालले गृह मन्त्रीसहित सुरक्षा निकायका प्रमुखसम्मलाई टेलिफोन गरी कुनै पनि हालतमा लाठी चार्जबाहेक नगर्नू भन्ने आदेश दिएको भए पनि कसको निर्देशनमा गोली चल्यो भन्दै गृह मन्त्री निधिसँग दाहालले आक्रोश व्यक्त गरेको स्रोत बताउँछ । घटना हुँदा कैलालीमा रहेका गृहमन्त्री निधिसँग प्रधानमन्त्री दाहालले पटक–पटक टेलिफोन गरेर सप्तरी घटनाको बारेमा जानकारी लिएका छन् ।

“आवश्यक परे लाठीमात्रै चलाउनु भन्ने प्रधानमन्त्रीको निर्देशन थियो,” प्रधानमन्त्री निकट स्रोतले भन्यो, “तर गोली नै चलाएर राजनीतिक अवस्था बिगार्ने काम गरियो । यो कसरी भयो र किन भयो भन्नेबारेमा प्रधानमन्त्रीले गृह मन्त्रीसँग चासो राख्नुभएको छ । प्रधानमन्त्री सचिवालयमा रहेका प्रकाश दाहालले पनि सप्तरी घटनापछि प्रधानमन्त्री र गृह मन्त्रीबीच पटक पटक छलफल भएको पुष्टि गरे । उनले घटनाको बारेमा बुझ्ने काममात्र भएको दाबी पनि गरे ।

गृहमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले भने बाहिर हल्ला भएजस्तो अवस्था नरहेको बताए । “काम विशेषले गृहमन्त्रीज्यू कैलाली जानुभएको हो,” उनले भने, “उहाँले आन्दोलनकारीलाई पनि सम्यमित हुन आग्रह गर्नुभएको थियो । सुरक्षाकर्मीलाई पनि दमन नगर्न निर्देशन दिनुभएको हो । केपी ओलीदेखि महन्थ ठाकुरसँग पनि उहाँले कुराकानी गरिसक्नुभएको छ ।”

 

 

प्रतिक्रिया