जेठपछि मुलुक पूर्ण लोडसेडिङमुक्त : कुलमान घिसिङ

जेठपछि मुलुक पूर्ण लोडसेडिङमुक्त  : कुलमान घिसिङ

काठमाडौं । जेठपछि मुलुक पूर्ण रुपमा लोडसेडिङमुक्त हुने भएको छ ।  नेपाल विद्युत प्राधिकरणले प्रणालीमा सुधार गरेको र स्वदेशमा निर्माणाधीन केही आयोजना सञ्चालनमा आएको र अन्य केही आउने क्रममा रहेको हुँदा भारतबाट बिजुली आयात गरेर मुलुक लोडसेडिङमुक्त गरिन लागेको हो ।

यो वर्ष निजी क्षेत्रबाट १५ जलविद्युत आयोजना सम्पन्न भई प्रणालीमा १४२ मेगावाट बिजुली थप हुने भएको छ । हाल १ सय मेगावाट क्षमताका आधा दर्जन आयोजना सम्पन्न भएका छन् । यस्तै आउँदो वर्ष पनि विद्युत प्राधिकरणको कुलेखानी र चमेलियाका अतिरिक्त साढे २ सय मेगावाट थप हुने भएको छ ।

आउँदो जेठपछि लोडसेडिङको अवस्था नआउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले आउँदो सुख्खायाममा उत्पादन कम भए पनि माग व्यवस्थापन गर्न समस्या नपर्ने भन्दै अब लोडसेडिङ नहुने स्पष्ट पारे ।

उनले माध्यमिक शिक्षा परीक्षालाई लक्षित गरी लोडसेडिङमुक्त गरिएको जानकारी दिँदै परीक्षापछि पनि यसलाई निरन्तरता दिने उनले सुनाए ।

कृषि तथा जलस्रोत समितिको आजको बैठकमा मुलुकको विद्युत उत्पादन र आपूर्ति अवस्थाका बारेमा जानकारी दिँदै उनले लोडसेडिङ हटाउन उपभोक्ताले ठुलो सहयोग गरेको बताए । “यो वर्ष माग १ हजार ५ सय मेगावाट भन्दा बढी हुने अनुमान गरेका थियौं,” उनले भने “नियमित रुपमा बिजुली आपूर्ति भएपछि माग पनि घटेर हाल १ हजार २५० मेगावाटको हाराहारीमा रहेकाले उपभोक्ताबाट ठुलो सहयोग पाएका छाैं ।”

नियमित रुपमा बिजुली आपूर्ति भएपछि इन्भर्टर प्रयोग बन्द भई १ सय मेगावाट बिजुली जोगिएको उनले जानकारी दिए ।

१ हजार २५० मेगावाट साँझ १ घण्टाको मात्र माग भएको उनले बताए । बिहान बिजुलीको माग १ हजार मेगावाटको हाराहारी र दिउँसो यो भन्दा पनि कम भएको बताए ।

प्रणालीमा अझै ३२० मेगावाट मात्र आपूर्ति कम भएपनि लोडसेडिङ भएको छैन ।

प्राधिकरणका अनुसार हाल ९२२ मेगावाटसम्म बिजुली आपूर्ति भइरहेको छ । जसअनुसार विद्युत प्राधिकरणका आयोजनाबाट ३८४, निजी उत्पादकबाट १४१, भारतबाट ३८७ मेगावाट छ । यस्तै प्राधिकरणले माध्यमिक शिक्षा परीक्षाका लागि हेटौंडामा रहेको डिजल प्लान्ट सञ्चालन गरी पिक आवरमा १० मेगावाट बिजुली उत्पादन गरिरहेको छ ।

कालीगण्डकी, मध्यमर्स्याङदी, मर्स्याङदी र कुलेखानी आयोजना साँझ पूर्ण क्षमतामा सञ्चालन भइरहेको घिसिङले जानकारी दिए ।  उनले साँझ ५ घण्टासम्म कालिगण्डकी १४४, मध्यमर्स्याङदीबाट ७० र तल्लोमर्स्याङदीबाट ६९ मेगावाट र चिलिमेलगायत अन्य पिकिङ आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन भइरहेको छ  ।

यस्तै एकमात्र जलासययुक्त आयोजना कुलेखानी पनि साँझ पूर्ण क्षमतामा सञ्चालन भइरहेको पनि उनले बताए । दिउँसो विद्युतको माग कम भएकाले कालीगण्डकी, मर्स्याङदी, मध्यमर्स्याङदी आयोजना कम क्षमतामा सञ्चालन गरेर बढी माग हुने साँझ पूर्ण क्षमतामा सञ्चालन भएकाले पनि माग व्यवस्थापनमा सहज भएको उनको भनाई छ ।

विद्युत प्राधिकरणले काठमाडौं उपत्यका, बनेपा, धुलिखेल, पाँचखाल, पोखरा र भरतपुरलगायत धेरै शहरी क्षेत्रलाई लोडसेडिङमुक्त बनाएको छ । आधारभूत रुपमा लोडसेडिङ हटेको प्राधिकरणले जनाएको छ । उद्योगलाई दैनिक न्युनतम् १६ र बढीमा २० घण्टासम्म बिजुली आपूर्ति भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए ।

भैरहवा र बुटवलमा ६६ केभी क्षमताको प्रसारणलाइन मात्र भएकाले त्यहाँ दैनिक ४ घण्टासम्म लोडसेडिङ भइरहेको उनले सुनाए । यस्तै त्यस क्षेत्रको उद्योगमा दैनिक १६ घण्टा लोडसेडिङ भइरहेको छ भने पुर्वका उद्योगमा दैनिक ४ घण्टा मात्र भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया