जयसूर्यासहित श्रीलंकाली टोली काठमाडौं आउने, नेपालसँग टि-२० क्रिकेट सिरिज खेल्ने

जयसूर्यासहित श्रीलंकाली टोली काठमाडौं आउने, नेपालसँग टि-२० क्रिकेट सिरिज खेल्ने

९ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टेष्ट मान्यताप्राप्त श्रीलंकाको शक्तिशाली टोलीसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने भएको छ ।नेपाल र श्रीलंकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० बर्ष पुगेको अवसरमा पेरिविंकल नामक संस्थाले टी-२० क्रिकेट सिरिजको आयोजना गरेको हो । तीन म्याचको श्रृंखलामा श्रीलंकाका बर्तमान तथा पूर्व अन्तर्राष्ट्रिय खेलाडी सम्मिलित लंका लायन्स र नेपाली राष्ट्रिय खेलाडी सम्मिलित गोर्खा राइनोजबीच भिडन्त हुनेछ ।श्रीलंकाबाट आउने टोलीमा कुनै जमानाका महान ब्याट्सम्यान सनथ जयसूर्यादेखि वर्तमान राष्ट्रिय टोलीका पाँच सदस्य रहने छन् ।

श्रीलंकाली महान खेलाडी सनथ जयसूर्यासहितका खेलाडीहरु लंका लायन्सबाट खेल्न नेपाल आउने बुधबारको पत्रकार सम्मेलनमा जानकारी गराइयो । कीर्तिपुर मैदानमा बैशाख १४, १६ र १८ मा दुई टोलीबीचको तीन मैत्रीपूर्ण टी-ट्वान्टी खेल हुनेछ । नेपाली टोलीको कप्तानी राष्ट्रिय टोलीका कप्तान पारस खड्काले गर्नेछन् भने श्रीलंकाली टोलीको कप्तानी विश्वबिजेता श्रीलंकाली टोलीका सदस्य अरविन्द डी सिल्भाले गर्नेछन् ।

सिरिज खेल्ने नेपाली टोलीको छनौट प्रशिक्षक जगत टमाटा र क्रिकेट प्लेयर एशोसियसन अफ नेपालको सल्लाहअनुसार हुनेछ ।

नेपाल भ्रमण गर्ने श्रीलंकाली टोलीका सदस्यहरुमा वर्तमान राष्ट्रिय टोलीका खेलाडीहरु उपुल थारंगा, रंगना हेराथ, डिल्सान मुनावेरा, सचित्रा सेनानायक र चामरा शिल्भादारा छन् । त्यस्तै पूर्व राष्ट्रिय श्रीलंकाली क्रिकेटर, सनथ जयसूर्या, चामिन्दा भास, रोमेस कुलाविथर्ना, उपुल चन्दना, फरभेज महारुफ, दिलहरा फर्नाण्डो र कौशल्या बैरारत्नेले नेपाल भ्रमण गर्नेछन् ।

पत्रकार सम्मेलनमा नेपाली कप्तान पारस खड्काले विश्व बिजेता श्रीलंकाली टोलीका सदस्यसँग खेल्न पाउँदा नेपाली खेलाडीहरुको अनुभवका साथै आत्मविश्वास बढ्ने बताए ।

आयोजक पेरिविंकलका प्रमुख कार्यकारी अधिकृत दिपेश घलेले भूकम्प अघिदेखि नै सिरिज आयोजना गर्ने तयारी भए पनि संभव नभएको र अहिले श्रीलंकाली दूतावाससँगको समन्वयमा सिरिज गर्न लागेको जानकारी दिए ।

आयोजक संस्था पेरिविंकलले सिरिजको अवसरमा नेपाली क्रिकेटका पहिलो कप्तान उत्तम कर्माचार्यलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने जानकारी दिएको छ । त्यस्तै महिला राष्ट्रिय टोलीकी प्रमथ कप्तान नेरी थापा, दृष्टिबिहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे, दृष्टिबिहीन राष्ट्रिय क्रिकेट टोलीका कप्तान कृतन श्रेष्ठ दुवाल र महिला कप्तान भगवती भट्टराई तथा नेपालका पहिलो आइसीसी अम्पायर बुद्धि प्रधानलाई पनि सम्मान गरिनेछ ।

 

प्रतिक्रिया