नयाँ मतदाता परिचय पत्र कहिले र कसरी पाउने ?

नयाँ मतदाता परिचय पत्र कहिले र कसरी पाउने ?

११ चैत, काठमाडौं । तपाईसँग ०७० को निर्वाचनमा प्रयोग भएको फोटो सहितको मतदाता परिचय पत्र छ ? यदि त्यही मतपत्र बोकेर आगामी निर्वाचनमा मतदान गर्ने तयारीमा हुनुहुन्छ भने तपाई गलत हुनुहुनेछ ।

निर्वाचन आयोगले उक्त मतदाता परिचय पत्र खारेज गरी नयाँ मतदाता परिचय पत्र तयार गर्दैछ । उक्त नयाँ मतदाता परिचयपत्र प्राप्त व्यक्तिले मात्रै आगामी निर्वाचनमा मतदान गर्न र उम्मेदवार बन्न पाउनेछन् ।Election-Commission-Voters-IDCard

कहाँ छ मतपत्र ?

निर्वाचन आयोगले चैत २० गतेसम्म मतदाता नामावली अद्यावधिक गर्दैछ । यसअघिको मतदाता नामावलीमा कतिपय मतदाताको मृत्यु भएको, केहीले बसाइ सराइको निवेदन दिएको र अधिकाशंको मतदान केन्द्र परिवर्तन भएको छ ।

यस्तै ०७० सालको निर्वाचनपछि धेरै मतदाता थपिएका छन् । उनीहरुको अद्यावधिक गर्ने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले अहिले मतदाता नामावलीको अद्यावधिक गर्ने र हरेक मतदाताको मतदान केन्द्र तोक्ने काम गरिरहेको छ ।

आयोगले आगामी चैत २० गतेसम्म मतदाता नामावलीको अद्यावधिक र उनीहरुको मतदान केन्द्र तोक्ने काम सम्पन्न गरिसक्ने बताएको छ । त्यसपश्चात मात्र मतदाता परिचय पत्रको छपाइ सुरु हुनेछ ।

कहिलेसम्म छापिन्छ मतदाता परिचय पत्र ?

निर्वाचन आयोगले नेपालकै एक कम्पनीलाई मतदाता परिचय पत्र छपाइको जिम्मा दिएको छ । उक्त कम्पनीले करिब २० दिनमा मतपत्र छापिसक्ने बताएको छ । उक्त कम्पनीले निर्वाचन आयोग परिसरमै मेशिन जडान गरेर निर्वाचन आयोगको निगरानीमा मतपत्र छपाउनेछ । आयोगको निर्वाचन व्यवस्थापनको क्यालेण्डर अनुसार बैशाख १० देखि १५ गतेसम्म आयोगले सबै मतदाता परिचयपत्र प्राप्त गरिसक्नेछ ।

कसरी पाउने मतदाता परिचयपत्र ?

निर्वाचन आयोगले हरेक मतदाताको परिचय पत्र सम्वन्धित मतदाताको मतदान केन्द्रको ठेगानामा उपलब्ध गराउने छ । यदि विभिन्न जिल्लाका मतदाता निर्वाचनअघि काठमाडौंमा हुन सक्छन् । उनीहरुलाई लाग्न सक्छ, मेरो मतदाता परिचयपत्र म यहीँबाट लिनसक्नेछु । तर, त्यस्तो हुँदैन । हरेक मतदाताले आफ्नै मतदान केन्द्रमा पुगेर मात्र मतदाता परिचय पत्र लिन सक्नेछन् ।

निर्वाचन आयोगका अनुसार ढिलोमा करिब बैशाख १५ बाट मतदाता परिचयपत्र मतदान केन्द्रसम्म पुग्न थाल्नेछ ।

कसरी पुग्छ मतपत्र ?

निर्वाचन आयोगले हेलिकप्टर, प्लेन र गाडीबाट ढुवानी गर्ने व्यवस्था मिलाएको छ । र त्यसका लागि नेपाली सेनाको सहयोग लिने निर्वाचन आयोगले बताएको छ । मतदाता परिचय पत्र निर्वाचनका लागि संवेदनशील विषय भएकाले नेपाली सेना र सशस्त्र प्रहरीको जिम्मा लगाउन लागेको हो ।

आयोगले सडकको पहुँच भएको मतदान केन्द्रहरुमा पनि सुरक्षा निकाय, सरकारी कार्यालय र केही नीजि सवारी साधन भाडामा लिएर मतदाता परिचय पत्र ओसार्ने तयारी गरेको छ । सडकको पहुँच नभएको मतदान केन्द्रहरुमा भने हेलिकप्टरबाट परिचय पत्र पुर्याइनेछ । यसरी आयोगले निर्वाचनअघि सबै मतदाताको हातमा मतदाता परिचय पत्र पुर्याउने गरी तयारी गरिरहेको छ ।

प्रतिक्रिया