६ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, पौडेल पक्षको आक्रोश

६ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, पौडेल पक्षको आक्रोश

काठमाडौं ।  ६ महिनापछि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । पार्टी कार्यालय सानेपामा केहीबेरपछि बस्ने बैठकमा सभापति शेरबहादुर देउवा नेतृत्वको एकवर्षे कार्यकालको समीक्षा, यो बीचमा भएका काम कारवाही, सरकारमा सहभागी मन्त्रीहरुको कामको समीक्षा, नियुक्ति, नियुक्तिका लागि पार्टीले गरेको सिफारिसप्रति नेता रामचन्द्र पौडेल पक्षले सभापतिसँग जवाफ माग गर्ने तयारी गरेको छ ।

लामो समयदेखि पार्टीको बैठक बस्न नसकेका कारण बोलाउन माग गर्दा उल्टै बोलाउँदिनँ भनेर सभापतिले जवाफ दिनु लोकतान्त्रिक नभएको भन्दै उनीहरु आक्रोशित बनेका छन् ।

यसअघि कात्तिक ९ गते केन्द्रीय समितिको बैठक बसेको थियो ।

त्यसैगरी दुई महिनाभित्र गठन हुनुपर्ने विभाग गठन हुन नसकेको, पार्टी पदाधिकारी चयन गर्न नसकेको, पार्टी प्रवक्ताको जिम्मेवारी कसैलाई नदिएको, नियुक्ति प्रक्रियामा पार्टीलाई अप्ठेरो पर्ने गरी सिफारिस गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

केन्द्रीय सदस्य तथा स्वास्थ्य मन्त्री गगन थापाले पार्टीभित्र छलफल गर्नुपर्ने धेरै विषय पनि भएकाले अब निर्वाचन केन्द्रित छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताए ।

केन्द्रीय सदस्य बद्री पाण्डेले पनि एक वर्षको समीक्षा, पार्टीको गतिविधि, निर्वाचन केन्द्रीत छलफल हुने बताए ।

त्यसैगरी बैठकमा जिल्ला पुगेर केन्द्रीय प्रतिनिधिले ल्याएको रिपोर्टमाथि पनि छलफल हुने भएको छ ।

स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दैै नेपाली कांग्रेसले ७५ वटै जिल्लामा प्रतिनिधि खटाएको थियो ।

केन्द्रले दिएको निर्देशन बमोजिम प्रतिनिधि सबैजसो जिल्लामा पुगेर त्यहाँको अवस्था बुझेर फर्किएका छन् । उनीहरुले केन्द्रीय समितिमा रिपोर्ट बुझाउने काम जारी छ ।

“केही जिल्लामा खटाइएका मन्त्रीको व्यस्तताले गर्दा जान सक्नुभएन होला, बाँकी सबै जिल्लामा प्रतिनिधि पुगेर रिपोर्ट प्राप्त भैसकेको छ,” कांग्रेस केन्द्रीय कार्यालय स्रोतले भन्यो ।

जिल्ला पुगेका प्रतिनिधिले जिल्लामा पार्टीको अवस्था कस्तो छ ? पार्टीका संरचनाले पूर्णता पाएका छन् कि छैनन् ? विकासको काममा पार्टीको अवस्था कस्तो छ ? आगामी चुनावमा प्रतिष्पर्धी कुन पार्टी छ ? उसको अवस्था कस्तो छ ? लगायतका विषय समेटेर प्रतिवेदन पार्टी कार्यालयमा बुझाएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले पनि धेरै जिल्लाबाट रिपोर्ट प्राप्त भएको जानकारी दिँदै १३ गतेसम्म सबै रिपोर्ट प्राप्त हुने विश्वास व्यक्त गरे ।

उच्च स्रोतका अनुसार अहिलेसम्म पार्टी कार्यालयमा प्राप्त रिपोर्टअनुसार धेरैजसो जिल्लामा नेकपा एमालेसँगै प्रतिष्पर्धा हुने देखिएको छ ।

“कांग्रेस सबै जिल्लामा पहिलो वा दोस्रो पोजिसनमै रहेको पाइएको छ,” स्रोतले भन्यो,“तर सबै  जिल्लामा एमाले पहिलो र दोस्रो छैन, कतिपय जिल्लामा एमालेबाहेकका शक्तिसँगै कांग्रेसको प्रतिष्पर्धा हुने देखिएको छ ।”

उनका अनुसार मधेसका धेरै  जिल्लामा एमालेबाहेकका पार्टीसँग प्रतिष्पर्धा हुने देखिए पनि कांग्रेसको मुख्य प्रतिष्पर्धी एमाले नै हो ।

बागलुङ, गोरखा, रोल्पा, भक्तपुर जस्ता जिल्लामा पनि एमालेबाहेक अन्य पार्टीहरुसँगै प्रतिष्पर्धा हुने रिपोर्ट केन्द्रीय प्रतिनिधिले बुझाएको स्रोतले जानकारी दियो ।

“स्थानीय तहमा निराशाजनक अवस्था आउँदैन, यसमा हामी ढुक्क छौं,” एक केन्द्रीय प्रतिनिधिले बाह्रखरीसँगको कुराकानीमा भने, “यसअघि कैयौं जिल्लामा पार्टीभित्रै मेलमिलाप नभएर हारेका रहेछौं । अहिले पनि सबैभन्दा ठूलो दल आफ्नै पार्टीभित्रबाट छ ।”

प्रतिक्रिया