द्वन्द्व पीडितको कदर हुनुपर्छ ः नगर प्रमुख खड्का

द्वन्द्व पीडितको कदर हुनुपर्छ ः नगर प्रमुख खड्का

दैलेख, जेठ ३० – नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले द्वन्द्व पीडित परिवारजनको उच्च कदर हुनुपर्ने बताएका छन् । स्थानीय शान्ति समितिले आज दैलेख सदरमुकाममा आयोजना गरेको द्वन्द्व पीडितहरुका लागि च्याउ खेती सम्वन्धी २ दिने तालिमको उद्घाटन कार्यक्रममा उनले सो विचार राखेका हुन् । IMG_20170613_124323_048
सशस्त्र द्वन्द्वको बेला मारिएका व्यक्तिहरुको योगदानले नेपालमा गणतन्त्र प्राप्ती लगायतका ठूल्ठूला राजनीतिक परिवर्तन भएकोले यी सबै उपलब्धीमा त्यसबेला ज्यान गुमाएका र घाइते तथा अपाङ्गहरुको योगदान रहेको नगर प्रमुख खड्काले बताए । नगर प्रमुख खड्काले अगाडि भने ‘यति ठूलो योगदान दिनुहुनेहरुको सम्मान राज्यले गर्नुपर्छ ।’
कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले च्याउ खेतीलाई पनि राम्रो आमदानी गर्न सकिने भएकोले सहभागीहरुले अभिरुचीका साथ सहभागी भई व्यवसाय गर्न आग्रह गरे । त्यसबखत उनले कृषि क्षेत्रमा राज्यको ठूलो धनरासी लगानी भएकोले व्यवसायिकता ध्यान दिनुपर्ने कृषि प्राविधिक र कृषकहरुलाई समेत सुझाव दिए ।
प्रमुख जिल्ला अधिकारीले दैलेखका टोलटोलमा घरेलु मदिरा उत्पादन हुने तर जिल्ला सदरमुकाममै दूध डेरी नभएकोप्रति दुःख व्यक्त गरे । उनले मदिराकै कारण गरिबी, अशिक्षा, बालविवाह भएका र घरेलु हिंसा समेत बढेकोले मदिरालाई नियन्त्रण तथा व्यवस्थापनको आवश्यकता दर्शाए ।
स्थानीय शान्ति समितिका जिल्ला संयोजक पार्वती बिशुन्केको अध्यक्षमा भएको कार्यक्रममा नगर उपप्रमुख सावित्री मल्ल, स्थानीय शान्ति समितिका सदस्य सिताराम थापामगर र उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष शान्तिप्रसाद शर्माले तालिमको महत्व बारे प्रकाश पारेका थिए । कुल ५० जना द्वन्द्व पीडितहरुको सहभागिता रहेको २ दिने तालिममा बागवानी विकास अधिकृत घनश्याम कार्कीले सहजीकरण गर्नेछन् ।

प्रतिक्रिया