नगरप्रमुख लाई चिठी : छाउपडी नगरपालिकाका कि चामुण्डा विन्द्रासैनी नगरपालिका

नगरप्रमुख लाई चिठी : छाउपडी नगरपालिकाका कि चामुण्डा विन्द्रासैनी नगरपालिका

निर्मल अधिकारी

श्री नगर प्रमुख ज्यू,
चामुण्डा विन्द्रासैनी नगरपालिका, दैलेख

मलाई तपाईले रामो सँग त चिन्नुहुन्न होला । म एउटा सामाजिक अभियान्ताको रुपमा काम गर्ने दैलख वासी नै हु । तपाईको नगरपालिकामा विगत २ महिनाको अन्तरालमा २ जना चेलीले छाउपडी बसेकै अवस्थामा अकालमै ज्यान गुमाए । त्यसमा तपाई पक्कै पनि जानकार हुनुहुन्छ । त्यसको समाचार स्थानीय तथा राष्ट्रियस्तरका पत्रपत्रिकामा समेत देख्न र पढ्न पाईयो । म अहिले सुन्दैछु, दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकालाई छाउपडी नगरपालिका भन्दैछन् अरे । अब त्यो छाउपडी नगरपालिकालाई कसरी चामुण्डाविन्द्रासैनी नगरपालिकाको रुपमा चिनाउने त्यो जिम्मेवारी तपाई हाम्रै काधमा छ ।
मलाई जानकारी छ, चामुण्डाविन्द्रासैनी नगरपालिकामा शिक्षित नागरिकहरुको पनि ठुलै जमात छ । यो भन्दा अगाडी २ जना व्यवस्थापिका संसद र जिल्ला विकास समितिको सभापति त्यसै नगरपालिका बाट हुनुहुन्थ्यो । त्यसैगरी स्थानीय, जिल्ला र केन्द्रिय तहमा राजनीतिक नेतृत्व गर्नेहरुको पनि लामै सूचि छ । मैले सुनेको छु राजनैतिक, सांस्कृतिक र धार्मिक दृष्टिकोणले पनि तपाईको नगरपालिका सम्पन्न छ । चन्द्रमा भित्र पनि दाग हुन्छ भने जस्तै सबै कुराले सम्पन्न नगरपालिका भित्र यती ठुलो कुसंस्कार रहेछ । छाउपडी जस्तो अमानविय प्रथाको अन्त्यका लागि पक्कै पनि तपाईले केही गर्न सक्नु हुन्छ भन्ने आशा छ । जसले गर्दा छाउपडीकै कारण अरु चेलीले ज्यान गुमाउनु पर्ने छैन् ।
विकास भौतिक संरचना मात्रै होइन् । विकास हुनको लागि विवेकशिल नागरिकको पनि आवश्यकता पर्छ । यदि भौतिक संरचनाले मात्रै विकास हुने भए विश्वमा ठुला ठुला युद्धहरु किन हुने थिए । विकास चेतना हो । विकास संस्कार हो । चेतना र संस्कार विनाको विकासले केही समयको लागि त राहत देला तर दिगो भने पक्कै बन्न सक्दैन् । हामी धारा निर्माण गर्छाै तर पाईप काटियो भने धारामा पानी बग्दैन् । धारामा पानी बगिरहनको लागि समुदाय चेतनशिल हुनुपर्छ । अब हामीले सभ्य र सम्बेदनशिल नागरिक बनाउने कि हरेक वर्ष पाईप खरिद गर्दै जाने ?
यो उदाहरण मात्रै हो । यस्तै खाले विकृति हाम्रो समाजमा धेरै छन् । विहान देखि बेलुकि सम्म दारु पिएर बजारमा हल्ला गर्नेहरुको संख्या उत्तिकै छ । अबैद्ध रुपमा विक्रि वितरण गरिने मदिराले नत नगरपालिकालाई कर बुझाउछन् नत समाजमा अमन चयन हुन्छ । घरघरै छाउपडी गोठहरु छन् । ति गोठहरुमा हरेक वर्ष महिलाहरुको मृत्यु हुने गर्छ । जातिय छुवाछुतको समस्या उस्तै छ । जहाँ दलितहरु तल्लो दर्जाको जीवन विताउन बाध्य छन् । घरनजिकैबाट गाडि गुडछ तर स्थानीयवासीले धुलो बाहेक अरु केही पाएका छैनन् ।
स्थानीय तहको पहिलो जननिवार्चित प्रतिनिधिको हैसियतले यति धरै समस्याका बावजुत पनि तपाईले केहि महत्वपूर्ण काम गर्नुछ । त्यो हो छाउपडी गोठ भत्काउनु र महिनावारी भएकालाई सुरक्षित वासको व्यवस्थापन गर्नु । हामी महिला अधिकारका कुरा गर्छाै तर हाम्रै घर भित्र हिँसा भईरहेको छ त्यो हामी देख्दैनौं । दोस्रो काम हो, अहिले आमजनमानसमा छाउपडी नगरपालिकाका रुपमा दर्ज भएको नामलाई मेटाएर सभ्य र समृद्ध चामुण्डाविन्द्रासैनी नगरपालिकाको रुपमा पहिचान बनाउनु । यसका लागि तपाईलाई राज्यले सबै अधिकार दिएको छ । यस्तो महत्वपूर्ण अवसरमा महिला, दलित, बालबालिका र विपन्न समुदायहरुको लागि तपाईबाटै केहि न केहि नयाँ कामको शुरुवात हुने छ भन्ने आशा गरेको छु ।

(लेखमा लेखिएका भावनाहरु लेखकका व्यक्तिगत विचार हुन । यस लेखमा लेखिएका विषयहरुको वारेमा संस्था र ज्वाला सन्देश अनलाईनको कुनै पनि संलग्नता रहने छैन ।)

(अधिकारी बाल संरक्षण अधिकृतको रुपमा काम गर्नुहुन्छ)

प्रतिक्रिया