घोषणा हुदै बालमैत्री स्थानीय तह

घोषणा हुदै बालमैत्री स्थानीय तह

दैलेख, बालमैत्री स्थानीय शासन बाल अधिकार सम्बन्धी समग्र पक्षको स्थानीय तहमा प्रबद्र्धन गर्ने उद्धेश्यले दैलेखको आठ्बिस नगरपालिकाकाले वडा नं ४, राकमकर्णालीलाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरेको छ । स्थानीयस्तरका सबै क्षेत्र र तहका निकायहरुको नीति, संरचना, प्रणाली र कार्य प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता गर्न बालमैत्री स्थानीय तह घोषणा गर्न लागिएको हो ।


बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागितासँग सम्बन्धित ३९ वटा सूचकहरु पुरा गरिएमा गाउपालिका वा वडालाई बालमैत्री घोषणा गर्न सकिने प्राब्धान बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ मा ब्यवस्था गरेको छ ।
बालमैत्री घोषणा गर्न आवश्यक पर्ने सम्पूर्ण सूचकहरु पुरा भईसकेकाले राकमकर्णालीलाई बालमैत्री वडा घोषणा गर्ने अन्तिम तयारी भएको नगरपालिकाका कार्यकारी अधिकृत मातृका भट्टराईले बताए । उनले थपे, राकमकर्णालीमा स्थानीय तहका सबै संरचनाहरु बालमैत्री भएका छन् । साबुन, पानि सहित विद्यालयमा छात्र छात्राको लागि अलग अलग शौचालयको व्यवस्था छ । बालशिक्षामा अध्ययन गर्ने बालबालिकालाई पि फर्म र कार्पेटको व्यवस्था, बालश्रम र बालविवाहमा न्यूनिकरण, विद्यार्थी संख्याको आधारमा शिक्षक र डेस्क बेन्चको व्यवस्था रहेको भट्टराईको भनाई थियो । कार्यविधिमा व्यवस्था गरिए अनुसार बालबालिकाको लागि १५ प्रतिशत बजेट विनियोजन गरिएको भट्टराईले बताए । बालबालिकाको लागि लगानी योजना बनाउन लागिएको बताउदै भट्टराईले भने आगामी दिनमा बालबालिकाको हक, अधिकारलाई सुनिश्चित गर्न थप सहयोग पुग्ने छ । एकै चोटी नगरपालिका घोषणा गर्न नसकिने भएको हुदाँ क्रमश वडा घोषणा गर्दै समग्रमा नगरपालिका घोषणा गर्ने तयारी रहेको उनले बताए ।
घोषणालाई थप सहयोग पु¥याउने उद्धेश्यले वडा अध्यक्षको अध्यक्षतामा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको छ । उक्त समितिले, बालमैत्री स्थानीय इकाई स्थापना गर्ने, सम्पर्क व्यक्ति तोक्ने र बालबालिकाको स्थिती प्रतिवेदन तयार गर्ने लगाएतका काम गर्ने जनाइएको छ ।
बालमैत्री स्थानीय संरचनाहरुको निर्माणका लागि विगत लामो समय देखि अभ्यास भईरहेको हुदाँ राकमकर्णाली बालमैत्री स्थानीय शासन वडा घोषणा गर्न आवश्यक भएको सामाजिक सेवा केन्द्र (सोसेक), नेपाल, दैलेखका बाल संरक्षण अधिकृत निर्मल अधिकारीले बताए । उनले थपे, संयुक्त राष्ट्रसंघिय बाल अधिकार महासन्धीमा तोकिएका अधिकारहरुको सुनिश्चितताका लागि घोषणा आवश्यक छ । बालमैत्री वडा घोषणाको लागि सोसेक, दैलेख र सेभ द चिल्ड्रेनले आवश्यक सहयोग गर्ने उनको भनाई थियो ।

प्रतिक्रिया