कांग्रेसको ८४ पन्ने घोषणापत्रः कम्युनिष्टहरु हत्यारा र राज्यआतंकका पक्षपाती

कांग्रेसको ८४ पन्ने घोषणापत्रः कम्युनिष्टहरु हत्यारा र राज्यआतंकका पक्षपाती

कांग्रेसले वृद्धभत्ता बढाउने, राज्यलाई भ्रष्टाचारमुक्त बनाउने

नेपाली कांग्रेसले आसन्न आम चुनावका लागि तयार पारेको घोषणापत्रमा कम्युनिष्टहरुलाई ‘हत्यारा र राज्य आतंकका पक्षपाती’ को संज्ञा दिएको छ ।

कांग्रेसले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि तयार पारेको ८४ पृष्ठ लामो घोषणापत्र मंगलबार सार्वजनिक गर्दैछ, जसमा वाम गठबन्धनप्रति निकै कठोर आक्रमण गरिएको छ ।

०४८ को चुनावमा कांग्रेसले ‘कम्युनिष्टहरुले जिते ६० वर्षमाथिका बुढाबुढीलाई मार्छन्’ भन्दै भोट मागेको थियो । अहिले झण्डै २६ वर्षपछि फेरि कांग्रेसले त्यस्तै नारा दिएको छ । उसले आफ्नो घोषणापत्रमा कम्युनिष्टहरु लोकतन्त्रको पक्षमा कहिल्यै निष्ठापूर्वक नउभिने आरोप लगाएको छ ।

‘कम्युनिष्टहरु लोकतन्त्रलाई उपयोग गरेर साम्यवाद ल्याउने चेष्टा गर्छन्’ उसले भनेको छ, ‘कम्युनिष्टहरु शान्तिका पक्षधर हुँदैनन्- तिनले हिंसा, व्यक्ति हत्या र राज्य आतंक सिर्जना गर्ने गर्छन् ।’

एमाले र माओवादी सुनियोजित तवरबाट संस्थागत भ्रष्टाचारलाई संरक्षित गर्ने पार्टी प्रमाणित भएको कांग्रेसले घोषणापत्रमा दाबी गरिएको छ

‘एमाले राष्ट्रिय एकताको बाधक, माओवादी लाभ खोज्ने अवसरवादी’

नेपाली कांग्रेसले एमालेलाई राष्ट्रिय एकता र सम्बृद्धिको वाधक भनेको छ । एमालेले मधेस आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै अशोभनीय टिप्पणी गरेको र अहिले अतिवाद एवं नक्कली राष्ट्रवादको पासोमा पर्दै गरेको कांग्रेसको विश्लेषण छ ।

कांग्रेसले माओवादीलाई पनि एमालेलाई जस्तै कडा आलोचना गरेको छ । उसले माओवादीमा अस्थिर राजनीतिको लाभ खोज्ने अवसरवादी प्रवृत्ति देखिएको बताएको छ । प्रचण्ड नेतृत्वको माओवादी अस्थिर राजनीतिक समीकरण, सत्ता स्वार्थको गठबन्धन, वैचारिक अस्पष्टता र असफलताको केन्द्र बनेको बताउँदैै कांग्रेसले भनेको छ, ‘माओवादीको ढुलमुले प्रवृत्तिले राष्ट्रिय राजनीतिमा अस्थिरता बढाएको छ । सहमति र सम्वादको राजनीतिबाट परिणाम निकाल्ने प्रक्रिया कमजोर बनेको छ ।’

कम्युनिष्टले जिते अस्थिरता र भ्रष्टाचार बढ्ने दाबी

कम्युनिष्ट गठबन्धन निर्माण गर्ने प्रयासले नयाँ संविधानका उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा परेको कांग्रेसको दाबी छ ।

कार्यकारी राष्ट्रपतीय प्रणालीले स्थिरता ग्यारेन्टी नगर्ने भन्दै उसले भनेको छ, ‘संसदमा कम्युनिष्टहरुको वर्चश्वले स्थिरताको ग्यारेन्टी गर्दैन । देशलाई निरंकुश कम्युनिष्ट शासनतर्फ लैजाने र द्वन्द्व सिर्जना गर्ने खतरनाक प्रयोग मात्र हुन सक्छ ।’

कम्युनिष्ट सरकारले राष्ट्रिय/अन्तराष्ट्रिय लगानी घट्ने र पूँजी पलायन हुने कांग्रेसको दाबी छ । एमाले र माओवादी सुनियोजित तवरबाट संस्थागत भ्रष्टाचारलाई संरक्षित गर्ने पार्टी प्रमाणित भएको कांग्रेसले घोषणापत्रमा दाबी गरिएको छ ।

एमाले सत्ताको केन्द्रमा बसेर सहयोगीको व्यवसायिक स्वार्थ रक्षार्थ दल नियन्त्रित पूँजीवाद संरक्षण गर्ने कम्युनिष्ट पार्टी बनेको बताउँदै कांग्रेसले भनेको छ, ‘चिकित्सा शिक्षा विधेयकलाई पारित हुन नदिनु यसको ज्वलन्त उदाहरण हो ।’

एमाले र माओवादीको गठबन्धनलेे सत्ता नियन्त्रण गर्ने र साम्यवाद स्थापना गर्ने उद्देश्य राखेको बताउँदै कांग्रेसले यो प्रयोग कुनै हालतमा स्वीकार्य नहुने बताएको छ ।

नेपाली कांग्रेसले आफ्नो घोषणा पत्रमा मधेस केन्दि्रत दलहरु सम्वाद र सहकार्यमा आएको भन्दै स्वागत गरेको छ ।

साथै राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग विश्वसनीय सहकार्य गर्ने कांग्रेसले बताएको छ । घोषणापत्रमा भनिएको छ, राष्ट्रियता र लोकतन्त्र, समाजिक न्यायसहितको प्रतिस्पर्धात्मक आर्थिक ढाँचा र देशको सम्बृद्धि सांस्कृतिक वैभव र पहिचानको संरक्षण गर्ने संवैधानिक प्रतिवद्धता पनि हाम्रो सहाकार्यको आधार हो ।’

वृद्धभत्ता बढाउने, राज्यलाई भ्रष्टाचारमुक्त बनाउने

नेपाली कांग्रेसले जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्तामा उल्लेख्य वृद्धि गर्ने बाचा घोषणापत्रमा गरेको छ । प्रत्येक स्थानीय तहमा जेष्ठ नागरिक सेवा आश्रम बनाउने र आवास, भोजनदेखि सबै सेवा निःशुल्क उपलब्ध गराउने बताएको छ ।

साथै कांग्रेसले नेपाली समाज र राज्यलाई भ्रष्टाचारमुक्त बनाउन संकल्प पनि व्यक्त गरेको छ । अख्तियार, सतर्कता केन्द्रलाई प्रभावकारी बनाउने, भ्रष्टाचारमुक्त समाज बनाउन सामाजिक-राजनीतिक अभियान चलाउने उसले बताएको छ ।

राजनीतिक भागवण्डाका आधारमा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने प्रचलन रोक्ने बाचा पनि कांग्रेसले आफ्नो घोषणापत्रमा गरेको छ ।

प्रतिक्रिया