आषन्न निर्वाचनबारे छलफल

आषन्न निर्वाचनबारे छलफल

दैलेख, यहि मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला स्तरिय छलफल गरिएको छ । छलफल कार्यक्रमका सहभागीले यहि मंसिर २१ गते हुने प्रतिनीधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई सफल बनाउन सबै निकायहरुको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय दैलेखका प्रमुख भक्त बहादुर कार्कीले निर्वाचनको तयारी तिब्र पारिएको जानकारी दिएका छन् । उनले जिल्लामा यस अघि भएका निर्वाचनहरु शान्ति पूर्णढंगमा सम्पन्न गरिएको बताउदै आषन्न निर्वाचन सफल बनाउन सबै निकायहरुको सहयोगको अपेक्षा गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक एकेन्द्र खड्काले निर्वाचनलाई लक्षित गर्दै जिल्लामा शान्ति सुरक्षा कडा पारिएको जानकारी दिएका छन् । जिल्लामा १ सय ३६ मतदान स्थल मध्ये सुरक्षाको दृष्टिकोणले ५ वटा मतदान स्थल अतिसंवेदनशिल रहेको खड्काले जानकारी दिएका छन् । बाँकी १७ वटा संवेदनशिल तथा १ सय १४ वटा सामान्य रहेको खड्काले बताए । प्रत्येक मतदान स्थलमा १६ जना सम्म सुरक्षाकर्मी परिचालन गरिने बताउदै खड्काले जिल्लाभर १६ सय ५१ जना सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष चक्र केसीले जिल्लामा हाल सम्म भयरहित र शान्तिपूर्ण रुपमा निर्वाचनहरु सम्पन्न भएको भन्दै आषन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला निकायहरुको महत्वपूर्ण भूमिका रहेका बताए । निर्वाचन सफल बनाउनेहरुमा देशकै नमूना जिल्लाको संदेश दिनु पर्ने भन्दै केसीले संचारकर्मीहरुलाई निष्पक्ष ढंगले समाचार संकलन तथा सम्प्रेषण गर्न आग्रह गरे ।
जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद अधिकारीले जिल्लाका सम्पूर्ण स्थानमा मतदाता शिक्षा पुगेको बताउदै आषन्न निर्वाचनमा बदर मतको प्रतिशत घट्ने दावी गरे ।
क्रियाशिल पत्रकार मञ्च दैलेखका अध्यक्ष हिक्मत नेपालीले विगतका निर्वाचनमा भएको गल्ती तथा कमीकमजोरीहरुलाई सुधार्दै यस पटकको निर्वाचन सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने धारणा राखे । कार्यक्रममा सहभागीहरुले मतदानको समयमा मतदान केन्द्र परिषरमा हुल हुने समस्यालाई कम गर्न निर्वाचन आयोग चनाखो हुन आग्रह गरेका छन् । क्रियाशिल पत्रकार मञ्च दैलेख शाखाका अध्यक्ष हिक्मत नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरक्षा निकाय, निर्वाचन कार्यालय, गैसस तथा संचारकर्मीहरु सहभागी थिए ।

प्रतिक्रिया