राकमकर्णाली जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा हुँदै

राकमकर्णाली जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा हुँदै

हिक्मत नेपाली
दैलेख– दैलेखको आठबीस नगरपालिका–४ राकमकर्णालीलाई यहि पौष ८ गते बालमैत्री वडा घोषणा गरिने भएको छ । यो जिल्लाकै पहिलो बालमैत्री वडा हुने भएको छ । जिल्ला समन्वय समिति, आठवीस नगरपालिका तथा सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) द्धारा संचालित सहयात्रा परियोजनाको सयुक्त अनुगमन पश्चात उक्त मिति तय गरिएको हो ।

बालमैत्री स्थानीय शासन र बाल अधिकार सम्बन्धी समग्र पक्षको स्थानीय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले बालमैत्री वडा घोषणा गरिने भएको हो । स्थानीय स्तरका सबै क्षेत्र र तहका निकायको नीति, संरचना, प्रणाली र कार्य प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता गर्न बालमैत्री वडा घोषणा गर्न लागिएको आठवीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले जानकारी दिएका छन् । बाल बचाऊ, बाल संरक्षण, बाल विकास, अर्थपूर्ण बाल सहभागिता र संस्थागत विकास सँग सम्बन्धित ३९ वटा सूचक पूरा गरिएमा नगरपालिका वा गाउँपालिका वा वडालाई बालमैत्री घोषणा गर्न सकिने प्रावधान बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिमा व्यवस्था छ । बालमैत्री घोषणा गर्न आवश्यक पर्ने सम्पूर्ण सूचक पूरा भइसकेकाले राकमकर्णालीलाई बालमैत्री वडा घोषणा गर्ने अन्तिम तयारी भएको आठबीस नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराईले बताए ।

‘राकमकर्णालीमा स्थानीय तहका सबै संरचना बालमैत्री भएका छन’, उनले भने– ‘साबुनपानी सहित विद्यालयमा छात्रछात्राका लागि अलग–अलग शौचालयको व्यवस्था छ ।’ वडामा बाल शिक्षामा अध्ययन गर्ने बालबालिकालाई पिफर्म र कार्पेटको व्यवस्था, बालश्रम र बालविवाहमा न्यूनीकरण, विद्यार्थी संख्याको आधारमा शिक्षकको व्यवस्था रहेको भट्टराईले बताए । ‘कार्यविधिमा व्यवस्था गरिए अनुसार बालबालिकाको लागि १५ प्रतिशत बजेट वडा तहबाट विनियोजन गरिएको छ । बालबालिकाको लागि लगानी योजना बनाएका छौ’, उनले भने– ‘यसले बालबालिकाको हक, अधिकारलाई सुनिश्चित गर्न सघाउ पुग्ने छ ।’ पहिलो चरणमा नगरपालिकालाई नै घोषणा गर्न नसकेपनि वडा हुँदै समग्र नगरपालिका घोषणा गर्ने तयारी रहेको आठबीस नगरपालिका दैलेखका नगर प्रमुख खड्गराज उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया