पर्यटन विकासको आँखामा : दैलेख जिल्ला

पर्यटन विकासको आँखामा : दैलेख जिल्ला

                टंक रेग्मी

नेपालको सन्दर्भमा आर्थिक विकासका विभिन्न क्षेत्रहरु मध्ये पर्यटन क्षेत्र विकासका हिसावले एक महत्वपुर्ण क्षेत्र हो । नेपाल पर्यटन विकासका आधारको रुपमा रहेका विभिन्न कला संंस्कृतिहरु र सुन्दरतम प्रकृतिकरुपले भरिपुर्ण देश हो । उच्च मनोरम हिमश्रृखंला, उच्चपहाडी तथा हिमाली दृश्यहरु, भञ्ज्याङहरु, नदिनालाहरु,  तालतलैयाहरु, गुफाहरु, मठमन्दिर तथा धार्मिकस्थलहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरु, प्राकृतिक विविधता,कलाकृतिहरु तथा सस्ंकृतिहरु नेपालको पर्यटन विकासका आधारहरु हुन भने हिमाल आरोहण, पैदल यात्रा, ¥याटिङ, वोटिङ, वन्यजन्ुतु शिकार तथा निकुञ्जहरुको अवलोकन, हात्तिसयर, प्याराग्लाईडिङ, बन्जिजम्पिङ, धार्मिक तथा सांस्कृतिक स्थल अध्ययन अवलोकन आदी पर्यटनसंग जोडिएका सम्बन्धित कृयाकलापहरु हुन ।

हाल नेपालको पर्यटन व्यवसायका लागि निर्धारण गरिएका क्षेत्रहरु मात्र नभइ देशका विभिन्न भागमा छरिएर रहेका प्राकृतिक तथा मानव निर्मित सम्पदाहरुलाई मध्यनजर गरी पर्यटकीय मार्गको सञ्जाल निर्माण गरी सुरक्षित वातावरण दिने हो भने दैलेख जिल्लामा पनि धार्मिक तथा सांस्कृतिक पर्यटनको उर्वर भुमीको रुपमा विकास गर्न सकिने पर्याप्त सम्भावना र अवसरहरु रहेका छन यसै सन्दर्भमा दैलेख जिल्ला पनि पर्यटन विकासका धेरै सम्भावना वोकेको क्षेत्र हो ।

पर्यटकीय सम्भावना वोकेका क्षेत्रहरु
पंञ्चकोशी (शिरस्थान, नाभिस्थान, कोटीला, धुलेश्वर, पादुकास्थान)
दैलेख जिल्लालाई पंञ्चकोशीका नामले चिनिने गरिन्छ । पूराणमा उल्लेख भए अनुसार पौराणिक ऋषिमुनिहरुको आध्यात्मिक साधनाको तपोभूमि मात्र नभएर पवित्र देभभूमि समेत रहेको भूमि हो । उक्त पूराणमा दुल्लु क्षेत्रमा उत्पति भएको ज्वालाको दर्शन गर्नाले काशी मायापुरीको तीर्थ गरेभन्दा ठूलो फल मिल्ने, सम्पूर्ण पापहरु नाश हुने तथा मनले सोचेको कुरा पूरा हुने कुरा गरिएबाट पनि यस क्षेत्रको महत्व प्रष्ट हुन्छ । पंञ्चकोशी तिर्थस्थल अन्तर्गत शिरस्थान, नाभिस्थान, कोटीला, धुलेश्वर र पादुका गरी जम्मा पाँच तिर्थ स्थलहरुको दर्शनलाई उच्च महत्वको रुपमा हेर्ने गरिन्छ । पंञ्चकोशी तिर्थ गर्नका लागि पहिलो दिन कोटेश्वर महादेवको दर्शन कार्यबाट यात्रा प्रारम्भ गरी विनायक गाउँस्थित मगराको पुरानो धाराको स्नान गरी सोही दिन सोही ठाउँमा बास बस्नुपर्दछ । दोस्रो दिन मालिका देवीको दर्शन गरी डुङ्गेश्वर पुगेर डुङ्गेश्वर महादेवको दर्शन गरिन्छ । तेसो्र दिन पादुका स्थान पुगी स्वामी कार्तिकेय ज्वालादेवी भैरव र शिवजीको दर्शन गरिन्छ । चौथो दिन भैरवीकुण्डमा स्नान गरी भैरीकालिकाथुम पुगी कालिका देवी र धुलेश्वर महादेवको दर्शन गरिन्छ । पाँचौ दिन ब्रह्मकुण्डमा स्नान गरी हाडेचौरस्थित ब्रह्मकपाली, नाभिस्थान, शिरस्थानको दर्शन गरी पंञ्चकोशी क्षेत्रको परिक्रमा गरेर तिर्थ पूरा गरिन्छ ।

शिरस्थान
दुल्लु नगरपालिका अन्तर्गत छामघाट खोला र नाभिस्थान खोलाको किनारमा अवस्थित पंञ्चकोशी तिर्थस्थल मध्ये महत्वपूर्ण पिठ हो । यो ठाउँमा पुग्न दैलेख बजारबाट करिब एक घण्टा लाग्दछ । सत्य युुगमा दक्षप्रजापतिको यज्ञकुण्डमा आत्मदाह गरेकी सत्यदेवीलाई पति महादेवले पिठ्युमा बोकी हिड्दा त्यस ठाउँमा शिरपतन भएकाले शिरस्थान भन्ने गरिएको किम्वदन्ती भनाई छ । यो ठाउँमा परापूर्वकालदेखि अनवरतरुपमा ज्वाला प्रकट भएको र सोही ज्वालालाई देवीको रुपमा पुजा अर्चना गरिने भएकाले यस पिठलाई ज्वालादेवी पनि भन्ने गरिन्छ । शिवरात्रीमा यहाँ ठूलो मेला लाग्ने गर्दछ । शिरस्थान मन्दिर नजिक रहेको खोलाको किनारमा मृत व्यक्तिको दाहसंस्कार गर्ने गरिन्छ ।

नाभिस्थान
दुल्लु नगरपालिका स्थित नाभिस्थान खोलाको बाँया किनारमा अवस्थित यो मन्दिर पनि पंञ्चकोशी तिर्थ स्थल मध्ये महत्वपूर्ण पिठ हो । यस स्थानमा पनि शिरस्थानमा भनिएझै सत्यदेवीको नावी पतन भएकोले यस स्थानको नाम नाभिस्थान रहन गएको भन्ने विश्वास गरिन्छ । दैलेख बजारबाट नाभिस्थान पुग्न करिव डेढ घण्टामा हिडेर तथा एक घण्टामा सवारी साधन मार्फत पुग्न सकिन्छ । यस ठाउँमा पनि परापूर्वकाल देखि अनवरत रुपले ज्वाला बल्दै आएको छ । विशाल स्वामिको रुख तथा विभिन्न किसिमका देवीदेवताका मूर्तिहरु रहेको यो पिठमा बडादशैँको कालरात्री, बाला चर्तुदशी, श्री स्वस्थानी व्रतका समय, शिवरात्री तथा चैते दशैँमा विशेष पुजा गरीन्छ । शिरस्थानमा जस्तै यहाँ पनि मृत व्यक्तिको दाहसंस्कार गर्ने गरिन्छ ।

कोटीला
नारायण नगरपालिका वडा नं. ९ स्थित छामगाड खोलाको किनारमा अवस्थित कोटीला स्थान पंञ्चकोशी तिर्थस्थलमध्ये महत्वपूर्ण पिठ हो । दैलेख बजारबाट करिव डेढ घण्टामा पुग्न सकिने यस स्थानमा पनि पौराणिक कालमा ऋषि द्रोणचार्यले कोटिहोम महायज्ञ गरेकाले यसको नाम कोटीला रहेको हो भन्ने गरिन्छ । यस स्थानमा माघेसंक्रन्तिमा ठूलो मेला लाग्ने गर्दछ । मन्दिरको वरिपरि विभिन्न किसिमका ढुङ्गाका मूर्तिहरु रहेका छन् ।यहाँ मानिसहरुको चुडाकर्म (व्रतवन्ध) गरिने भएकाले यसको महत्व निकै रहेको छ ।

धुलेश्वर
दुल्लु नगरपालिका स्थित वडलम्जीको धुलेश्वर डाडाँमा अवस्थित मन्दिर पंञ्चकोशी तिर्थस्थल मध्येको एक महत्वपूर्ण शक्ति पिठ हो । पौराणिक कथन अनुसार सत्यदेवीको मृत शरीरलाई महादेवले डुलाउदै लैजादा यस स्थानमा पुग्दा सत्यदेवीको अंगको धुलो पतन भएकाले धुलेश्वर रहन गएको भन्ने भनाई रहेको छ । यहाँ शिखरशैलीका देवहरु रहेका छन् । केही वर्षअघि सम्म भूर्गवबाट खरानी वालुवा निस्कने भएतापनि अहिले यो मृतज्वालामूखीको रुपमा रहेको छ । यहाँ उमामहेश्वरको मूर्ति, शिवलिङग र वसाहको आकृति रहनुका साथै मन्दिरको गर्भगृहमा अग्निकुण्ड रहेको र परिसरमा भैरव मन्दिर, गादीघर रहेको छ । यस मन्दिरमा तान्त्रिक विधिद्धारा भैरव र भगवतीको पूजा गर्ने गरिन्छ ।

पादुकास्थान
दुल्लु नगरपालिका स्थित पादुका खोलाको किनारमा अवस्थित पादुकास्थान दैलेखको पंञ्चकोशी तिर्थस्थलहरु मध्येको महत्वपूर्ण पीठ हो । दैलेख बजारबाट करिब २३ किलोमिटरको दुरीमा पश्चिममा पर्दछ । यस स्थानमा पनि महादेवले मृत सतिदेवीको शरीरलाई बोकेर घुम्दै जाँदा यो ठाउँमा पुगेपछि पाउ पतन भई शिवशक्ति स्वरुपका रुपमा रहन गएकोले यो पिठको नाम पादुकास्थान रहन गएको हो भन्ने किबमदंन्ती रहेको पाईन्छ । अर्को किबमदंन्ती अनुसार भगवान् श्रीविष्णुका पाउँ रहेकोले यसलाई पादुका स्थान भन्ने गरिन्छ । यस मन्दिरको मुख्य पुजनिय बस्तु भनेको शिलामा खुट्टाको स्पष्ट आकार हो जसलाई विष्णुपादुका भनिन्छ । मन्दिर भित्र विभिन्न किसिमका देवीदेवताका मूर्तिहरु रहनुका साथै बुद्धका मूर्ति पनि रहेका छन् । मन्दिरको नजिकै कपुरनाउली (इनार) रहेको छ । वि.सं. २०१२ सम्म यहाँ ज्वाला बल्ने गरेतापनि ठूलो बाढी आएर बगाएकोले हाल ज्वाला बल्न छाडेको छ । यो स्थानलाई धार्मिक कारणले मात्र नभई पुरातात्तिक कारणले पनि महत्वपूर्ण स्थल मानिन्छ ।

वेलाशपूर मन्दिर
नारायण नगरपालिका वडा नं. ६ मा अवस्थित वेलाशपूर मन्दिर धार्मिक हिसावले महत्वपूर्ण मानिन्छ । दैलेख बजारबाट करिव आधा घण्टामा हिडेर पुग्न सकिने वेलाशपूर मन्दिरमा भैरवको मूर्ति रहेको छ । भैरव मन्दिरलाई संसार वर्माले आफ्नो कुल देवताको रुपमा स्थापना गरेका थिए भन्ने स्थानिय जनश्रृति रहेको छ । अर्को भनाई अनुसार विलाशपूरका अन्तिम राजा कर्ण शाहीकी रानीले आफ्नो माइती सिंजाबाट दाइजो स्वरुप भैरवको मूर्ति ल्याई स्थापना गरेकी हुन् भन्ने भनाई पाईन्छ । मन्दिर आसपासमा विभिन्न देवीदेवताका मूर्तिहरु रहेका छन् । मन्दिर अग्लो स्थानमा अवस्थित हुनाको साथै विलाशपूरका अन्तिम राजाको रुपमा निर्मित दरवारको भग्नावशेष पनि रहेको छ । यहाँ वडादशैँ, तिज, चैते दशैँ मा ठूलो मेला लाग्ने गर्दछ ।मन्दिरका पूजारीहरु स्थानीय रेग्मी खलकका रहेका छन् । पर्यटकीय दृष्टिकोणले यस क्षेत्र राम्रो मानिनुका साथै यहाँ बाट दैलेख जिल्लामा रहेका स्थानहरु हेर्न सकिन्छ । अहिले वेलाशपूर मन्दिरमा आन्तरिक तथा वाह्य पर्यटकको लागि बस्नलाई गार्डेन बनाईएको छ ।

भूर्तिका देवलहरु
नारायण नगरपालिका वडा नं. ६ स्थित भूर्ति गाउँमा ६ फिट देखि १५ फिट सम्मका शिखरशैलीमा अवस्थित २२ वटा देवलहरु रहेका छन् । निर्माणकालमा २५ वटा देवलहरु रहेतापनि हाल ३ वटा देवलहरुको अस्तित्व समाप्त भएतापनि २२ वटा देवलहरु मात्र रहेका छन् । दैलख बजारबाट यस स्थानमा पुग्न सवारीसाधनमा १५ मिनेट र हिडेर ३० मिनेटमा पुग्न सकिन्छ । जुम्लाका मल्ल साम्राज्यकाल अर्थात पन्धौ सताब्दीतिर खस राजाहरुबााट यस प्रकारका देवहरु निर्माण भएको पाईन्छ । स्थानियका अनुसार द्वापरकालमा पंञ्चपाण्डपहरुद्वारा देवलहरुको निर्माण भएको हो भन्ने गरिन्छ । देवलहरुमा रहेका ढुङ्गाहरुमा कलात्मक आकृति कुदिएका छन् । यी देवलहरुलाई पूरातत्व विभागले क वर्गमा वर्गीकरण गरेको छ । भने सन् २००८ मा विश्व सम्पदा सूचीको प्रस्तावित सूचिमा समावेश गरिएको छ । यी देवलहरुलाई हाल वरिपरि काँडेतार लगाई संरक्षण गरिएको छ । देवलहरुको नजिकै ढुङ्गेधारा पनि रहेको छ । आकर्षको रुपमा रहेको यी देवलहरु दैलेख जिल्लाको एक महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा रहेको छ ।

दैलेख गढी (कोत किल्ला )
कोत गढी दैलेख जिल्ला सदरमुकाम दैलेख बजारको पूरानो बजारमा अवस्थित एक ऐतिहासिक युद्ध कालको रुपमा चिनिने गढी हो । यो गढी बहादुर शाहको नायवीकालमा वाईसे राज्यहरुको एकिकरण अभियान अन्तर्गत वि सं. १८४६ तिर गोर्खाली सेनाले अत्यन्तै कलात्मक ढङ्गले निर्माण गरेका थिए भन्ने अभिलेख पाईन्छ । गढीको मूल ढोका त्रिकोण आकारमा रहेको छ । यस गढी भित्रबाट दैलेख जिल्लामा हेर्नको लागि १३ वटा प्वालहरु बनाईएका छन् । द्धन्दकालमा सैनिक ब्यारेको रुपमा रहेको यो गढी अहिले नेपाल प्रहरीको सुरक्षामा रहेको छ । यसलाई सुरक्षित राख्नको लागि बाहिरबाट काँडेटारले बारिएको छ । पूरातत्व विभागले यसलाई ख बर्गमा राखेको छ ।

महावु (शिवजी)
कालिकोट र दैलेखको सिमानामा पर्ने महावु आफैमा एक चर्चित ठाउँ हो । समुन्द्री सतहदेखि करिव ४१६८ मिटरको उचाईमा अवस्थित यस ठाउँमा ढुङ्गाबाट उत्पति भएको शिवलिङ्ग रहेको छ । जसको दर्शनको लागि प्रत्येक वर्षको साउनको महिनामा दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । किम्वदन्ती अनुसार शिव र पार्वतीको उत्पति भएको कैलाशको रुपमा प्रसिद्व यस ठाउँमा तिर्थयात्रीहरुले दर्शन गरेपछि मनोकामना पूरा हुने जनविश्वास रहेको छ । पूर्खाहरुका अनुसार दैलेख जिल्लाको भूर्तिका एक व्राह्मणका लाटा छोरा पाटनमा गई गाई भैँसी चराउन गएको समयमा निन्द्रा लागेपछि ढुङ्गामा गएर सुते त्यस समयमा शिवको दर्शन पाएपछि त्यस ढुङ्गामा दिनहुँ दुध चढाउनुपर्ने र उक्त कुरा कसैलाई नभन्नु भन्ने आज्ञापाएपछि त्यसै अनुसार गरेकोले उनी बोल्न र वेद पढ्न सक्ने भएको भनाई छ । त्यही ढुङ्गाबाट शिवको लिङ्ग जस्तो आकृति भएको ढुङ्गा अहिले पनि जस्ताको तस्तै रहेको छ । हिउँदको महिनामा यहाँ हिउँ पर्ने भएकाले सो क्षेत्र साहै रमणीय हुने गर्दछ । यहाँबाट जिल्लाका विभिन्न भागहरु तथा कालिकोटका केही भागहरुको अवलोकन पनि गर्न सकिन्छ ।

दैलेख पर्यटन विकासका केहि आधारशिला

  • पंञ्चकोशीका सवै धार्मिक तथा प्राकृतिक सम्पदाहरुलाई पर्यटन विकासको राष्ट्रिय नीतिमा समावेश गरि एकिकृत योजना निर्माण गर्ने, यसका लागि राजनैतिक दल तथा प्रदेश सभा तथा केन्द्यिसभामा दैलेखबाट प्रतिनिधित्व गर्ने माननीय सांसदज्युहरुको भुमिका महत्वपुर्ण रहनेछ ।
  • पञ्चकोशी क्षेत्रको दृश्यावलोकन गर्नको लागि दैलेख बाजार भएर जाने रेखाकिंत सडकहरुको स्तरोन्नति गर्ने र यसका लागि स्थानीय निकायहरुको भुमिका महत्वपुर्ण रहनेछ ।
  • दैलेख वजारदेखि माहावु सम्म नयाँ ट्रेकिङ रुटको सञ्चालन गर्ने यसका लागि नेपाल सरकार र स्थानीय निकायहरुको भुमिका महत्वपुर्ण रहनेछ ।
  • प्रस्तावित मध्यपहाडि लोकमार्ग निर्माणलाई तिव्रता दिने र दैलेख सदरमुकाम हुदै कालिकोट सम्मको  मार्ग सञ्चालन गर्ने यसका लागि नेपाल सरकारको भुमिका महत्वपुर्ण रहने छ ।
  • दैलेख जिल्लामा विमानस्थल निर्माण मा पहल गर्ने ।
  • स्थानीय कला र संस्कृतिको संरक्षण र सम्वर्धन गरि नियमित प्रदर्शन गर्ने यसका लागि स्थानीय समुदाय तथा यसका संघ संस्थाहरुको महत्वपुर्ण भुमिका रहनेछ ।
  • सवै पर्यटकीय क्षेत्रहरुको सूचना प्राप्त हुने गरी दैलेख पर्यटन सूचना केन्द्रको स्थापना गर्ने यसका लागि नेपाल सरकार पर्यटन मन्त्रालय र सूचना प्रविधिको क्षेत्रसंग सम्बन्धीत व्यवसायीहरुको महत्वपुर्ण भुमिका रहनेछ ।
  • स्थानीय पर्यटन विकास समिति को निमार्ण गर्ने र त्यसले एउटा website निर्माण गर्ने, दैलेख क्षेत्रका सवै सम्पदाहरुलाई समेटी डकुमेन्ट्री तयार गरी प्रचारमा ल्याउने ।
  • पञ्चकोशी स्थानहरुको पैदल मार्गको सञ्जाल निर्माण गर्ने यसका लागि नेपाल सरकार पर्यटन मन्त्रालय, तथा राजनैतिक दलहरुको महत्वपुर्ण भुमिका रहने छ ।
  • विदेशि तथा स्वदेशि पाहुनाहरु का लागि पर्याप्त आवास गृहहरु (होटल रिसोर्टहरु) निर्माण गर्ने यसका लागि उद्योगि व्यापारी तथा उद्योग वाणिज्य संघ तथा निजि क्षेत्रको लगानी महत्वपुर्ण रहनेछ ।
  • दैलेख वजारको स्तरउन्नोती गर्ने यसका लागि नेपाल सरकार स्थानीय राजनैतिक दलहरुको भुमिका महत्वपुर्ण रहनेछ ।
  • राष्ट्रियस्तरका कार्यक्रमहरु सञ्चालन क्षमताका सभाहलहरु निर्माण गरी सञ्चालनमा ल्याउने यसका लागि नेपाल सरकार स्थानीय निकायहरु तथा स्थानीय लगानीकर्ताको महत्वपुर्ण भुमिका रहनेछ ।
  • दैलेख वजारलाई मुकाम वनाईे टुडिखेलदेखि शिरस्थान, नाविस्थान जोड्ने पर्यटकीय केवलकार निर्माण गर्ने यसका लागि स्थानीय सहयोग र राष्ट्रिय उद्यमिहरुको लगानीको आवश्यकता रहनेछ ।
  • दैलेख जिल्लामा रहेका पर्यटनका सम्भावनाहरुको वारेमा खोज अनुसन्धान तथा प्रचारमुलक लेख रचनाहरु नियमित प्रकाशन गर्ने यसका लागि स्थानीय सञ्चार माध्यम एवं सञ्चारकर्मि तथा पर्यटन प्रेमिहरुको सक्रियता महत्वपुर्ण रहनेछ ।
  • जिल्लामा रहेका प्रत्येक नगरपालिका तथा गाउ पालिकाका कम्तीमा एक÷एक गाँउमा होम स्टे कार्यक्रम सञ्चालन गर्ने यसका लागि सम्बन्धीत समुदाय,स्थानीय निकाय स्थानीय पर्यटन विकास समितिको भुमिका महत्वपुर्ण रहनेछ ।
  • अतिथि देवोः भवः भन्ने मुलमन्त्रलाई आत्मसात गरि यस क्षेत्रमा आउने आन्त्रिक तथा वाह्य पर्यटकहरु प्रति सम्मानजनक व्यवहार देखाउने यसका लागि आम नागरिकहरुको भुमिका महत्वपुर्ण रहनेछ ।
  • समग्र व्यवस्थापन तथा निरन्तर सक्रियताका लागि स्थानीय अगुवा तथा सम्बद्ध निकाहरुको संलग्नतामा एक पर्यटन विकास सञ्जाल निर्माण गरि योजनावद्ध तवरले कार्य गर्नुपर्ने यसका लागि विकासप्रेमि स्थानीय अगुवा तथा स्थानीय निकायहरुको सहयोग र भुमिका महत्वपुर्ण रहनेछ । ourtourism news.

प्रतिक्रिया