६ बुँदे माग राख्दै गाउँपालिकामा तालाबन्दी

६ बुँदे माग राख्दै गाउँपालिकामा तालाबन्दी

हिक्मत नेपाली

दैलेख १० माघ विभिन्न ६ बुँदे मागहरु राख्दै दैलेखको भैरवी गाउँपालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिकाका बहुमत सदस्यले गत आइतवार तालाबन्दी गरेका हुन् । विभिन्न मागहरु राख्दै गरिएको तालाबन्दी आज सम्म पनि खुल्न सकेको छैन् । आफुहरुको मागलाई गाउँपालिकाका अध्यक्षले बेवास्ता गरेको भैरवी गाउँपालिकाका खड्के नेपालीले बताएका छन् । १५ जना गाउँकार्यपालिका सदस्य रहेको गाउँपालिकामा ९ जना बहुमत सदस्य द्धारा हस्ताक्षरित विज्ञप्तीमा विभिन्न ६ बुँदे मागहरु राखिएको छ ।

भैरवी गाउँपालिकाको कार्यपालिकाका बैठकले गरेको निणर्य विनानै गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले एकलौटी ढंगबाट नेकपा एमालेको भर्ती केन्द्र बनाएको नेपाली कांग्रेसबाट निर्वाचित कार्यपालिका सदस्यहरुले आरोप लगाएका छन् । उनिहरुले गाउँ कार्यपालिकाको बहुमत सदस्यले ल्याएको पश्तावलाई पारित नगर्ने व्यवहार प्रति आपत्ती जनाएका छन् । गाउँपालिकाका कार्यपालिका सदस्यहरुले बहुमत सदस्यले राखेको मागहरु पुरा गर्न माग गरेका छन् । उनिहरुले गत कात्तिक २७ गते भएको गाउँपालिकाको केन्द्र राख्ने सम्बन्धि भएको निर्णय कार्यान्वयन गर्न माग गरेका छन् ।

गाउँपालिकाको कार्यपालिकाको बैठकले कालिका बजारमा गाउँपालिकाको केन्द्र राख्ने निणर्य गरेको थियो । हाल साविकको भैरिकालिकाथुम गाउँविकास समितिमा गाउँपालिकाको कार्य संचालन हुँदै आएको छ । गाउँपालिकाका अध्यक्षले सिलंगी बजारमा गाउँपालिकाको केन्द्र राख्ने बताउदै आएका छन् । यस्तै आन्दोलनरत पक्षले गत माघ २ गते संचालन भएको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको परिक्षा रद्ध गर्नुपर्ने माग राखेका छन् । यस्तै गाउँपालिकाका खोलिएको कर्मचारी आवश्यकता सम्बन्धि विज्ञापन लोक सेवा आयोगको कार्यालयलाई सिफारिस गर्नु पर्ने, विषयगत कार्यालयहरु गाउँपालिकाको कार्यालयमा राख्नुपर्ने माग राखेका छन् । यस्तै एलजिसिडिपीका सामाजिक परिचालकहरुलाई समायोजन गर्नुपर्ने माग राखेको कार्यपालिका सदस्य खड्के नेपालीले जानकारी दिएका छन् । यसैगरि ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना र पोषण परियोजनाको समितिहरु पुर्नगठन गर्न माग गरिएको कार्यपालिका सदस्य देवी भण्डारीले जानकारी दिनुभएको छ । गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको ४ दिन वितिसक्दा समेत गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले आन्दोलनरत पक्षसंग बार्तामा नबोलाएको कार्यपालिका सदस्यहरुले बताएका छन् ।

प्रतिक्रिया