गोविन्द केसीको गिरफ्तारी र मधेसको चिसो

गोविन्द केसीको गिरफ्तारी र मधेसको चिसो

जाजरकोटका जनताले जीवनजल पाउनुपर्छ कि पर्दैन ?

राधा पोखरेल-राष्ट्रिय राजनीतिको सरगर्मी बढेका बेला देश चिसोले कठ्यांग्रिएको छ । झाडापखालाले थला परेको छ । तराईका जिल्लाहरूमा शीतलहर बढेको बढेकै छ । मान्छेहरूलाई रात र दिन छुट्याउन गाह्रो भइरहेको छ । घामको मुख देख्न नपाएको धेरै दिन भइसक्यो । अझ कति दिन देख्न नपाइने हो, ठेगान छैन । बेलुका सद्दे सुतेको मान्छे बिहान कहिल्यै नब्युँझने चिर निद्रामा डुब्नेहरूको संख्या दिनानुदिन बढेको बढेकै छ ।

जनता चिसोले कठ्यांगि्रएका बेला नेताहरू वातानुकूलित बंगलामा बसेर सत्ताको अंकगणित मिलाउन कोशिस गरिरहेका छन् । एउटा ताजा जनादेशको कुरा गर्छ, अर्को संविधानको धारा, उपधारा पढीबाँची सुनाउँछ । मुखिया हजुर ! के हामी जनता मदारीले नचाउने बाँदर हौं ? हजुरहरूले जता नचायो त्यतै नाचिदिनुपर्ने ?जाजरकोटमा फैलिएको झाडापखालाले हैजाको रूप लेला जस्तो छ । बर्षेनी झाडापखालाको प्रकोप जाजरकोटले थेग्न नसक्ने भएको छ । जीवनजल नपाएर जाजरकोट जर्जर भइरहेका बेला यता देशका मुखियाहरू ज्वरो जचाउन जहाज चढेर समुन्द्रपारि जाने हल्ला पनि चलिरहेको छ । हे पशुपतिनाथ !                   

मेरो देशलाई के भइरहेको छ ? बचाऊ प्रभु बचाऊ ! बल्लतल्ल संविधान बनाउनुभयो । संविधानको सर्बस्वीकार्यताबारे छलफल चलिरहेकै छ । जे हो, तिनै तहको निर्वाचन सम्पन्न गराउनु भयो । यो नै सबैभन्दा ठूलो खुसीको कुरा हो । अस्थिर सरकार नेपालको चुरो समस्या हो । समस्याको चुरो पत्ता लगाएर जनताले स्थिर सरकारका लागि म्यान्डेट दिएको छ । भोट माग्ने बेलाको प्रतिवद्धता पूरा गर्नुहुन्छ, गर्नुहुन्न ? केही समय कुर्नै पर्ला । सरकार बनाउँदै गर्नुहोला । हामी नागरिकले खोजे र सोचे अनुसारको सरकार बनाउन सफलता मिलोस् । अगि्रम शुभकामना छ । सरकारविनाको राज्य हुँदैन । राज्यविनाको नागरिक हुँदैन । एउटा नागरिकका लागि बाँच्न पाउनु सबभन्दा ठूलो मानवअधिकार हो । राज्य सबैको संरक्षक हो । सरकार अभिभावक हो । मलाई चिच्याई चिच्याई सोध्न मन लागिरहेको छ- के हाम्रो देशमा सरकार छ ? देश र जनताप्रति उत्तरदायी नेता र पार्टीहरू छन् ? यदि छन् भने हामी नागरिकलाई जवाफ चाहियो ।

शीतलहरले दिनदिनै ज्यान गुमाइरहेका ती निरपेक्ष गरिबीको रेखामुनि बाँच्न विवश चमार, डोम, दुसाध,….गरिब दलितहरू यो देशका नागरिक हुन् कि होइनन् ? जीवनजल नपाएर ज्यान गुमाइरहेका जाजरकोटका ती दुखी गरीबहरू यस देशका मतदाता हुन् कि होइनन् ? यदि हुन् भने कम्तिमा हजुरहरू वातानुकूलित बंगलामा राज हुँदा उनीहरूले शीतलहरबाट बच्न एकसरो कपडा र राति ज्यान छोप्ने कम्बल पाउनुपर्छ कि पर्दैन ? हजुरहरू जहाज चढेर ज्वरो जाँच्न बिदेश जाँदा जाजरकोटका जनताले जीवनजल पाउनु पर्छ कि पर्दैन ? कि जनता तपाईँहरूको भोट बैंक मात्रै हो ?”

डा. केसीको गिरफ्तारी

न्यायालयको मानहानीको अभियोगमा डा. गोविन्द केसी हिजो पुस २४ गते साँझ गिरफ्तारीमा परेका छन् ।

न्यायालयले अभियोग पुष्टि गरेर डा. केसी लाई दण्डित गर्ला वा डा. केसीले आफ्नो आरोप प्रमाणित गर्लान् त्यो समयले नै बताउला । एउटा नागरिकको हैसियतले बोल्नुपर्दा डा. केसीले जुन कदम उठाएका छन्, त्यो त्यतिकै आवेगमा आएर पक्कै उठाएका होइनन् । नेपालको सन्दर्भमा डा. केसी भ्रष्टाचारविरूद्ध उभिएका एक योद्धा हुन् । अभियन्ता हुन् । सदाचारका एक प्रतीक हुन् ।

विशेष गरेर चिकित्सा क्षेत्रमा हुने गरेका र भइरहेका भ्रष्टाचारविरूद्ध उनले उठाएको कदम सम्मानयोग्य मात्र नभएर सलाम गर्न योग्य छ ।

लोकतन्त्रको एउटा मुख्य पिलर न्यायालय हो । न्यायालयको स्वच्छता र निश्पक्षताविना लोकतन्त्र सुदृढ हुन सक्दैन । न्यायालयको स्वच्छता र निश्पक्षतालाई लिएर विभिन्न समयमा विभिन्न कुराहरू उठ्दै आइरहेका छन् ।

न्यायाधीश विवादित हुनुहुँदैन । त्यसमाथि झन प्रधानन्यायधीश त विवादित हुनै हुँदैन । वर्तमान प्रधानन्यायधीशज्यू विवादमुक्त बन्न सक्नुभएको छैन । यो विडम्वना हो । लाग्छ, डा. केसीले न्यायालयको स्वच्छता, निश्पक्षता र गरिमालाई अझ उचाइमा उठाउन यस प्रकारको कदम उठाएका हुन् ।

लोकतन्त्र भनेको पक्कै पनि विधिको शासन हो । अराजकता लोकतन्त्रमा स्वीकार्य हुँदैन । तर, सम्माननीय प्रधानन्यायधीशज्यू ! यसको अर्थ यो पनि होइन कि, लोकतन्त्रमा आलोचनाको स्वतन्त्रता नै हुँदैन । न्यायाधीशहरू भगवान हुन्, उनीहरूले कहिल्यै गल्ती नै गर्दैनन् । तसर्थ, भगवानको आलोचना गर्नु अपराध हो । यस्तो पक्कै होइन ।

हिजो राजतन्त्रमा मात्रै राजा विष्णुका अवतार थिए । संविधान र कानुनभन्दामाथि थिए । के हाम्रो न्यायालय र न्यायाधीश पनि त्यस्तै हुन् ? हामी जनतालाई जवाफ चाहियो । यदि हामी लोकतान्त्रिक मुलुकका सार्वभौम नागरिक हौं भने नागरिकलाई आलोचनाको स्वतन्त्रता हुनैपर्छ । तर, हरेक नागरिकले मर्यादाको ख्याल भने राख्नैपर्छ ।

अब प्रश्न उठ्छ- के डा. केसी अराजक हुन् ? उनका अभिव्यक्ति अमर्यादित छन् ?

डा. के.सी. पक्कै पनि अराजक होइनन् । उनले आजसम्म बिरोधको जुन शैली अपनाइरहेका छन्, त्यो पूर्णरुपमा संविधानसम्मत छ । बरू अराजक त सरकार बनेको छ । डा. केसीसँग आएर एउटा सहमति गर्छ, अनि सहमतिको मसी सुक्न नपाउँदै सहमति भंग गर्छ । यसको जिम्मेवारी सरकारले लिनुपर्दैन ?

जहाँसम्म केसीको अभिव्यक्ति मर्यादित हो वा अमर्यादित भन्ने सवाल छ, त्यो न्यायालयले नै फैसला गर्ला । तर, सबैले एउटा कुरा हेक्का राख्नैपर्छ, सत्य निरपेक्ष हुँदैन, सापेक्ष हुन्छ ।

अन्त्यमा,
सरकारको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानमन्त्रीज्यू र सरकार निर्माणको अंकगणित मिलाइरहनुभएका भावी प्रधानमन्त्रीज्यू, कृपया तपाईँहरूको दोहोरी बन्द गर्नुहोस् । हिजो तपाईँहरूलाई आफ्नो अमूल्य मत दिएर बिजयी गरी पठाउने मधेसका मतदाताहरू शीतलहरले कठ्यांगि्रएर मरिरहेका छन् । जाजरकोटका जनताहरू जीवनजल नपाएर जीवन गुमाइरहेका छन् ।

दसऔंला जोडी बिन्ती छ- तपाईँहरू सबै अलिकति न्यानो लिएर मधेस र्झनुस् । र, न्यानो बाँड्नोस् । जीवनजलको पुरिया बोकेर जाजरकोट पुग्नुस् । र, जीवन बचाउनुस् । प्रहरी हिरासतमा गएर डा. केसीलाई भेट्नुस् । र, न्याय मर्न नदिनुस् ।

onlinekhabar.

प्रतिक्रिया