जुम्लामा बन्यो पश्चिम नेपालकै ठूलो अस्पताल

जुम्लामा बन्यो पश्चिम नेपालकै ठूलो अस्पताल

जुम्ला – ३ सय शैय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको छ । पश्चिम नेपालकै ठूलो आयोजनामा सो अस्पताल जुम्लामा निर्माण भएको हो । ७६ करोड रुपैयाँको लागतमा अस्पतालको भवन पूर्णरुपमा निर्माण कार्य सम्पन्न भएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले बताए ।

केही उपकरण जडान र सरसफाइका कार्य अहिले जारी रहेकाले १५ माघबाट कम्पनीले अस्पताल हस्तान्तरण गर्ने भएको छ । भने सोही मितिमा अस्पतालको उद्घाटन गरी सेवा विस्तार गर्ने कार्ययोजना रहेको उनले बताए । अत्याधुनिक सुविधा सम्पन्न सेवा प्रवाहमा प्रतिष्ठान हरसम्भव जुटिरहेको पनि रजिष्टार काफ्लेले जानकारी दिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिम नेपालको चिकित्सा क्षेत्रमा आधुनिक, पहिलो र ठूलो अस्पताल हो । सो अस्पताल तीन वर्षमा निर्माण गर्ने गरी रसुवा कन्ट्रक्सन कम्पनीसँग सम्झौता भएको र तोकिएको मिति भित्रै निर्माण कार्य सम्पन्न भएको प्रतिष्ठानका रजिष्टार काफ्ले बताए ।

अहिले प्रतिष्ठानले सय शैय्याको अस्पताल, १७ जना विशेषज्ञ डाक्टरसहित १ सय ५० जना जनशक्तिले सेवा प्रवाह गर्दै आएका छन् । प्रतिष्ठानका रजिष्ट्रार काफ्लेका अनुसार गतवर्ष २९ हजार ९ सय ३४ जना विरामीले अस्पतालबाट सेवा लिएको र जसमध्ये २ हजार ४ सय ९१ जनाको ठूलो शल्यक्रिया भएको जानकारी दिए ।

त्यसैगरी, विपन्नलाई निःशुल्क उपचार, स्वास्थ्य बीमा सुरु, स्टाफ नर्स चौंथो र हेल्थ असिष्टेन्ट तेस्रो व्याज सञ्चालन गरिहेको उनले बताए । उनले भने,‘ऐनले व्यवस्था गरे बमोजिम ४५ प्रतिशत पिछडिएको क्षेत्रका व्यक्तिले अध्ययन गर्ने अवसर प्राप्त गर्दै आएका छन् ।’

स्वास्थ्य क्षेत्रमा अनुसन्धान

स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ स्थापना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यमा अनुसन्धान गरिरहेकोे छ ।

प्रतिष्ठानले कर्णालीमा स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा प्रभावकारी सञ्चालन गरिरहेको अवस्थामा स्वास्थ्यमा अनुसन्धान गरेकोे हो । प्रतिष्ठानका उपकुलपति डा। राजेन्द्रराज वाग्लेले स्वास्थ्य सेवासँगै स्वास्थ्य शिक्षा र स्वास्थ्य अनुसन्धान अघि बढाएको जानकारी दिए ।

उपकुलपति वाग्लेले भने,‘साविकको कर्णाली अञ्चलका मुगु, जुम्ला र कालिकोट जिल्लामा अनुसन्धान सम्पन्न भइसक्यो, अब प्रतिष्ठानको कार्य क्षेत्रअन्तर्गत तत्कालिन पिछडिएको ९ वटा जिल्लामा स्वास्थ्य सर्वेक्षण गछौँ ।’

प्रतिष्ठानले सबै जिल्लाको स्वास्थ्य अवस्थाको तथ्यांक लिएर तथ्यांक अनुसार उपचार सेवाको मार्ग खोल्न अनुसन्धान प्रक्रिया अगाडि बढाउने प्रतिष्ठानले बताएको छ ।

सिनेट बैठक उपलब्धिमूलक

प्रधानमन्त्री अध्यक्षता रहेको प्रतिष्ठानको सिनेट बैठक उपलब्धिमूलक हुदै गएका छन् । दुई वर्षसम्म सम्पन्न हुन नसकेको सिनेट बैठकमा बहुसरोकारको स्थानीयवासीले निःशुल्क दिएको १ हजार ५ सय रोपनी जग्गा पास गराउन पहल गर्ने निर्णय भएको छ । त्यसैगरी स्वास्थ्य शिक्षाको ब्याचलर अफ मिडवाफ्री सञ्चालन गर्ने, ६ नं प्रदेशमा विशेषज्ञ सेवा शुरु गर्ने, महत्वपूर्ण बहिरंग विभाग सञ्चालन गर्ने जस्ता महत्वपुर्ण निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।

यसैगरी प्रतिष्ठानले नेपालगञ्जबाट आपूर्ति गर्दै आएको अक्सिजन प्लान्ट र ब्लड बैंक जुम्लामा पनि व्यवस्था गर्ने पनि प्रतिष्ठानले जनाएको छ ।

आवश्यक उपकरण नहुँदा उपचारमा समस्या

हिमाली जिल्ला जुम्लामा २०६८ सालमा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवश्यक उपकरण नहुँदा उपचारमा तत्कालिन अवस्थामा चुनौति देखिएको छ । प्रतिष्ठानमा सिटीस्क्यान, आसियु, एमआरआई मेसिन लगायतका मेसिन नहुँदा उपचारमा समस्या भएको हो ।

चोटपटक र दुर्घटनाका विरामीहरु धेरै आउने भएपनि उपचारका लागि आवश्यक उपकरण नहुँदा समस्याले टाउकोमा चोटपटक लागेका विरामी आएपनि विरामीको अवस्था अनुसार उपचार गर्नुपर्ने बाध्यता रहेको बताउँदै अत्याधुनिक उपकरणको व्यवस्था गर्न सकेमा उपचार गर्न सहज हुने हाडजोर्नी विषेशज्ञ डा। देउमान लिम्बुले बताए ।

सिटीस्क्यान र आइसियु मेसिन खरिद गर्नको लागि झण्डै ३ करोड रुपैयाँ आवश्यक पर्ने भएको र अस्पतालको लगानीमा खरिद गर्न नसक्ने भएकोले सरकारसँग माग गरिएको प्रतिष्ठानका रजिष्टार काफ्लेले बताए ।

प्रतिष्ठानको पहिला गासमै ढुंगा

पहिला गासमै ढंगा भने झै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रगति गर्दै गरेको अवस्थामा ओपिडि कक्ष पुरै ध्वस्त हुने गरी आगजनी गरियो । आगजनी भएको दुईबर्ष वितिसक्दा पनि अझैसम्म अनुसन्धानको प्रतिवेदन सार्वजनिक र दोषीलाई कारवाही हुन सकेको छैन । प्रतिष्ठानमा २०७२ पुस ३ गते राती २ बजे अज्ञात समुहद्धारा आगजनी गरिएको थियो । आगलागीबाट प्रतिष्ठानले करोडौं क्षेती व्यहोर्यो । प्रतिष्ठानको आगजनीका विषयमा केन्द्रीय अनुसन्धन व्यूरो९सिआईबी०ले अनुसन्धान गरिरहेको छ ।

प्रतिष्ठानको प्रयोगशाला, एक्सरे, अल्ट्रा साउण्ड, डेण्टल, फार्मेसी, इण्डोस्कोपी सहित महत्वपूर्ण उपकरण र अन्तरंग विभाग नै पूर्णरुपले ध्वस्त भए । प्रतिष्ठानमा आगजनी किन र कसले गरेको हो भन्ने विषयमा केन्द्रीय अनुसन्धन व्यूरो९सिआईबी०ले अनुसन्धान गरेपनि अहिले सम्म दोषी पत्ता लगाएर कारवाही हुन सकेको छैन। प्रतिष्ठानमा आगजनी भएको अवशेष अझै पनि उस्तै अवस्थामा रहेको छ । Nayapatrika.

प्रतिक्रिया