डोल्पाली सांसदलाई स्वर्गबाट शिशुकाे चिठी

डोल्पाली सांसदलाई स्वर्गबाट शिशुकाे चिठी

रामचन्द्र न्यौपाने दुनै(डोल्पा) |

डोल्पाको दुर्गम क्षेत्रमा पर्ने मुड्केचुला गाउँपालिकाका उप–प्रमुख सबिता रोकायलाई आइतबार सुत्केरी व्यथाले च्याप्यो । उनी प्रशव बेदनाले निकै छट्पटाएकी थिइन् ।

अस्पतालमा डाक्टरले दिएको २० दिनको म्याद अगावै सुत्केरी व्यथाले च्यापेपछि उनीमा उच्च रक्तश्राव भयो । रगत धेरै बगेकाले रोकाय र पेटभित्रको शिशुको ज्यान जोखिममा पर्यो ।

रोकायलाई जिल्ला बाहिर भएपनि उपचारका लागि लैजानै पर्ने भयो ।

डोल्पामा राम्रा तथा सुविधायुक्त प्रसुति गृह छैन । प्रायःजसोले सामान्य अवस्थामा पनि जिल्ला बाहिर नै विरामी उपचारार्थ लैजानुपर्ने वाध्यात्मक अवस्था छ ।

गर्भवती आमा र शिशुलाई जोगाउन हेलिकोप्टरमार्फत नै भएपनि उपचारार्थ जिल्ला बाहिर पारिवारिक निर्णय भयो । पाँच लाख रुपैयाँको लागतमा हेलिकोप्टरको बन्दोवस्थ मिल्यो र उपचारको लागि उनलाई पोखरा लगियो ।

पोखराको मणिपाल अस्पतालमा उपचार गराइसकेपछि आमाको ज्यान जोगियो । तर, शिशुलाई बचाउन नसकेको चिकित्सकहरुले बताए ।

त्यसैको तीन चार घण्टापछि स्वर्गबाट एउटा चिठी आयो डोल्पाली सांसदको नाममा ।

डोल्पाका माननिय सांसदलाई नजन्मदै मरेकी चेलीको चिठी यस्तो छः

मिति : ७ माघ २०७४

प्रदेश सांसदहरुले सपथ ग्रहण गर्ने सुनौलो दिन ।

मलाई थाहाँ छ तपाईले आजमात्रै प्रदेश ६ को राजधानी सुर्खेतमा आफ्नो पद तथा गोपनयितको शपथ ग्रहण गर्नु भएको छ ।

यो शुभदिनको अवसरमा म हजुरलाई एउटा दुःखद् खवर सुनाउन गइरहेकी छु । यसअघि सांसदले डोल्पाको खासै विकास गर्न सकेनन् । सिवाय! आफू बन्ने बाहेक अरु केही गरेनन् भनाइ छ । अहिलेसम्म डोल्पामा राम्रो उपचार हुने अस्पतालको अभावमा आज म जन्मन नपाउँदै स्वर्गारोहण हुनुप¥यो ।

मेरी ममतामयी आमा अहिले पोखरामा मर्नु न बाँच्नुको दोसाँधमा हुनुहुन्छ । यसअघि डोल्पामा म जस्तै जन्मन नपाउँदै थुप्रै शिशु र जन्माउन नसक्दा बेलैमा उपचार नपाएर कति आमाको ज्यान गयो तपाईलाई अवश्य पनि थाहा नै होला । अब तपाईहरु डोल्पाली जनताको भोटबाट सांसद पदमा निर्वाचित हुनुभएको छ ।

तपाईले पनि उहिलेका सांसद जस्तो आफू मात्र बन्ने नभई डोल्पाको विकासमा इमान्दारिताका साथ काम गरिदिनुहोला । ता‘की डोल्पामा अबका दिनमा कुनै पनि शिशु म जस्तै र कुनै पनि आमाहरु सुत्केरी व्यथाले च्याप्दा उपचार नपाएर छट्पटिएर मर्नु नपरोस् ।

सबै डोल्पाली सुखी, खुसी, शिक्षित, सम्बृद्ध र स्वस्थ बन्न र रहन सकुन् । अब तपाईहरुले आफ्नो व्यक्तिगत, पारिवारिक र पार्टीगत स्वार्थ भन्दा माथि उठेर जनप्रिय तथा लोकल्याणकारी काम गरेर देखाउनुहुन्छ भन्ने आसा र भरपूर विश्वास राखेकी छु ।

उहीँ तपाई कि डोल्पाकी नजन्मदै मरेकी चेली
हाल स्वर्गलोकबाट ।

अहिले यो चिठी सामाजिक सञ्जालनमा भाईरल भइरहेको छ । कसले लेखेको हो ? भन्ने कुनै विश्वासिलो स्रोत खुलेको छैन ।

त्यस्तै, आइतबार प्रदेश राजधानीको माग राखी देशका विभिन्न ठाउँमा सडक अवरुद्ध गरी आन्दोलन भइरहेको थियो । काठमाडौँमा रहेका प्रदेश सांसदहरु आफ्नो प्रदेशको अस्थायी राजधानीमा पुगेर सहजरुपमा पद तथा गोपनियताको शपथ गर्ने अवस्था थिएन ।

जमिनको प्रतिकुल अवस्थालाई छिचोल्दै प्रदेश सांसदहरु नेपाली सेनाको हेलिकप्टर चार्टर गरेर शपथ ग्रहण स्थल पुगेका थिए । भने, यता डोल्पामा हरेक वर्ष सुरक्षित प्रसुतिको अभावमा थुप्रै महिलाहरुले अकालमै ज्यान गुमाउनु परेको पीडा घाम जत्तिकै छर्लङ्ग छ ।

नयाँ पत्रिका अनलाइनमा खवरछ ।

प्रतिक्रिया