प्रदेश ६ मा खुल्यो मुख्यमन्त्रीको कार्यालय

प्रदेश ६ मा खुल्यो मुख्यमन्त्रीको कार्यालय

 पहिलो प्रदेश संसद बैठक नजिकिँदै गर्दा प्रदेश नम्बर ६ मा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय स्थापना गरिएको छ।

अस्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार कार्यालय स्थापना गरिएको हो।

साविकको मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्रीको कार्यालय स्थापना गरिएको हो।

यस प्रदेशमा आगामी फागुन २ गतेसम्म मुख्यमन्त्रीको टुङ्गो लाग्ने भएकाले करिव एक हप्ता पहिल्यै मुख्यमन्त्रीको कार्यालय स्थापना गरिएको हो। साथै, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को मुख्य सचिवका रुपमा क्षेत्रीय प्रशासक सुरेश प्रधानले जिम्मेवारी सम्हालेका छन्।

पदभार ग्रहणसँगै उनले प्रदेश ६ गरीवि, अशिक्षा र भोकमारी लगायतका समस्याले पिल्सिएको भन्दै अवको प्रदेश सरकारबाट समृद्ध र विकासित प्रदेशका लागि आवश्यक नीति निर्माण महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

साथै, मुख्यमन्त्री र मन्त्री परिषदको कार्यालयमा प्रशासन सचिवमा यज्ञराज बोहोरा र कानुन सचिवमा केशवराज आचार्यले कार्यभार सम्हालेका छन्।

प्रशासन सचिव बोहोराले अवको एक साताभित्रै अन्य मन्त्रालयहरुको व्यवस्थापन गरिसक्ने बताए। यस प्रदेशमा सात वटा मन्त्रालय रहनेछन्।

एमाले र माओवादी केन्द्रबीच भएको भागबण्डामा यो प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेको छ। मुख्यमन्त्रीका आंकाक्षीका रुपमा महेन्द्रबहादुर शाही र नरेश भण्डारी छन्।

प्रतिक्रिया