जिल्ला अस्पतालमा थपियो नयाँ सेवा

जिल्ला अस्पतालमा थपियो नयाँ सेवा


जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा दर्जनौ नयाँ स्वास्थ्य सेवा थप गरिएको छ । १५ शैयाको क्षमता रहेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा नयाँ सुविधाहरु थप गरिएका हुन् । यस अघि नभएका सेवाहरु अहिले जिल्ला अस्पताल दैलेखमा थप गरिएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डाक्टर शोभित थापाले जानकारी दिएका छन् । उनका अनुसार पुराना र जिर्ण अवस्थामा रहेका भौतिक सामग्रीहरु निमार्ण गरि संचालनमा ल्याइएको छ । दैलेखमा सेवा नपाएपछि बाह्य जिल्ला जान पर्ने बाध्य दैलेखका बिरामी नयाँ सुविधाहरु थपिएपछि दैलेखमै स्वास्थ्य सुविधा लिन पाउने भएका छन् । जिल्लामा विभिन्न स्वास्थ्य सेवा लिनका लागि सुर्खेत तथा नेपालगंज जानुपर्ने बाध्यता रहेको थियो ।
जिल्लामा रहेका दाँतका विरामीहरुले अब जिल्ला स्वास्थ्य कार्यालयबाट नै डेन्टल सेवा पाउने भएका छन् । यस अघि दाँत सम्बन्धिका विरामीहरुले सामान्य सेवा पाउदै आएका थिए । आधुनिक खालको डेन्टर सेवा जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पहिलो पटक संचालनमा ल्याइएको डा.थापाले बताए । स्वास्थ्य कार्यालयमा आधुनिक सिआर एक्सरे सेवा समेत संचालनमा ल्याइएको छ । उक्त एक्सरेबाट एकै पटकमा ५ जना सम्मको एक्सरे गर्न सकिने डा. थापाले बताए । उनका अनुसार २८ दिन मुनीका बालबालिकाहरुका लागि एउटै कोठामा सेवा दिनका लागि व्यवस्थापन गरिएको छ । यस्तै जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा एसएनसियु सेवा, नयाँ एम्बुलेन्स सेवा, नयाँ स्टोर कोठा समेत संचालनमा ल्याइएको उनले जानकारी दिए । स्वास्थ्य कार्यालयले संचालनमा ल्याएको अस्पताल फार्मेसिसले विरामीहरुलाई १० प्रतिशत छुटमा २४ सै घण्टा सेवा दिइरहेको थापाले बताए । फार्मेसिमा अहिले ३ जना कर्मचारी राखिएको छ ।
अस्पतालमा आउने विरामीहरुका लागि युरोगार्ड सहितको खानेपानी सेवा संचालनमा ल्याइएको छ । अस्पतालमा मापदण्ड अनुसारमा इमरजेन्सी सेवालाई व्यवस्थापन गरिएको छ । विष सेवन गरि आएको विरामीहरुलाई छुट्टै पोहिजन व्यवस्थापन कोठाको व्यवस्था गरिएको छ । सोडियम र पोटासियम सहितको रगत जाँच मेसिनको व्यवस्थापन गरिएको डा.थापाले जानकारी दिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा जिर्ण अवस्थामा रहेको जेनेरेटरलाई मर्मत गरि संचालनमा ल्याइएको छ । बाल बालिकाहरुका लागि छुट्टै वार्डको व्यवस्थापन गरिएको डा.थापाले जानकारी दिए । टिभीका विरामीहरुका लागि जाँच मेसिन जिन एक्सपर्ट बुधवारबाट मात्रै संचालनमा ल्याइएको उनले बताए । अस्पतालमा ल्याव र एक्सरे सेवालाई २४ सै घण्टा संचालन गरिएको उनले बताए । यस्तै जिल्ला स्वास्थ्य कार्यालय दैलेख परिषरमा २ सय जना विरामीहरु बस्न मिल्ने गरि हलको व्यवस्थापन गरिएको थापाले जानकारी दिएका छन् । अस्पताल परिषरमा गाडी पांकिङ्गको व्यवस्थापन गरिएको छ भने पूरुष विरामीहरुका लागि नयाँ शौचालय निर्माण गरिएको थापाले जानकारी दिएका छन् । यस्तै एचआइभीका विरामीहरुका जाँचको लागि सिडिफो मेसिन ल्याइएको उनले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयमा डा.शोभित थापा सरुवा भएर आएको एक बर्ष भित्र गरिएका नयाँ कामहरुको बारेमा जानकारी दिन गरिएको पत्रकार घेटघाट कार्यक्रममा यस्तो जानकारी दिइएको हो । अपतालमा नयाँ सेवा सुविधाहरु थपिए पनि प्रयाप्त मात्रामा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको डा.थापाले बताए । अहिले जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा ३ जना डाक्टरहरु कार्यरत रहेको डा.थापाले बताए । उनले जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा आउने बजेट स्थानीय तहमा गएको बताउदै योजना अनुसारको काम गर्न समस्या भएको बताए । कार्यक्रममा पछिल्लो समय परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्यामा बृद्धि भएको बताइएको छ । यस्तै जिल्ला अस्पताल दैलेखमा सुरक्षित मातृत्व लगाएतका सेवाका लागि व्यवस्थीत सेवा प्रदान गरिएको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालय संगै जिल्लामा सबै जसो स्वास्थ्य संस्थाहरुमा यस बर्ष औषधी अभाव भएको देखिएको भएपनि व्यवस्थान गरिएको डाक्टर थापाले जानकारी दिए ।
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष बासना थापाले जिल्ला सदरमुकामका रहेका स्वास्थ्य कार्यालयमा नयाँ सेवा तथा सुविधाहरु थप परि नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न लागिएको जानकारी दिइन् । उनले जिल्ला स्वास्थ्य कार्यालय दैलेखको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताइन् । यस्तै नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले अस्पतालको विकासका लागि संचारकर्मीहरु सहयोग गर्न पछि नपर्ने बताए ।

प्रतिक्रिया