दैलेखमा भेटियो अर्को ज्वालामुखी, उत्खननमा चासो दिन आग्रह

दैलेखमा भेटियो अर्को ज्वालामुखी, उत्खननमा चासो दिन आग्रह

 दैलेख, ७ फागुन – मुलुकभर पेट्रोलियम पदार्थको चरम संकट परेका बेला (२०७२ मंसिर २१) मा दैलेखको शिरिस्थानबाट औपचारिक रुपमा पेट्रोलियम पदार्थ खोजीकार्यको सुरुवात भएको थियो ।

तत्कालिन उद्योग मन्त्री सोमप्रसाद पाण्डेको पहलमा केही चाइनिज् विशेषज्ञ टोली  शिरिस्थान पुगेको थियो । सम्भाव्यता अध्ययन गरी काठमाण्डौं फर्किएको टोलीले गरेकाे काम, प्रगतिबारे स्थानीयलार्इ अहिलेसम्म कुनै जानकारी नभएकाे दैलेख उद्योग बाणिज्य संघका क्षेत्रीय उपाध्यक्ष शान्ति शर्माकाे गुनासो छ।

 गत मंसिरको चुनावी दौरानमा दैलेख आएका नवनियुक्त प्रधानमन्त्री के.पी शर्मा ओलीले दैलेखको टुँडिखेलबाट गरेको सम्बोधन पनि दैलेखवासीसामु ताजै छ । प्रधानमन्त्री ओलीले ‘अब नेपाल पानी मात्र हैन खानीमा पनि सम्पन्न मुलुक बन्छ नेपाल, दैलेखमा रहेको पेटोलियम पदार्थको उत्खनन् कार्य हुन्छ, नेपाल धनी मुलुक बन्छ’ भनेका थिए ।

प्रधानमन्त्री ओलीले गरेको वाचा दैलेखवासीले नर्बिसेको र वर्तमान सरकारले यसलाई महत्व दिनेमा आफै आशावादी रहेको प्रतिनिधि सभा सदस्य रविन्द्र शर्माले बताए । उनले अब दैलेखमा रहेको खानी उत्खनन्को काम केन्द्र र प्रदेश सरकारले सुरु गर्नुपर्ने बताए ।

चैत्रमा चाईनाको टोली आउने

खानी तथा भूगर्भ विभाग काठमाडौंले दिएको जानकारी अनुसार, दैलेखलगायतका विभिन्न स्थानमा रहेको पेट्रोलियम पदार्थको उत्खनन्का लागि अभियान थालेको चाईनाको टोली चैत्रमा नेपाल आउने भएको छ । चाइनासँग भएको जि.टु.जि. सम्झौता अनुसार, टोली नेपाल आउने र बृस्तित अनुसंन्धान गर्ने भएको खानी तथा भू गर्भ बिभागको भनाई छ ।

शिरिस्थानमा ठूलो आकारको नयाँ ज्वाला भेटियो

दैलेखको शिरिस्थान, नाभिस्थान, पादुका, धुलेश्वर लगायत पंचकोशी क्षेत्रमा सयांै वर्षदेखि आगो बलिरहेको छ । खोला र किनारहरुमा समेत सयौं स्थानबाट ग्याँस निस्केको छ । शिरिस्थानको पुरानो मन्दिर नजिक अहिले नयाँ ज्वाला निस्किएको छ ।

नयाँ निस्किएको ज्वाला अन्य ज्वाला भन्दा ठूलो छ । शिरिस्थानको पुरानो मन्दिरमा रहेको ज्वालालाई बढी ज्वाला भनिदै आएको थियो खोलाको भित्तामा बलेको ज्वालालाई कालि ज्वाला भनिदै आएको थियो । अहिले निश्केको ठूलो ज्वालालाई सिता ज्वाला भनिएको छ । बाहिरै खुल्ला स्थानमा ठूलो ज्वाला बल्न थालेपछि उक्त ठाउँमा मन्दिर निर्माण गरिएको छ ।

स्कन्ध पुराणमा उल्लेख भए अनुसार दैलेखमा रहेका कोटीला, शिरिस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र पंचकोशीलाई शक्तिपिठका रुपमा मानिन्छ । दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर बि.क. भन्छन् । दैलेखवासीले पंचकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खनन् गरिदिन र याे जिल्लालाई धार्मिक पर्यटनको जिल्ला घोषणा गर्न सरकारलार्इ अाग्रह गरेका छन् । Nayapatrika.

प्रतिक्रिया