बालमैत्री नीति तयार गर्ने प्रतिबद्धता

बालमैत्री नीति तयार गर्ने प्रतिबद्धता

दैलेख फागुन २१- दैलेख जिल्ला भित्रका विभिन्न गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षहरुले बालमैत्री नीति तयार गर्ने प्रतिबद्धता गरेका छन् । चामुण्डा विन्द्रासैनी नगरपालिका, गुराँस गाउँपालिका, दुल्लु नगरपालिका र ठाटिकाँध गाउँपालिकाका १६ जना वडाअध्यक्षहरुले वडा स्तरमा बाल मैत्री नीति तयार गर्ने प्रतिबद्धता गरेका हुन् । दैलेख सदरमुकाममा आयोजित “बालअधिकार संरक्षण र गुणस्तरीय शिक्षा” सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रममा उपस्थित वडा अध्यक्षहरुले “बालमैत्री स्थानीय सरकार, बाल अधिकारको सम्मान” भन्ने नारालाई सार्थकतामा पु¥याउन बालअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि १५ बुँदे सार्वजनिक प्रतिवद्धता समेत गरेका छन् । उनिहरुले बालबालिका बिरुद्ध हुने सबै प्रकारका हिंसा, दुव्र्यवहार, शोषण भेदभाव, वेवास्ता हुन नदिनका लागि बालमैत्री नीति तयार गरि लागू गर्ने बताएका छन् ।
यस्तै वडा समितिका पदाधिकारी, कर्मचारी र अन्य स्वयम सेवकका लागि बालमैत्री आचारसंहिता निर्माण गरी लागु गर्न वडा प्रमुखहरु एकमत भएका छन् । बालबालिकाकाको कुनै पनि गैरकानुनी, असुरक्षित वा दुव्र्यवहारजन्य कामलाई बढावा दिने काममा संलग्न नहुने, बालबालिकाहरु शान्ति क्षेत्र हुन् भन्ने मान्यतालाई कार्यन्वयन गर्दै आफ्नो वडाका विद्यालयलाई शान्ति क्षेत्र बनाउने प्रतिबद्धता समेत गरिएको छ ।
वडा भित्र जोखिममा रहेका बालबालिकाहरुको तथ्यांक संकलन, विश्लेषण गरी पारासामाजिक कार्यकर्ता मार्फत तत्काल र दिर्घकालिन सहयोग सुनिश्चित गर्न वडा बालसंरक्षण समितिलाई सक्रिय वनाउने, स्थानीय तहमा प्राप्त हुने कुल पुँजीगत अनुदानको कम्तिमा १० प्रतिशत बजेट बालबालिकालाई प्रत्यक्ष फाईदा पुग्ने योजनाहरुमा विनियोजन गरिने भएको छ । बालबालिकाहरुको क्षमता विकास गरी स्थानीय तहका हरेक संरचनामा अर्थपूर्ण सहभागीता सुनिश्चित गर्नुका साथै वडालाई बालविवाह मुक्त, अनिवार्य आधारभुत शिक्षा युक्त, पुर्ण खोप, पूर्ण जन्मदर्ता, बिद्यालय शान्ति क्षेत्र, पुर्ण साक्षर लगायतका बालमैत्री स्थानिय शासन सुचक पुरा गरि वडालाई बालमैत्री वडा घोषणा गर्न पहल गरिने चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष निरक शाहीले बताए । अपाँगता भएका सवै बालबालिकाहरुलाई अपाँगता परिचयपत्र प्रदान गरि सहायता समाग्री सहित जीवनोपयोगी सिप दिई अनिवार्य बिद्यालय भर्ना गर्न पहल गरिनुका साथै आधारभूत तह उमेर समुहका सवै बालबालिकाहरुलाई विद्यालय भर्ना गर्नुका साथै अनुगमन प्रणालीलाई ब्यवस्थित गर्ने गुरास गाउँपालिका वडा न. ६ का वडा अध्यक्ष हेम बहादुर वलीले बताए ।
यस्तै बिद्यालय तथा समुदायस्तरमा बिपद् ब्यवस्थापनका क्रियाकलापहरु संचालन गर्ने,जोखीम परिस्थितिमा रहेको बालबालिकाहरुको संरक्षणका लागि बालहित कोषको स्थापना गर्ने, वडामा भएका सबै बालश्रमिक बालबालिकाहरुको लगत संकलन गरि उनीहरुलाई पुर्नस्थापना गर्ने तथा बडा स्तरमा निर्माण हुने बिभिन्न भौतिक पुर्वाधारहरुलाई बालमैत्री बनाउने वडा अध्यक्षहरुले प्रतिबद्धता गरिएको चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष रंगबहादुर तामांङ्गले बताए । उनले जिल्ला सदरमुकाममा गरिएको प्रतिबद्धताहरु कार्यक्षेत्रमा गई व्यवहारमा लागु गर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका कार्यवाहक प्रमुख बालकृष्ण केसीले जिल्लामा सबै स्थानीय तहहरुलाई बाल मैत्री बनाउनका लागि निर्वाचित जनप्रतिनीधिहरुलाई आग्रह गरेका छन् । यस्तै महिला तथा बालबालिका कार्यालय दैलेखका महिला विकास अधिकृत पवित्रा पुरीले बालबालिको क्षेत्रमा स्थानीय तहहले लगानीको वातावरण सृजना गर्नुपर्र्ने बताइन् । उनले बालबालिका भविष्यका कर्णधार भएको भन्दै उनिहरुको अधिकारका लागि स्थानीय तहहरु चुक्न नहुने औल्याइन् । जिल्ला समन्वय समिति दैलेखद्धारा आयोजित अभिमुखिकरण कार्यक्रम महिला तथा बालबालिका कार्यालय दैलेखको समन्वय तथा सेभ द चिल्ड्रेन र सोसेक दैलेखको सहकार्यमा सम्पन्न भएको हो ।

प्रतिक्रिया