कर्णालीका सरकारी कार्यालयमा फेसबुक बन्द गर्न गृहकार्य सुरू

कर्णालीका सरकारी कार्यालयमा फेसबुक बन्द गर्न गृहकार्य सुरू

विहान १० देखि अपराहन्न ४ बजेसम्म फेसबुक बन्द गरिने

सुर्खेत चैत्र ११- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारी कार्यालय अवधिमा फेसबुक बन्द गर्न गृहकार्य थालेका छन् । सुर्खेतमा रहेका सरकारी र नीजि स्वामित्वमा रहेका इन्टरनेट सेवा प्रदायकहरुसंग अनौपचारिक रुपमा कार्यालय अवधिमा कसरी फेसबुक सञ्चालनमा रोक लगाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका हुन् । सुर्खेतमा नेपाल टेलिकम, वल्र्डलिंक, सुविसु, टेक माइण्ड र सुर्खेत केवल नेटले इन्टरनेट सेवा दिँदै आएका छन् ।

इन्टरसेवा प्रदायकका प्रमुखहरुसंग आईतबार विहान कार्यालयमा बोलाएर मुख्यमन्त्री शाहीले छलफल गरेका छन् । भेटमा शाहीले जनतासंग सरोकार राख्ने सबै सरकारी कार्यालयमा फेसबुक सञ्चालनमा रोक लगाउने विषयमा जानकारी लिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सुरेश पहाडीले बताए ।मुख्यमन्त्रीको भेटमा इन्टरनेट सेवा प्रदायकका प्रमुखहरूले आधिकारीक पत्र मागेका छन् । मुख्यमन्त्री कार्यालयले पत्र पठाए कार्यालय अवधिमा फेसबुक सञ्चालनमा रोक लगाउन कुनै अप्ठेरो कार्य नभएको उनीहरूले बताएका थिए ।मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव पहाडीका अनुसार मुख्यमन्त्रीले ल्याएको यो योजना पहिलो चरणमा मुख्यमन्त्रीको कार्यालयसहित मन्त्रालयहरुमा लागु हुनेछ । ‘अब विहान १० बजेदेखी साँझ ४ बजेसम्म कार्यालय अवधिमा फेसबुक चलाउन पाइने छैन’ पहाडीले भने,–‘सोमबार नै मुख्यमन्त्री कार्यालयले सबै इन्टरनेट सेवा प्रदायक कार्यालयलाई आधिकारीक पत्र पठाएर फेसबुक नचल्ने बनाउने छन् ।’

केही दिन अघि मात्रै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका सरकारी कार्यालय र विद्यालयहरुमा कार्यालय सञ्चालन अवधिमा फेसबुक बन्द गर्ने अभिव्यक्ति दिएका थिए । तत्काल कार्यान्वयनका लागि शाहीले सुर्खेत आएपछि यसलाई प्रभावकारी रुपमा अगाडी बढाउन गृहकार्य थालेका हुन् । सुर्खेत बाहिर रहनु भएका मन्त्रीहरु आजसम्म सुर्खेत आउने र भोली ९सोमबार० यस विषयमा थप छलफल हुने प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिईन् ।उनले पहिलो र दोस्रो चरण गरेर कुन–कुन कार्यालयमा कसरी फेसबुक सञ्चालनमा रोक लगाउन सकिने भन्ने विषयमा छलफल गर्ने र तत्काल कार्यान्वय गरिने बताईन् ।स्रोतका अनुसार सरकारी कार्यालयमा कार्यरत कर्मचारीले जनताको कामभन्दा सामाजिक सञ्जाल फेसबुकमा बढी अभ्यस्त हुन थालेपछि मुख्यमन्त्री आक्रामक बनेका हुन् ।

प्रतिक्रिया