‘बिचरा’ पुरुष !

‘बिचरा’ पुरुष !

म बारम्बार सोच्ने गर्छु, ‘साँच्चै वर्षौंदेखि पुरुषलाई खेतबारीमा जोत्ने गोरुजस्तो बनाइएको तथ्य सबै पुरुष जातिलाई थाहा होला कि नहोला ?’

काठमाडौँ — भर्खरै मेरो एक केटा साथीको बिहे भयो । उमेरले ३५ नाघेका ती साथीकी बेहुलीको उमेर भने २२ वर्ष अर्थात केटा र केटीको उमेरमा १३ वर्षको अन्तर । तर हाम्रो समाजमा बिहे गराइँदा मनसँग मन मिलाइन्न । बरु जात, गोत्र, वर्ग, धनसम्पत्ति हेरेर बिहे गरिन्छ/गराइन्छ । सम्पत्ति र जातमा चित्त बुझे मन नमिले पनि बिहे हुन्छ । जात र गोत्र मिलेकै आधारमा अनमेल लगनगाँठो कसिएका हजारौं उदाहरण हाम्रा अघि छरपस्ट छँदै छन् ।विवाह समारोहको म सामान्य जन्ती थिएँ । उमेरले साढे तीन दशक काटेको भएर होला, निधार र गालामा देखा परेको चाउरीले बेहुलाको सुन्दरतामा ह्रास आएको थियो । कानको छेउछाउमा देखा परेका सेता कपालले केटो झनै परिपक्व देखिन्थ्यो तर उसको तुलनामा केटी भने एकदम कोमल देखिन्थिन् । शारीरिक व्यायाम नभएर हो वा दौरासुरुवाल साँघुरो भएर, दुलाहाको पुट्ट परेको भुँडीमा जन्तीका आँखा बारम्बार एकोहोरिएको अन्दाज सबैले गरे । यस्ता जोडा नमिलेको दुलादुलहीको बिहे बारम्बार देख्न पाइन्छ जब हाम्रोतिर बिहेको लगन सुरु हुन्छ । हुन त मन मिले खासै फरक पर्दैन ।

यो लेख तयार पार्दा म बारम्बार त्यही मेरो केटो साथीलाई सम्झिरहेछु । अब ऊ मरेरै भए पनि नवविवाहिताको रहर पूरा गर्न लागिपर्छ । सम्भवत: चाँडै जन्म लिने बालबच्चाको रहर पूरा गर्न ऊ कसिन्छ । शारीरिक मात्र होइन, मानसिक सबैजसो श्रमको उचाइमा अब उसले पाइला टेक्नैपर्छ । ऊ जागिरे हो भने हाकिम रिझाउनैपर्छ, ऊ सुरक्षागार्ड हो भने खुट्टाको जुत्ता फाट्ने गरी ‘सल्युट’ ठोक्नैपर्छ । सिपाही भए बन्दुकको नालमा निदाउनैपर्छ । किसान हो भने खेतबारीमा भिड्नैपर्छ । ऊ मजदुर हो भने पसिनाको आहालमा डुबेर भारी बोक्नैपर्छ । पुरुषले नै अगुवाइ लिएको यो समाज पुरुष जातिसँग यति अनुदार छ कि कुनै दिन वा कुनै पल उसलाई सार्वजनिक रूपमा धक खुलाएर रुनसमेत दिँदैन ।

ऊ घरमूली हो । उसलाई सदियौंदेखि त्यही स्थान दिइएको छ । वंश, गोत्र, थर या परिवारको मूल जिम्मेवारी उसैले कायम राख्नुपर्छ । तैपनि के त्यस्तो तत्त्व छ पुरुषसँग, ऊ प्राय: हार मान्दैन । यही आलोकमा म ऊ मात्रै होइन, प्राय: समाजका पुरुषलाई ‘बिचरा’ देख्छु । किनभने मसँग केही यस्ता तथ्य छन्, जसलाई नियालेर हेर्दा ती बिचरा नै देखिन्छन् । यसलाई अन्यथा अर्थ नलगाइयोस् ।

मलाई पुरुषविरोधीका रूपमा व्याख्या नगरियोस् । म जान्दछु, अर्बौं प्राणीमध्ये एक पुरुष प्राणीकै कारण मैले पनि यस धर्तीमा जन्म लिन पाएकी हुँ । मलाई यस्तो लाग्छ– म कुनै पुरुषको ठाउँमा हुन्थे भने वंश, गोत्र, थर या परिवारको मूल पद पाउने लोभमा म फस्दिनथेँ । बरु नेपाल, भारतलगायत दक्षिण एसियाली समाजले पुरुषलाई एउटा ‘अदृश्य धम्की’ मा बाँधेर राखेको गोप्य कुराको खुलासा गर्थें अनि ‘अदृश्य धम्की’ विरुद्ध बोल्ने सामथ्र्य राख्थेँ । युगौंदेखि, ‘तँ मर्द होस्, तँ पुरुष होस्, तेरो जिम्मेवारी परिवारको पालनपोषण, बिहाबारी र सुरक्षाको हो । तैंले जन्माउन लगाएको बथान अर्थात बालबच्चाको मूल संरक्षण र व्यवस्थापनको कुनै पनि कमजोरीको जिम्मेवार तँ आफैं होस्’ भन्ने अघोषित दासताविरुद्ध म आवाज उठाउँथेँ ।

‘छोरो भएर पनि हेर के लाज नभाको होला’ भन्लान् भन्ने डरले पुरुष जातिलाई आँसु लुकाउन कसले सिकायो होला ? फेरि अवस्था कस्तो छ भने श्रीमतीको तुलनामा लोग्नेले कम पढेर हुँदैन, पुरुषले महिलाले भन्दा थोरै कमाएर हुँदैन । श्रीमतीले कुनै जागिर गरेकी छन् भने इज्जत धान्नकै लागि पनि पुरुषले उनले भन्दा धेरै कमाउने जागिर खानैपर्छ, खोज्नैपर्छ । नत्र त जोइटिङ्ग्रे † यति मात्र होइन, जोइका तुलनामा पोइ होचो हुनु पनि हुँदैन । बाँसका बोटजस्ता अग्ला केटा तिनका होचा श्रीमतीका लागि सुहाउँछन् तर होचा केटालाई अग्ला महिला पटक्कै सुहाउँदैन । महिला दुब्लाउँदा नराम्रा देखिन्नन् तर पुरुषले गमक्क मोटाउनैपर्छ ।

कहिलेकाहीं मेरो मनमा लाग्छ सम्भवत: यही अदृश्य र अप्रत्यक्ष सामाजिक ‘ताप’कै कारण धेरै युवा देश छाडेर अरबको रापमा बालुवा पेल्न तयार भएका होलान् । म बारम्बार सोच्ने गर्छु, ‘साँच्चै वर्षौंदेखि पुरुषलाई खेतबारीमा जोत्ने गोरुजस्तो बनाइएको तथ्य सबै पुरुष जातिलाई थाहा होला कि नहोला ?’

हुर्कंदै गरेकी केटीलाई समाजले पराइघर जानुपर्ने कुरा सिकाउँछ, यही सवालमा हुर्कंदो पुरुषलाई भने भोलि विवाह गरेर ल्याइने उही हुर्कंदो युवतीलाई पाल्नुपर्नेदेखि नमरेसम्म उसको जिम्मा लिनुपर्ने पनि सिकाइन्छ । फेरि पनि पुरुषवर्गसँग सोध्न मन लाग्छ– किन अनेक बेहोरेर महिलालाई पाल्नेदेखि पोल्नेसम्मको जिम्मा लिन खटिन्छ पुरुष ? किन उसले नभनेको, ‘म कसैलाई पाल्न सक्तिनँ, उनी आफैंले आफंैलाई पाल्नुपर्छ ।’ प्यारा पुरुषजन, तपाईंले आफैंले आफैंलाई पाल्न सक्ने केटी खोजेमा कुनै अमुक मेसिनझैं तपाईं अहोरात्र खटिनुपर्दैनथ्यो ।

अरबको तातो बालुवा होस् वा विदेशी हिउँका सहरहरूमा खटिनुपर्दैनथ्यो । पक्कै पनि चलिरहेको संस्कारले आर्थिक, सामाजिक र पारिवारिक विरासत पुरुषकै हातमा कायम त गराउला तर विवाह गरेपछि ल्याइएकी श्रीमती र उनीबाट जन्मेको सन्तानलाई आफ्नो थर दिन पाउने र आफू घरमूली हुन पाउने लोभमा आफ्नो जिन्दगी नै ‘कुर्वान’ गर्नुपर्ने कुरोचाहि साँच्चै दुखिया प्रचलन हो । मेरो यो लेखको आशय अब केटा मानिसले कामकाज छाडेर ‘बिन्दास’ जिउन पाउनुपर्यो भन्ने हुँदै होइन । बरु के हो भने संस्कारका नाउँमा जेजति भयो, त्यो गलत भयो, अब हामीले संस्कार बदलेर महिला र पुरुषलाई समान हैसियतको बनाउन लाग्नुपर्यो भन्ने चाहिँ हो ।

हिजो संस्कारका नाउँमा समाजले जिउँदै महिला जलाएकै हुन् । त्यो क्रुर अत्याचारको अन्त्य पनि भएकै हो । संस्कार त समय अनुकूल परिवर्तन हुँदै जाने कुरा हो । कसैलाई पनि फाइदा नपुग्ने संस्कारलाई अन्त्य गरेर नयाँ संस्कार बसाउन हामीलाई केले रोक्ने ?

प्रतिक्रिया