राष्ट्रियता नभए सिकाई गुणस्तर मान्न सकिन्न -भट्टराई

राष्ट्रियता नभए सिकाई गुणस्तर मान्न सकिन्न -भट्टराई


दैलेख, चैत २९ – नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद भट्टराईले राष्ट्रियता र स्वाधीनता नसिकाइएको शिक्षालाई गुणस्तरीय शिक्षा मान्न नसकिने बताएका छन् । नेपाल शिक्षक संगठनको ३९ औं वार्षिकोत्सवको अवसरमा आयोजित शैक्षिक गुणस्तरका लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो विचार राखेका हुन् ।
शिक्षकहरुले राजनीतिक गरेका कारण मात्र गुणस्तर खस्केको नभई राजनीतिक नेतृत्वको दूरदर्शिताको अभावमा आर्थिक, सामाजिक क्षेत्र समेत सही ढंगले चल्न नसकेको टिप्पणी गर्दै भट्टराईले शिक्षकका छोराछोरी मात्र सरकारी विद्यालय मात्र होइन सरकारी कोषबाट सुविधा लिने सबैलाई यो नियम लागू हुनुपर्ने सुझाव दिए ।
कार्यक्रममा प्रतिनिधिसभा साँसद पार्वती बिशुन्केले शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकहरुको प्रयत्नले मात्र संभव नभएको धारणा राखिन् । उनले अभिभावक र समाजको भूमिका अझ बढी प्रभावकारी हुने बताइन् । साँसद बिशुन्केले भनिन् ‘राम्रो गर्ने विद्यालय, शिक्षक तथा समुदायलाई पुरस्कार र गलत गर्नेलाई दण्ड गर्ने परिपाटी थालनी हुनुपर्छ ।’
पूर्व जिविस सभापति टेकबहादुर खाँणले स्थानीय आवश्यकता र रोजगार सिर्जना गर्ने प्राविधिक सीप सिकाउन सके आवश्यक रहेको बताए । अधिवक्ता खड्गबहादुर सिजापतिले शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकहरुको लगनशीलता नै प्रमुख आधार हुने धारणा राखे ।
कार्यक्रममा नेकपा एमालेका सचिवालय सदस्य सूर्यबहादुर शाहीले विद्यालय व्यवस्थापन समितिले योजना सञ्चालन वा आफन्तलाई जागिरे बनाउन नभई शिक्षक, विद्यार्थी र अभिभावकलाई सचेत गर्दै परिचालन गर्नुपर्ने सुझाव दिए ।
नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष पूर्णबहादुर खत्रीले जुन राजनीतिक दलले जहाँ जितेको छ, त्यहाँ उसकै अग्रसरतामा शैक्षिक विकासका काम गर्न प्रतिस्पर्धा गर्न आग्रहर गरे । पहिले अरुलाई दोष दिने प्रचलन थियो अव आफैले काम गरेर देखाउने अवसर आएको उनले बताए ।
नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष जीवराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षण पेशाका अनुभवी, सरोकारवाला लगायतले जिल्लाको शैक्षिक अवस्था र शिक्षण सिकाई उपलब्धी बढाउन सामुदायिक जिम्मेवारी विषयमा बोलेका थिए ।

प्रतिक्रिया