सिन्डिकेट तोडेरै छाड्छौं – मन्त्री यादव

सिन्डिकेट तोडेरै छाड्छौं – मन्त्री यादव

सुर्खेत, १२ वैशाख–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले यातायात व्यवसायीले दिएको आन्दोलनको धम्कीले सरकार नडराउने बताएका छन् । भूकम्प मापन केन्द्रको भवन उद्घाटन गर्न बुधबार सुर्खेत आइपुगेको मन्त्री यावले गाडी चलाउने ड्राइभरको कमी नहुने बताए । ‘हामी आफैँ पनि गाडी चलाउँछौं,’ उनले भने, ‘सिन्डिकेट तोड्न केही कसर बाँकी राख्दैनौं ।’

सरकारसँग पर्याप्त चालक रहेको भन्दै उनले आवश्यक परे आफू खलासीसमेत बन्न तयार रहेको बताए । ‘हामी जनताले दिएको म्याण्डेट पूरा गर्न सरकारमा गएका हौ,’ उनले भने, ‘जनताका पक्षमा काम गर्न ड्राइभर त के खलासी पनि बन्न सक्छौं ।’

मन्त्री यादवले सरकारको पहिलो उद्देश्य जनतालाई सहज सेवा दिने रहेको बताउँदै जनतालाई सेवा दिने सवालमा कसैबाट गल्ति भए हेरेर नबस्ने चेतावनी दिए ।

बहुदलपछि नेपालमा आर्थिक क्षेत्रमा खुला बजार नीति, उदारीकण र निजीकरणको गलत स्कुलिङले उद्योगधन्दा धरासयी बनाएको टिप्पणी उनले गरे । ‘गलत स्कूलिङका कारण उदारीकरण र खुला बजार नीतिले नेपालमा अरु देशको व्यापारिक थलो बनाएको र निजीकरणले राष्ट्रिय उद्योगधन्दा बेचेर खाने परीपाटी बस्यो,’ उनले भने, ‘म सानो हुँदा भारतमा टाँगा गाडीमा खाद्यान्न बेच्ने गरेका थियौं, तर अहिले सबैकुरा उतैबाट किन्नुपर्ने परिस्थिति आएको छ ।’

देशलाई समृद्ध बनाउन सबैले श्रम गर्नुपर्नेमा उनको जोड छ । ‘हामी जसले श्रम गरेका छौँ, त्यसलाई राम्रो नजरले नहेर्ने संस्कारमा हुर्किएका छौं,’ उनले भने, ‘अब त्यो सोच र संस्कारलाई बदल्न जरुरी छ ।’

मन्त्रालयले साना र ठूला उद्योग सञ्चालन गर्न गृहकार्य गरिरहेको मन्त्री यादवको भनाइ छ । ‘आयात रोक्ने र आन्तरिक उत्पादनलाई बढावा दिन साना, मझौला र ठूला उद्योग स्थापना गरेर जनताको आयस्तर उकास्नेखालका योजना ल्याउन लागिरहेका छौं,’ उनले भने, ‘कम्तिमा एक जिल्लालाई नमूना जिल्लाको रूपमा विकास गर्ने र त्यही मोडलमा देशलाई उद्योगमैत्री बनाएर लैजाने मन्त्रालयको योजना छ ।’

मन्त्री यादवले देशमा रहेका रुग्ण उद्योगहरूलाई सञ्चालनमा ल्याइने बताए । ‘देशमा रहेका धेरै उद्योगहरू खण्डहरमा परिणत भइसकेका छन्,’ उनले भने, ‘अब विस्तारै ती उद्योगहरूलाई सञ्चालन गर्ने गरी योजना बनाइरहेका छौं ।’

मन्त्री यादवले दैलेखको पेट्रोलियम पदार्थ उत्खनन र चौकुने सिमेन्ट उद्योगलाई सञ्चालन गर्ने बारेमा काम अघि बढाउने बताए । कर्णालीमा उद्योग धन्दाको बढावाका लागि मन्त्रालयले विभिन्न कार्यक्रमहरु तय गर्ने उनले बताए ।

उनले पार्टी एकतामा शंका नगर्न आग्रह गरे । ‘सुदृढ एकताका लागि सम्मानजनक रूपमा पार्टी एकता गर्न छलफल जारी छ,’ मन्त्री यादवले भने, ‘जनमतको सम्मान गर्न पनि पार्टी एकता हुनु जरुरी छ ।’

प्रतिक्रिया