३१ जिल्लामा सीडीओ फेरिए

३१ जिल्लामा सीडीओ फेरिए

काठमाडौं-वाम गठबन्धन सरकार निर्माण भएपछि पहिलोपटक मन्त्रालयले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ। यसअघि गृहले चैत १४ गते प्रमुख जिल्ला अधिकारी खाली रहेका ६ जिल्लामा प्रमुख जिल्ला अधिकारी पठाएको थियो। चितवनका प्रमुख जिल्ला अधिकारी नाराणप्रसाद भट्ट भक्तपुरको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा हुनुभएको छ। भक्तपुरका प्रजिअ द्रोण पोखरेललाई सर्लाहीको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ।

लामो समयदेखि गृह मन्त्रालयमा हाजिर गराइएका सहसचिव लोकनाथ पौडेललाई पर्साको प्रमुखका रूपमा सरुवा गरिएको छ। आकर्षक जिल्ला मानिने झापामा जनकराज दाहाल, रूपन्देहीमा उदयबहादुर राना र काभ्रेमा कृष्णबहादुर राउतको सरुवा भएको छ। मन्त्रालयले सहसचिव प्रजिअ हुने केही जिल्लामा उपसचिवलाई कामुको जिम्मेवारीसहित सरुवा गरको छ।

गृह मन्त्रालका उपसचिव श्रवणकुमार तिमिल्सिनालाई इलामको कामु प्रजिअका रूपमा सरुवा गरिएको छ। त्यस्तै उपसचिव कोषहरि निरौलालाई स्याङ्जा, भविश्वर पाण्डेलाई गुल्मी, शेषनारायण पौडेललाई बाग्लुङको कामु प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ।

हाल धनुषाका सीडीओ रहेका शिशिर पौडेललाई मुस्ताङ सरुवा गरिएको छ। पर्वतका सीडीओ राजेश पन्थी कास्कीमा सरुवा गरिएको छ। मुस्ताङका सीडीओ रामचन्द्र तिवारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा सरुवा गरिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई सीडीओका रूपमा पर्वत सरुवा गरिएको छ।

कारागार व्यवस्थापन विभागका निर्देशक लीलाधर अधिकारीलाई म्याग्दीको सीडीओको जिम्मेवारी दिइएको छ। म्याग्दीका सीडीओ कृष्णप्रसाद अधिकारीलाई कारागार व्यवस्थापनमा सरुवा गरिएको छ। बाजुराका सीडीओ लुकबहादुर क्षत्री सहायक सीडीओका रूपमा काठमाडौं सरुवा भएका छन्।

सहसचिव र उपसचिव गरी ६० जनाको सरुवा भएको छ। सरुवा हुनेहरूमा ३१ सहसचिव र २९ उपसचिव छन्। तराई मधेसका जिल्लामा सहसचिव सीडीओ हुने प्रावधान छ। पहाडी एवं हिमाली जिल्लामा उपसचिव सीडीओ हुने व्यवस्था छ।

प्रतिक्रिया