लिंग पहिचान गरेर गर्भपतन : घट्दै छोरीको संख्या

लिंग पहिचान गरेर गर्भपतन : घट्दै छोरीको संख्या

Nepal Live

लिंग पहिचान गरी गर्भपतन गराउनू नहुने सम्बन्धी सचेतना कार्यक्रम

सुर्खेत– गुर्भाकोट नगरपालिका लेखफर्साकी नाम परिवर्तन (रिता) ले छोरा जन्माउन आठ पटकसम्म गर्भपतन गरिन्। चार छोरी जन्मिएपछि उनले गर्भको लिंग पहिचान गर्न थालेकी थिइन्।

रिताले गर्भपतन गराउने औषधि मात्रै खाइनन्, घरेलु उपाय पनि अपनाइन्। बाख्राको पिसाब खाइन्, कुभिन्डोको तरकारी खाइन् र गहत उमालेर खाइन्। ‘मैले छोरी जन्माएकै कारण धेरै शारिरीक तथा मानसिक तनाव सहनुपर्यो’ रीताले भनिन्, ‘तर, पनि मैले छोरा जन्माउन सकिनँ, अहिले त आफैं शारिरीक रुपमा कमजोर छु।’

गर्भको लिंग पहिचान गरेर गर्भपतन गर्नु अपराध हो। तर, सुर्खेतका महिलाले नेपालगन्ज र भारतसम्म पुगेर गर्भपतन गर्नु सामान्य भएको छ। रिता पनि गर्भपतन गर्न नेपालगन्ज र भारतसम्म पुगेकी थिइन्।

सुर्खेतकै पन्चपुरी नगरपालिका वावियाचौरकी नाम परिवर्तन (माया) ले छोराको आसमा पाँच छोरी जन्माइन्। ‘कति छोरी मात्रै जन्माउनु, लिंग पहिचान गरेर गर्भपतन गराउन पाइन्छ भनेर चेक गर्न नेपालगन्ज गएँ,’ उनले भनिन्, ‘गर्भमा छोरी छ भन्ने थाहा पाएपछि गर्भपतन गरें।’ छोरा नभएपछि घरपरिवार र समाजले अपुतो भन्ने गरेको दुखेसो उनले पोखिन्। छोरा नभएपछि सबैले हेला गर्ने उनको भोगाइ छ।

लेखगाउँ सुर्खेतकी नाम परिवर्तन (देवकली) ले पनि छोराको चाहानाले गर्दा २ छोरीपछि ३ पटक गर्भपतन गरिन्। उनले नेपालगन्जमा गएर ३ पटकसम्म गर्भपतन गरेको बताइन्। उनका अनुसार गाउँमा धेरैजसो नेपालगन्ज गएर गर्भपतन गर्छन्। ‘मैले ३ पटकसम्म गर्भपतन गर्दा पनि छोरा जन्माउन सकिनँ, छोरा नजन्माएपछि घरपरिवाबाट अर्कै व्यवहार हुने,’ उनले दुःख पोखिन्, ‘छोरा जन्माउन श्रीमान्ले अर्को विवाह गर्छन् कि भन्ने डरले गर्भपतन गरेकी हुँ।’

छोरा नजन्माएकै कारण घाटगाँउकी नाम परिवर्तन (सुन्तली) ले आफ्नो गाउँ नै छोडेर बजार आउनुपर्यो। ५ छोरी लिएर बजार आएपछि उनले एक छोरा जन्माइन्। ‘श्रीमान्ले भन्दा पनि घर परिवारका सदस्य र समाजका अरु मान्छेले बढी हेला गर्दा रहेछन्,’ उनले अनुभव सुनाइन्, ‘अहिले छोरा जन्माएपछि घरपरिवार र समाजले हेर्ने दृष्टिकोण नै भिन्न भएको छ।’

सुर्खेत वीरेन्द्रनगरकी नाम परिवर्तन (विष्णु) ले छोराको आशामा ३ छोरी जन्माइन्। सातौं पटक गर्भवती गरेपछि मात्र उनले छोरा जन्माइन्। नेपालगञ्ज हेल्थ केयर सेन्टरमा प्रत्येक पटक ५ हजार रुपैयाँका दरले तीन पटकमा १५ हजार रुपैयाँ तिरेर लिंग पहिचान गरेको उनले बताइन्। ३९ वर्षको उमेरमा सातौं पटक गर्भवती हुँदा पुनः लिंग पहिचान गरिन्, यस पटक छोरा भएकाले जन्माइन्।

बाबियाचौरकी नाम परिवर्तन (सुनिता) को २ छोरी छन्। पहिलो छोरी जन्माउँदा उनलाई सुत्केरी भएको केही दिनमै छोरी जन्माएको कारण सासुले चामल केलाउन पठाइन्। त्यसपछि उनको पाठेघर खस्ने समस्या शुरु भयो। उनलाई अर्को पटक गर्भवती हुदाँ छोरा जन्मिछ भन्ने लागेको थियो तर छोरी नै भयो। उनी झन् निराश भइन्। यसपछि घरपरिवारको दबाबमा उनले ४ पटकसम्म लिंग पहिचान गरेर गर्भपतन गरिन्।

गर्भपतनको असर

पटक–पटक लिंग पहिचान गर्दा महिलाको स्वास्थ्यमा समेत असर पर्ने गरेको छ। आठ पटकसम्म गर्भपतन गरेपछि रिताको पाठेघर खस्यो। अहिले उनको पाठेघरमा रिङ राखिएको छ। ‘पहिले छोरा जन्माउन गर्भपतन गरें, अहिले आफ्नै स्वास्थ्यमा असर परेको छ,’ उनले भनिन्, ‘अहिले मलाई तत्लो पेट दुख्ने र शरीर कम्मजोर हुने समस्या छ। अब धेरै कमजोर भइयो केही गर्न सकिँदैन।’

सातौं पटक गर्भवती हुँदा छोरा जन्माउन सफल भएकोमा खुसी भए पनि अहिले रीताको शारिरीक र मानसिक अवस्था कमजोर छ। दुब्लो शरीर, उदास अनुहारमा उनले भनिन्, ‘३ वटा छोरी भएकै कारण गर्भपतन गराएँ, अहिले सम्झँदा पीडा र पश्चाताप हुन्छ।’

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निमित्त सुपरिटेन्डेन डा डम्बर खड्का कानुनको कडाइका साथ कार्यान्वयन नगरिँदा लिंग पहिचानपछि गरिने गर्भपतन बढ्दो क्रममा रहेको बताउँछन्। उनले औषधि सेवन गरेर गर्भपतन गर्दा अझ समस्या हुने बताए। गर्भपतन पछिल्लो समय केही डाक्टर तथा मेडिकल पसल चलाउनेहरुको पैसा कमाउने माध्यम भएको छ। ‘सरकारले लिंग पहिचान गरी अवैधानिक रुपमा गर्भपतन गर्ने गराउनेलाई जरिवाना, उनीहरुको प्रमाणपत्र रद्द गर्ने जस्ता कडा कानुन बनाउनुपर्छ,’ डा खड्काले भने, ‘हामीले समयमा नै यो मामिलामा चाँसो दिएनौं भने यसले भयावह समस्या ल्याउन सक्छ।’

प्रमुख महिला विकास अधिकृत जमुना पौडेल भन्छिन्, ‘गर्भको लिंग पहिचान गरेर छोरी भएकै कारणले गर्भपतन गर्नु महिलाको जन्मन पाउने मानव अधिकारको उल्लंघन हो।’ उनले गरिब तथा विपन्न परिवारभन्दा हुने खाने र शिक्षित धेरै व्यक्तिले गर्भपतन गर्ने गरेको बताइन्। भनिन्, ‘विपन्न परिवारभन्दा पनि हुनेखानेले सम्पत्ति र सुरक्षाका लागि छोराको चाहना राख्ने गरेका छन्।’

यसको गम्भीर परिणाम औंल्याउँदै अधिकृत पौडेलले भनिन्, ‘महिला घरपरिवार र समाजबाट सुरक्षित हुन सकेका छैनन्, त्यति मात्रै होइन, उनीहरु आमाको कोखमा समेत असुरक्षित छन्।’ जसले गर्भमा नै बालिकाको हत्या गर्छ उसलाई ज्यान मार्ने अपराधमा कारबाही चलाउनुपर्छ भन्ने उनको तर्क छ।

छोरीको संरक्षणमा काम गर्दै आएकी संगिता वली छोराको चाहना बढी हुने हुँदा समाजमा यो समस्या आएको बताउँछिन्। ‘समाजमा लिंग पहिचान गरेर खुलेआम गर्भपतन गर्ने काम भइरहेकोछ,’ उनले भनिन्, ‘तर कानुन कार्यान्वयन हुन सकेको छैन।’

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले यो समस्याप्रति चिन्ता व्यक्त गरे। उनले भने, ‘लिंग पहिचान गरेर गर्भपतन गर्नेक्रम बढ्दै गएकाले छोरीको संख्या घढ्दो छ।’
नगरपालिकाले सुर्खेतमा छोरी बचाउ अभियान सुरु गरेको छ। छोरी जन्मिए छोरीको नाममा बैंकमा खाता खोलिदिने अभियान सञ्चालन गरेको छ। मेयर सुवेदी भन्छन्, ‘वीरेन्द्रनगर कार्यपालिकाले छोरी बचत खाता सञ्चालनमा ल्याएको छ।’

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याकं अनुसार सुर्खेतमा २०७२/०७३ मा ३ हजार १ सय १८ छोरी जन्मिँदा ३ हजार ५ सय ३१ छोरा जन्मिएका थिए। त्यस्तै २०७३/०७४ मा छोरीको संख्या ३ हजार २ सय ३९ र छोराको संख्या ३ हजार ७ सय थियो।

‘प्राकृतिक रुपमा छोरा र छोरीको संख्या बराबरी अथवा छोराको संख्या छोरीको अनुपातमा कम हुनुपर्छ,’ जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा अधिकृत बसन्तमान श्रेष्ठ भन्छन्, ‘तथ्यांक हेर्दा लिंंगको पहिचान गरेर गर्भपतन भइरहेको सहजै अनुमान लगाउन सकिन्छ।’ छोराको आशमा छोरीहरुको गर्भमा नै हत्या गरिने गरेको कारण सुर्खेतमा छोरीहरुको संख्या दिनप्रति दिन घट्दै गएको श्रेष्ठको भनाइ छ। उनी भन्छन्, ‘पछिल्लो समय छोरीको संख्या घट्दै गएको छ। यो ठूलो समस्या हो, बेलैमा ध्यान दिनुपर्छ।’  स्रोत– Nepal Live

 

 

प्रतिक्रिया