अनाथालयमा अभिभावक भएका बालबालिका

अनाथालयमा अभिभावक भएका बालबालिका

रुकुम –अनाथालय भनेको अभिभावक बिहिन बालबालिकाको संरक्षण गर्ने संस्था भनेर चिनिन्छ । अर्थात अनाथ बालबालिकालाई पठनपाठन एवं उनीहरुको पालनपोषणको काम गर्ने भनेर अनाथालयलाई चिनिन्छ । तर रुकुममा यस्तो अनाथालय भेटियो जुन अनाथालयमा रहेका ३३ जना बालबालिका मध्य २९ जना बालबालिकाका अभिभावक छन् ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका बागबजारमा रहेको नरसिंह हिमाल अनाथ बालगृहमा रहेका ३३ जना बालबालिका मध्य २९ जनाको अभिभावक रहेको भेटिएको बालअधिकार अधिकृत मानबिर ओलीले बताए । बुधबार जिल्ला बालकल्याण समिती, मुसिकोट नगरपालिका, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला शिक्षा इकाईको संयुक्त टोलीले सो बालगृहको अनुगमन गर्दा यस्तो रहस्य भेटिएको हो ।

मुसिकोट नगरपालिकाकी उपप्रमुख प्रेमकुमारी सुनार के.सीको नेतृत्वमा गएको संयुक्त टोलीले अनुगमन गरेको हो । अनाथालयमा राख्नुपर्ने बालबालिका नराखेर अभिभावक भएका बालबालिका राखेकोले यस्तो संस्थालाई कानुनी कार्वाही गरिने बालअधिकार अधिकृत ओलीले बताए ।

जुम्लाबाट मात्र २४ जना अभिभावक भएका बालबालिका रुकुम ल्याएको भेटियो

जुम्ला जिल्लाको पातारासी गाँउपालिकाबाट मात्र २४ जना अभिभावक भएका बालबालिकालाई ल्याइएको छ । एक बर्ष अघि देखी रुकुममा संचालनमा रहेको सो बालगृहले कानुनी प्रक्रिया पुरा गरेर संचालन गरेको भएपनि कस्ता बालबालिकालाई बालगृहमा राखिने भन्नेबारे मापदण्ड पुरा नगरेकोले सोही अनुसार कार्वाही गरिने अनुगमन टोलीले निष्कर्ष छ ।

जिल्ला बालकल्याण समितीले पटक जिल्लाभर रहेका बिभिन्न बालबालिकासँग सम्बन्धीत संघसंस्थाहरुको अनुगमन गरिरहेको छ । सो बालगृहको पनि पटक पटक उनीहरुले पाउने शिक्षा र खानपिनको अवस्थाको बारे अनुगमन गरेको थियो । तर यस पटक बालबालिकाको घरको अवस्था अध्ययन गर्दा अभिभावक भएर पनि बालगृहमा ल्याइएको पत्ता लागेको हो ।

२९ जना मध्य २४ जना बालबालिका जुम्ला र ५ जना बालबालिका रुकुमका रहेका छन् । जसमा ४ जना बालबालिका मात्र अभिभावक बिहिन छन् । अभिभावक भएका ति बालबालिकालाई आफन्तको जिम्मा लगाउने र सो संस्थालाई कार्वाहीको दायरामा ल्याइने बालअधिकार अधिकृत ओलीले बताए ।

प्रतिक्रिया