प्रतिपक्ष सांसदले गरे कर्णालीको सदन अवरुद्ध

प्रतिपक्ष सांसदले गरे कर्णालीको सदन अवरुद्ध

सुर्खेत-विपक्षी दल नेपाली कांग्रेसका सांसदले रातो किताव माग गरेपछि कर्णाली प्रदेश सभा वैठक अवरुद्ध भएको छ। बजेट विनियोजन भएको एक महिना वितिसक्दा समेत रातो किताव नपाएपछि विपक्षि दलका सांसदले बिहीबार सदन अवरुद्ध गरेका हुन्।कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७४/०७५ का लागि गत वैशाख १६ गते बजेट विनियोजन गरेको थियो।विहीबार बसेको दोस्रो अधिवेशनको नवौं वैठकमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारले बजेट विनियोजन गरेको ४५ दिन वितिसक्दासमेत रातो किताव उपलव्ध नगराएको गुनासो गरे।

सांसदहरुलाई बजेट शिर्षकबारे जानकारी नदिई मन्त्रीहरुले आफुखुसी बजेट खर्चिएको उनले आरोप लगाए। ‘बजेट आएको ४५ दिन भयो, रातो किताव पाइएको छैन्’ उनले भने,‘मन्त्रीले स्वार्थका नाममा बजेट बाढिएको छ, रातो कितावमा नभएका कसरी खर्च हुँदैछ।’उनले कर्णाली–रारा पर्यटन वर्ष–२०७५ को उद्घाटनका क्रममा भएको भ्रष्टाचार भएको आरोप लगाउँदै खर्च विवरण माग गरेका थिए। ‘पर्यटन वर्ष कार्यक्रम उद्घाटन गर्दा सरकारले ४० लाख विनियोजन गर्यो, खर्च ७० लाख हो की करोड भन्ने आइरहेको छ’ उनले भने, ‘हामीले सत्य थाहा पाएका छैनौं, अव रातो किताव नआएसम्म र कर्णाली–रारा पर्यटन वर्षको खर्च नआएसम्म यो सदन अगाडी बढ्दैन्।’

विपक्षि दलका सांसद शाहीले सदन अवरुद्ध गर्न आग्रह गरेपछि कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले सदनमा उठेका प्रश्नहरुबारे ध्यानाकर्षण भएको बताएका थिए। ‘मागलाई सम्वोधन हुन्छ, सदनको ध्यानाकर्षण भएको छ’ उनले सांसदलाई बस्न आग्रह गर्दै भने, ‘सरोकारवालासँग छलफल गरिने आवश्यक जवाफ खोजिने छ।’ पर्यटन वर्षको खर्च विवरण जानकारी पाउनुपर्ने अडान राखि सदन अवरुद्ध गरेपछि प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ।

 

प्रतिक्रिया