बच्चा जन्माउन नसक्दा आमा र नवजात शिशुको मृत्यू

बच्चा जन्माउन नसक्दा आमा र नवजात शिशुको मृत्यू

अमर सुनार
दैलेख, असार ५ – दैलेखको पिपलकोटमा बच्चा जन्माउन नसकेको कारण आमा र नवजात शिशुको आज मृत्यूभएको छ । सुत्केरी व्यथाले च्यापेपछि स्वास्थ्य चौकी लैजादै गर्दा सुँगुरखाल भन्ने ठाउँमा पुगेको बेला मृत्यू भएको स्वास्थ्यकर्मीले बताएका छन् ।
मृत्यू हुनेमा आठबीस नगरपालिका वडा नं. ५ पिपलकोट तोलीचाखाकी १५ वर्षीया कृष्णा कसेरा र उनको नवजात छोरा रहेको पिपलकोट स्वास्थ्य चौकीका प्रमुख अहेव रामबीर यादवले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकी नपुग्दै मृत्यू भएको भन्ने जानकारी पाएपछि अवस्था जान्न त्यहाँ पुग्दा ‘आमा र नवजात शिशुको मृत्यू भइसकेको थियो’ पिपलकोट स्थास्थ्य चौकीका अनमी दुर्गाकुमारी शर्माले भन्नुभयो ।
‘नियमित स्वास्थ्य चेकअपमा आउँदा आमाको उचाईं र तौल एकदमै कम अर्थात ४३ केजी मात्र भएको कारण जोखिम हुने भएकोले सुर्खेत लैजान भनेकै थियौं, तर व्यथा लागिसकेपछि पनि घरमै सुत्केरी गराउन प्रयत्न गरेका र धेरै ढिला मात्र स्वास्थ्य चौकी ल्याउन लाग्दा मृत्यू भएको रहेछ’ अनमी शर्माले भन्नुभयो ।
पहिलो कारण बालविवाह र दोश्रो परिवार नियोजनका साधन प्रयोग गर्न समेत वेवास्ताले सानै उमेरमा गर्भवती भएकै कारण कृष्णाको मृत्यू भएको स्थानीय सामाजिक कार्यकर्ता डिलसरा पुलामीको भनाई छ । कृष्णाका श्रीमान् १७ वर्षीय प्रकाश कसेरा भारतमा मजदूरी गर्न जानुभएको छ ।
पिपलकोट तोलीचाखामै माइती भएकी कृष्णा र प्रकाश कसेराबीच डेढ वर्ष अघि भागी विवाहलाई समुदायले रोक्न खोज्दा परिवारजनले सहमत जनाएका थिए । दलित र जनजातिको बाहुल्यता रहेको दैलेखको विकट गाउँ पिपलकोट अधिक बालविवाह समस्या भएको गाउँ हो ।

प्रतिक्रिया