नेपालमा धान दिवश

नेपालमा धान दिवश

आज असार पन्ध्र । नेपालमा असार पन्ध्रलाई बिषेश हर्सोउल्लासका मनाइन्छ । यो दिन दहि चिउरा खाने दिनका रुपमा पनि सम्झिने गरिन्छ । विगत १५ वर्ष देखि यता असार १५ को महत्व बढ्नुको अर्को पनि छ , त्यो हो धान दिवश । असार १५ गत्तेका दिन कृषि सँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरुले देशका बिभिन्न ठाँउमा बिभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ धान दिवश मनाउने गर्दछन । यो बर्ष “धान उत्पादनमा बृद्धि, राष्ट्रको समृद्धि” नारा तय गरी देशैभर आज पन्ध्रौ धान दिवश मनाइदैछ । वि.स. २०६१ सालमा विश्वका ४३ राष्ट्रहरुले सँयुक्त राष्ट्र सँघलाई अन्र्तराष्ट्रिय धान वर्ष घोषण गर्न अनुरोध गरेका थिए । सँयुक्त राष्ट्र सँघले धान वर्ष घोषणा गरेपछि २०६१ साल मङ्सिर २९ गत्ते मन्त्रिपरिषदले निर्णय गरी २०६२ साल असार १५ गत्ते बाट नेपालमा धान दिवश मनाउन थालिएको हो ।
धान घाँसेबाली परिवारमा पर्ने,न्यानो हावापानी चाहिने, पानीको बढी आवश्यत्ता पर्ने बाली हो । विश्वका करिब तीन अर्ब पचास करोड जनसङख्याको प्रमुख आधार धान हो । एसिया महादेशलाई त धानको बाँस्केट भन्ने गरिन्छ , किनभने नब्बे प्रतिशत भन्दा बढी धान उत्पादन र खपत एसियाली देशहरुमा हुन्छ । विश्वमा सबैभन्दा धेरै धान उत्पादन हुने देश चीन हो ।

धानले नेपालको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा करिब ७ प्रतिशत हिस्सा ओगटेको छ भने कुल कृषि ग्राहस्थ उत्पादन (एजिडिपी) मा २१ प्रतिशत हिस्सा ओगटेको छ । यसले कुल खाद्यान्न उत्पादनमा ५५ प्रतिशत योग्दान दिएको छ । आर्थिक वर्ष २०७३/७४ मा पन्ध्र लाख बाउन्न हजार चार सय उन्नानसत्तरी हेक्टर क्षेत्रफलमा बाउन्न लाख तिस हजार तिन सय सत्ताइस मेट्रिक टन धान उत्पादन भएको सरकारी तथ्याङक छ । जून अघिल्लो बर्षको तुलनामा एक लाख उनानब्बे हजार पाँच सय एकसठठ्ठी हेक्टर क्षेत्रफल र नौ लाख एकतिस हजार दुई सय उन्नानपचास मेट्रिक टन उत्पादन बृद्धि भएको देखिन्छ । चालिसको दशकमा प्रति हेक्टर एक हजार नौ सय छयासी के.जी.उत्पादकत्व भएको धान सत्तरी दशकसम्म आइपुग्दा तीन हजार के.जी. प्रति हेक्टर उत्पादकत्व छ ।
तेत्तिस सालमा भन्सार नाकामा आठ वटा धान निर्यात गर्ने कम्पनी स्थापना भएका थिए । त्यो समयमा नेपालबाट भारत बँगलादेश लगाएतका देशमा धान निर्यात हुन्थ्यो । धान निर्यात गर्ने कम्पनीहरु अठतिस सालमा बन्द भए त्यसको दुई बर्षपछि अर्थात चालिस को दशकबाट नेपालमा धान आयात हुन थाल्यो । आयातको क्रम बढ्दै गएर आ.व.२०७३/७४ मा २० अर्ब भन्दा बढीको धान नेपालमा धान आयात भएको तथ्याङक छ ।
हामी भन्ने बेला कृषि प्रधान देश भन्छौ तर धान मात्रै २० अर्बको आयात भएको छ । बिगत १० वर्ष देखी हालसम्म धान खेती हुने क्षेत्रफल, उत्पादकत्व बढे पनि धानको आयात पनि बढीरहेको छ ।

यसमा बिभिन्न कारक तत्वहरु छन । काम गर्ने युवाहरु बिदेश पलायन भएका छन । गाँउका खेत बाँझो छ । श्रीमान विदेश भएका अधिकाँस श्रीमति कोठा भाँडामा लिएर सहर मा बसेका छन । उनीहरु विहान साँझ खाने भातको लागी चामल आयात गर्न परेका छ । यसले एकातीर धान उत्पादन कम भएको छ भने अर्कातीर धान आयात मात्रा बढाईदिएको छ । त्यस्तै अर्का महत्वपूर्ण कारण तराईका प्रशस्त धान उत्पादन हुने जमिनलाई खण्डीकरण गरी घडेरीमा परिणत गरिएको छ । प्राकृतिक प्रकोप (बाढी पहिरो खडरी अति बर्षा) पनि धान उत्पादनमा कमी ल्याउने कारक तत्व बनेको छ । कृषि उत्पादनमा बृद्धि गर्न प्रबिधिको पनि ज्यादै ठलो भूमिका हुन्छ । नेपालमा प्रबिधी अनुसन्धान, बिकास र प्रसार बीचको सम्बन्ध प्रभाबकारी नभएको होकी जस्तो देखिन्छ । नेपालमा कृषि सम्बन्धि अनुसन्धान गर्ने आधिकारीक सरकारी निकाय नेपाल कृषि अनुसन्धान परिषद् ले बिकास गरेका धानका बिभिन्न जातहरु कृषकस्तरमा प्रयोग हुन सकेको छैन । धान उत्पादनमा महत्वपूर्ण मानिएको धान सघनीकृत प्रणाली (एसआरआई) नेपालमा प्रचारप्रसार र प्रयोग भएको देखिएको छैन । नेपालको मध्यपहाडमा हिँउदेबालीको रुपमा गहुँ लगाउने गरिन्छ ।

चैत बैशाखमा गहुँ भित्र्याए पछि असार साउनमा धान लगाउने समय सम्म खेत खाली रहन्छ । यो समयमा चैते धान लगााउन सकिन्छ । हाम्रो खाना खाने बानीले धान खपत धैरै भएको देखिन्छ । बिहान साँझ भातको साटो ठाँउ बिशेषमा हुने अन्य खाद्यान्नबाली समाबेश गर्न सके खाद्य सुरक्षामा उनी टेवा पुग्ने देखिन्छ । सरकारले दिने सहुलियत वास्तबिक कृषकले नपाउने गरेको गुनासो सुन्न पाइन्छ ।

हाम्रो खेती प्रणालीमा यान्त्रिकीकरणको आवश्यत्ता महसुस भएको छ । त्यस्तै नेपालको अधिकाँस खेती प्रणाली आकासे पानीमा निर्भर छ । २०६९ साल देखी लागु भएको कृषि बिमा ले धानलाई पनी समेटेको छ तर आजसम्म थोरै कृषक मात्र यसबाट लाभान्बित हुन सकिरहेका छैनन । यी यावत समस्याहरुले गर्दा सोचे अनुसारको धान उत्पादन हुन सकेको छैन ।
पछिल्लो समय आर्थिक समृद्धि शब्द धैरै प्रयोग भईरहेको छ । हामीले कल्पना गरेको समृद्धिमा धानलाई जोड्न सके प्रभाबकारी हुन सक्छ । यसको प्रशस्त सम्भावना देखिन्छ पनि । धान लगायतका कृषि उपजको उत्पादन बृद्धिका लागी सरकारी स्तर कार्यान्वयनमा रहेका बिभिन्न परियोजनाहरु धान उत्पादनलाई प्राथमिकतामा राखेको पाइन्छ । प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना,कृषि बिकास रणनीती (एडिएस) । जस्ता दस्तावेजले खाद्य सुरक्षालाई समावेश गरेको अवस्थामा धान उत्पादन बृद्धि गर्नुपर्ने देखिन्छ । बाली लगााउनु पूर्व नै धान, गहुँ र उखुको न्यूनतम समर्थन मूल्य तोकिने , जमिनको बैज्ञानिक बर्गीकरण र ब्यवस्थित गर्न भू‐उपयोग सम्बन्धि कानुनको बिधेयक प्रस्तुत गरिने, सिँचित तथा अन्य कृषि भूमीलाई घर घडेरीमा परिवर्तन गर्न नपाइने ब्यावस्था मिलाइने जस्ता कुरा आर्थिक बर्ष २०७५÷७६ को बजेटमा उल्लेख छ । यसले कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने कुरा आस गर्न सकिन्छ । नेपालको संबिधान २०७२ ले खाद्य सम्बन्धि हकलाई मौलिक हकको रुपमा ब्यावस्था गरिएको छ । साथै सम्पूर्ण नागरिकलाई खाद्य सम्बन्धि हक हुनेछ भनिएको छ ।
यसरी बर्षमा एक दिन असार पन्ध्रमा औपचारिकताको लागी तामझामका साथ दिवश मनाउने अरु दिन वास्तै नगरेको भान हुन थालेको छ । सरकारी तथा गैरसरकारी निकाय कृषक, नीतिनिर्माता यस तर्फ सचेत हुनुपर्ने बेला आएको छ । समग्र धान उत्पादनमा बृद्धि भए मात्र धान दिवश मनाउनुको सार्थकता अझ बढ्ने थियो की ?
लेखक नेपाल कृषि अनुसन्धान परिषद् कफी अनुसन्धान कार्यक्रम , गुल्मीका प्राविधिक सहायक (टि‐४) हुन ।

प्रतिक्रिया