६ वर्षीया बालिकाको सामूहिक बलात्कार

६ वर्षीया बालिकाको सामूहिक बलात्कार

–नरेन्द्र बस्नेत–

मोरङ । पुराण जस्तो पवित्र कार्यमा कुनै गलत काम गर्नु त के सोच्नु समेत पाप हो । तर दुई यौन पिपासुले मावली घरमा लागेको पुराणमा सहभागी भएकी ६ वर्षीया बालिकालाई पुराणको मण्डपबाट उठाएर लगी बलात्कार गरेका छन् ।

मोरङको पथरीशनिश्चरेमा रहेको मावली घरमा भएको पुराणमा गएकी मोरङको बेलबारीकी ६ वर्षीया बालिकालाई जेठ १९ गते सामूहिक बलात्कार गरेका हुन् । पुराणमा प्राविधिकका रुपमा काम गर्न गएका सुनवर्षी नगरपालिकाका २० वर्षका नरेश ताजपुरिया र १८ वर्षका बिक्की पासवानले मण्डपबाट उठाएर नजिकैको मकैबारीमा लगी बलात्कार गरेका थिए ।

बलात्कार पछि बालिकालाई ललीपप दिई फकाएर घटना नभन्नु भनेका रहेछन् । तर, घटना भएको झण्डै डेढ महिनापछि पीडित बालिकाले आफन्तलाई सुनाएपछि घटना सार्वजनिक भएको हो ।

कसरी भयो घटना ?

मावली घरमा भएको पुराणमा आफन्तको साथमा बालिका गएकी थिईन् । जेठ १९ गतेसम्म पुराण चलेको थियो । त्यहि दिउँसो ताजपुरियाले पुराणमा आएका बालिकालाई फकाउने, चकलेट किन्ने र काखमा राख्ने गरेका थिए । केही आफन्तहरुले शंका गरेपनि बालिकाको मायाले होला भनेर कसैले वास्ता गरेनन् ।

बालिकाका बाबुका अनुसार त्यहि दिन बेलुका ती युवा सहित बालिका हराईन् । आफन्तले खोज्ने क्रममा राति ७ बजेर ४० मिनेट जाँदा घर छेउको बाटोमा फेला परिन् । तर, बालिकाले केही भनिनन् ।

भेलिपल्ट बालिकालाई ज्वरो आयो, आफन्तहरुको सल्लाह अनुसार धामी हजुरबा नै भएका कारण फुकफाक भयो । छिमेकीमा सामान्य हल्ला भएपनि बालिकाले केही नभनेपछि घटना सामसुम नै भयो ।

केही दिनपछि उनीहरु घर फर्किए । बालिकालाई भने पिसाब रोकिने समस्या भयो । उनीहरुले बेलबारीकै क्लिनिकमा जचाँए । त्यहाँ सामान्य हो भनेपछि ईटहरी लगे । इटहरीमा पनि समस्या सामान्य हो भनी औषधि दिएर फकाईयो ।

तर, केही दिनपछि ती बालिकाले आफ्ना बुबालाई त्यो अंकलले मकैबारीमा लगेर यसो गर्यो भन्दै ईतिबृतान्त सुनाएपछि बाबु सहित परिवारको होस उडयो ।

उनीहरुले केही छिमेकीलाई गुहारे अनि ईलाका प्रहरी कार्यलय बेलबारी पुगे । ईलाकाले घटना पथरीको भन्दै पथरी पठायो । त्यहाँ पुगेपछि प्रहरी सामु बालिकाले सबै घटनाको ईतिबृतान्त सुनाईन् । आफन्तको उजुरीको आधारमा जेठ ३१ गते बिक्की र असार १० गते ताजपुरीयालाई पक्राउ गरि अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान थापाले जानकारी दिए ।

बेलबारीको एक निजि विद्यालयमा कक्षा १ मा अध्यायनरत बालिका एक अब्बल बिद्यार्थी हुन । उनले यसै वर्षपनि पुरुस्कार जितिन् । उनका बाबुका अनुसार घटना भएयता भने बालिका टोलाउन थालेकी छिन् । बेला बेला पिसाब रोकिने समस्या भएको छ । उनका बाबुले गहभरि आँसु पार्दै भने ‘ती यौनपिपासु नरपिसाचहरुलाई जसरी भएपनि कारबाही होस् ।’ Mahila khabar.

प्रतिक्रिया