५५ वर्षमा १२ पास

५५ वर्षमा १२ पास

 साउन १९,  दैलेख,

पढ्नलाई उमेरले छेक्दैन भन्ने सफल उदाहरण बनेका छन् जिल्ला प्रशासन कार्यालयका दैलेखका नायब सुब्बा तिलकप्रसाद न्यौपाने। ५५ वर्षमा १२ पास गरेर उनले पढ्नलाई उमेर छेक्दो रहेनछ भन्ने पुष्टि गरेका छन्। सरकारी सेवामा ३६ वर्षअघि प्रवेश गरेका न्यौपाने अहिले जिल्ला प्रशासन कार्यालय दैलेखमा कार्यरत छन्। ०३८ सालमा एसएलसी उत्तीर्ण भएपछि उनले मुखियाबाट सरकारी सेवा प्रवेश गरेको बताए। २०४० सालमा लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेका न्यौपानेले १३ वर्ष जिल्ला प्रशासनको प्रशासन फाँटमा मुखिया र १५ वर्ष खरिदार बनेर काम गरिसकेका छन् उनी विगत आठ वर्षदेखि नायब सुब्बा पदमा कार्यरत छन्।

त्रिभुवन नमुना माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका न्यौपानेले कक्षा ११ र १२ दुवैमा ५० प्रतिशत अंक प्राप्त गरेका छन्। पढाइले आफूलाई बढुवाका लागिसमेत बाटो खुलेको उनले बताए। जागिरे जीवनको धेरै जसो समय उनले दैलेख जिल्ला प्रशासन कार्यालयमा बिताएको अनुभव सुनाए। जागिरे समयदेखि जिल्ला प्रशासन कार्यालयमा मात्रै २९ जना प्रमुख जिल्ला अधिकारीसँग काम गरिसकेको अनुभव उनीसँग छ। सबैसँग मिजासिलो स्वभाव राख्ने न्यौपाने जागिरे जीवनमा मात्र सीमित छैनन्।

नारायण नगरपालिका- ६ भुर्ती भन्ने स्थानमा पुरानो घर जग्गामा उनले अहिले पनि कुखुरा उत्पादन र तरकारी उत्पादन गरेका छन्। उनी भन्छन्, ‘आफ्नो बारीमा उत्पादन गरेको तरकारीमा विषादी हुँदैन साँझ बिहानको समय तरकारी खेती र कुखुरा उत्पादनमा लाग्ने गरेको छु।’ आफू सानैदेखि तरकारी उत्पादनमा रुचि राख्ने र ताजा तरकारी खान पाइने भएकोले पनि तरकारी उत्पादनलाई महत्व दिएको न्यौपानेले बताए। आगामी दिनहरुमा पनि शिक्षालाई महत्वका साथ अगाडि बढाउने आफ्नो योजना  रहेको सुनाउछन् उनी। ९ सदस्य रहेको उनको परिवारमा छोराहरू, छोरी र बुहारीहरू सबैले स्नातक तह उत्तीर्ण गरिसकेका छन्।

पढ्न चाहे उमेरले छेक्दैन

जिल्लाभरीका आम नागरिकहरूले जिल्ला प्रशासन कार्यालयमा आउँदा सुरुमा न्यौपानेलाई भेट्ने गर्दछन् सबैलाई सकारात्मक सल्लाह दिने सहयोगी भएकोले मलाई सबैले माया गर्ने गरेको न्यौपानेले बताए। पढ्ने इच्छा भए उमेरले कसैलाई छेक्दैन भन्दै न्यौपानेले भने उमेर गयो भनेर कसैले पनि पछुताउनु पर्दैन केवल पढ्ने इच्छा शक्ति हुनुपर्यो अनि फुर्सद हुनुपर्यो।

प्रतिक्रिया