किशोरी हत्या प्रकरण : बम दिदीबहिनीको फेरि म्याद थपियो

किशोरी हत्या प्रकरण : बम दिदीबहिनीको फेरि म्याद थपियो

कञ्चनपुर — बालिका बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका बम दिदीबहिनी रोशनी र बबितालाई थप ७ दिन थुनामा राख्न म्याद दिइएको छ । भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा पक्राउ परेका उनीहरुलाई बिहीबार जिल्ला अदालतले दोस्रो पटक म्याद थपेको हो ।

गत शुक्रबार पक्राउ परेका उनीहरुलाई अदालतले पक्राउ परेको दिनदेखि ६ दिन थुनामा राख्न म्याद दिएको थियो । प्रहरीले अनुसन्धान जारी रहेकाले उनीहरुलाई दोस्रो पटक म्याद थपका लागि बिहीबार अदालतमा पेस गरेको हो । ‘हामी अनुसन्धानमै छौं, उनीहरुबाट सूचना लिने काम भइरहेको छ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुबेर कडायतले भने, ‘तर केही भनिहाल्ने अवस्था भने आएको छैन ।’

भदौ ५ गते प्रहरीले घटनाको दोषीका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका १९ बाग्फाँटाका दिलिप विष्ट स्वास्थ्य परीक्षणका लागि काठमाडौंमा भएकाले पछि म्याद थप हुने एसपी कडायतले बताए । अघिल्लो सोमबार १० दिन थुनामा राख्न अदालतले दिएको म्याद बुधबार समाप्त भएको हो ।

प्रतिक्रिया