निर्मला हत्या प्रकरणमा छानविन समितिको निष्कर्ष : प्रहरीको लापरवाही भेटियो

निर्मला हत्या प्रकरणमा छानविन समितिको निष्कर्ष : प्रहरीको लापरवाही भेटियो


काठमाडौँ, २२ भदौ । निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको उच्चस्तरीय छानविन समितिले निष्कर्ष निकालेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी समितिका संयोजक हरिप्रसाद मैनालीले निर्मलाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको मुख्य पाटोलाई छोडेर लापरवाही गरेको बताए । अनुसन्धानमा खटिएका प्रहरीले गर्नुपर्ने काम नगरेको र गर्न नहुने काम पनि गरेको देखिएको मैनालीले बताए ।

प्रहरीले घटनाको शंकास्पद पाटोलाई बेवास्ता गर्दा आन्दोलनले गम्भीर रुप लिएको छानविन समितिको निश्कर्ष छ । कञ्चनपुरमा बिना कारण आन्दोलन नभएको भन्दै आन्दोलन हुनुमा प्रहरीको त्रुटी देखिएको जिकिर गरे ।

छानविन टोली आजै काठमाडौं फर्किँदैछ । समितिको म्याद आजै सकिने भए पनि ३/४ दिनभित्र प्रतिवेदन तयार पारेर गृह मन्त्रालयमा बुझाउने संयोजक मैनालीले बनाए । १३ वर्षीया बालिका निर्मलाको १० साउनमा बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट विहान उखुबारीमा फालिएको अवस्थामा भेटिएको थियो ।

घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाको प्रभावकारी अनुसन्धान नगरेको, नक्कली अभियुक्त खडा गरेको भन्दै आन्दोलन चर्किएको थियो । आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक बालकको मृत्यु समेत भएको थियो ।

प्रतिक्रिया