संस्कृतिमा बढ्यो विकृति

संस्कृतिमा बढ्यो विकृति

नेपालमा विभिन्न जातजातिको बसोवास छ । अनेकता र विविधतामा एकताको सन्देश बोकी सबै बसोवास गरेका छन् । आ–आफ्ना जातजातिले आ–आफ्नै किसिमको चाडपर्व मनाउँछन् । उनीहरूको आ–आफ्नै भाषा छ । त्यसमध्य सबै नेपाली चेलिबेटीहरूले महान् पर्वका रूपमा मनाउने चाड हो, हरितालिका तीज ।
चेलिबेटीहरूको सुख, दुःख, बह बहकाउने यही तीजमा हो । माइती घरलाई सम्झेर चेलिबेटीहरू जस्तोसुकै दुःखका बाबजुद पनि समय निकालेर माइती घरमा अउने प्रचलन छ । चेलिबेटीमा रहेको समस्याहरूलाई तीज गीतको माध्यमबाट अभिव्यक्त गर्ने गरिन्छ । एउटा गीतको माध्यमबाट आफ्ना दुःख सुखका भावनाहरूलाई माइतीसामु वेदना पोख्दा मन हलुका हुन्छ । हिन्दु परम्पराअनुसार तीजको व्रत बसेको राति संगिनी नाच नाच्ने गरिन्छ । हाम्रो तीजको यस्तो मौलिक परम्परा रहे पनि अहिले आएको आधुनिकतामा तीजको मौलिकता धरापमा परी लोप हुने अवस्थामा छ ।
हामीले आफ्नो परम्परा भुल्दै जाँदा आफ्नो कला, संस्कृति हराउँदै गएको छ । नेपाली हरितालिका तीजको अस्तित्व आजभोलि मेटिँदै गएको छ । आधुनिकतालाई आत्मसात् गरी अरुको देखासिकी गरी आफ्नो मौलिक परम्पराहरू भुल्दै जानु हामी सबै नारीहरूको कमजोरी हो । सबै लागेर सकेसम्म हाम्रो कला संस्कृतिमा विकृति आउन दिनु हँुदैन । आजभोलि धेरै तडकभडकका साथ दर खाई तीज मनाउने गरिएको छ । जुन नारीहरूका लागि एक घातक रोग जस्तै हो । तीजको दर खाने क्रममा विभिन्न किसिमका नकरात्मक कार्य भइरहेको छ । यस्ता कार्यहरुले गर्दा समाजमा विभिन्न किसिमका समस्या आउने गरेका छन् ।
तीजकोे मौलिकतालाई चटक्क बिर्सिएर विभिन्न किसिमका महँगा गरगहनाहरू लगाउने, महँगो दर खाने, साडीहरूको प्रदर्शनी गर्ने जस्ता विकृतिहरू बढ्दै गएका छन् । यस्तो प्रचलनले घरपरिवार समाजमा खटपट भई झैँझगडा निम्त्याउने गरेको छ । आफ्नो औकात बिर्सिएर अरूले जे लगाए जे खाए त्यसैको देखासिकी गर्ने गरिएकाले महिलाहरूको महान् चाड तीज प्रत्येक वर्ष भड्किलो बन्दै गएको छ भने सामाजिक चालचलनमा ह्रास आएको छ । आधुनिकीरणको नाममा घरपरिवार समाजमा विभिन्न विभेद आउने किसिमको रीतिरिवाज चालचलन भित्र्याउने परिपाटीको अब अन्त्य गर्नुपर्छ । आफ्नो कला संस्कारलाई धन सम्पत्ति प्रदर्शन गरेर नभई मनदेखि संरक्षण गर्न लाग्नुपर्छ । धनमा हैन, मनमा संस्कार र संस्कृति जोगाउनु पर्छ । अनि मात्रै हाम्रो सभ्य समाज निर्माण हुन्छ । तीजको अस्तित्व नहुनु भनेको नारीको नै नहुनु हो । त्यसैले आफ्नो जीवनशैली आनीबानीलाई हामीले सुधार्नु गर्नुपर्छ ।
कसैको देखासिकीमा नभई वास्तविकतामा बाँच्न सक्नु सबै नारीका लागि कल्याण हुन्छ । नारीहरू आधुनिकीकरण हुनु भनेको आफ्नो अस्तित्व गुमाउनु हो । सासू बुहारी भनेर अनेकौँ बिलौनाको पोको बोकेर सुनाउने वा कुरा काट्ने हैन, एक अर्काको सहयोग र सहकार्य गर्नुपर्छ । आधुनिकीकरणको मूलधारमा बसेर काम गर्नुपर्छ । तडकभडक नगरेर सभ्य तरिकाले समाजलाई रूपान्तण गर्न सकिन्छ । ठूला कुरा मीठा भाषणले मात्र समाज रूपान्तरण भई मौलिकतालाई जोगाउन सकिँदैन । सकारात्मक सोचसहित दैनिक व्यवहार परिवर्तन हुनुपर्छ । महिलाहरूको महान् पर्व हरितालिका तीजको दिन विभिन्न कार्यक्रमहरूको आयोजना गरिने गरिएको छ । त्यहाँ सबै महिलाहरूकोे उपस्थिति हुने भएकाले तीजको मौलिकतामा आँच आउने खालका गीत र गतिविधिहरूको अन्त्य गर्नुपर्छ ।
हाम्रो आफ्नै मौलिकतालाई समेटिएका सरल सभ्य तीजका गीतहरू गाउनुपर्छ । महिलाहरूको अस्तित्व जोगाउन लाग्नुपर्छ । कुर्सी ओगटेर बस्दैमा महिलाको आत्मगौरव हुने होइन । संस्कृतिभित्र मौलाउँदै गएको विकृतिलाई निरुसाहित गर्नु आत्मगौरव हो । तीज सबै नारीहरूको महान् पर्व हो, त्यसैले पौराणिक संस्कृतिलाई जोगाउन सबै एकजुट हुनुपर्छ । तीज रमाइलो गर्नका निम्ति मात्रै हैन, संस्कृतिलाई जोगाउनका लागि पनि हो । तीजलाई भड्किलो तरिकाबाट मनाउने हैन । आगामी वर्षबाट तीजलाई मौलिक चाडका रूपमा स्थापित गर्दै मनाउन सबै लाग्नु आवश्यक छ ।
अन्त्यमा ः– महिलाहरुको महान पर्व हरितालिका तीज २०७५ को पावन अवसरमा सवै दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् दीर्घायुको लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु । स्रोत ःनागरिक दैनिक

प्रतिक्रिया