बालमैत्री बन्दै गुराँस

बालमैत्री बन्दै गुराँस

गुरासँ गाउँपालिका ६ धनटाकुरीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका ।

ज्वाला संदेश
दैलेख असोज
कर्णालीको राजधानी विरेन्द्रनगर सुर्खेतसंग सिमाना जोडिएको दैलेखको गुरासँ गाउँपालिका बालमैत्री स्थानीय तह तर्फ उन्मुख भएको छ । गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि अहिले अभियाननै संचालन भइरहेको छ । सोहि अभिायान अन्तरगत गाउँपालिकाको वडा नं. ६ पिलाडीलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी गरिएको छ ।
पिलाडीलाई आगामी एक महिना भित्र बाल मैत्री वडा घोषणा गर्ने तयारी गरिएको गुरासँ गाउँपालिका ६ का वडाध्यक्ष हिम बहादुर ओलीले जानकारी दिनुभयो । बालमैत्री स्थानीय शासन र स्थानीय तहमा बाल अधिकार प्रवद्र्धन गर्ने उद्देश्यले बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएको हो ।
स्थानीय स्तरका सबै क्षेत्र र तहका निकायको नीति, संरचना, प्रणाली र कार्य प्रक्रियामा बाल बालिकाको अर्थपूर्ण सहभागिता गर्न बालमैत्री वडा घोषणा गर्न लागिएको गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो ।
बाल बचाऊ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकाससँग सम्बन्धित सूचक पूरा गरिएमा नगरपालिका, गाउँपालिका वा वडालाई बालमैत्री घोषणा गर्न सकिने प्रावधान बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिमा व्यवस्था गरिएको छ । बालमैत्री घोषणा गर्न आवश्यक पर्ने सूचक पूरा हुने प्रक्रियामा रहेकोले पिलाडीलाई बालमैत्री वडा घोषणा गर्ने अन्तिम तयारी भइरहेको छ ।
पिलाडीका सबै संरचना बालमैत्री हुँदै गएका छन्, वडाअध्यक्ष हिम ओलीले भने– ‘साबुनपानी सहित विद्यालयमा छात्रछात्राका लागि अलग–अलग शौचालयको व्यवस्था छ, वडामा बाल शिक्षामा अध्ययन गर्ने बालबालिकालाई पिफर्म र कार्पेटको व्यवस्था, बालश्रम र बालविवाहमा न्यूनीकरण, विद्यार्थी संख्याको आधारमा शिक्षकको व्यवस्था रहेको छ ।’
कार्यविधिमा व्यवस्था गरिए अनुसार बालबालिका लक्षित बजेट वडा तहबाट विनियोजन गरिएको छ । बालबालिकाको क्षेत्रमा लगानी गर्न गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको छ, गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले भने– ‘यसले बालबालिकाको हक, अधिकारलाई सुनिश्चित गर्न सहयोग पुग्नेछ ।’

पहिलो चरणमा गाउँपालिकालाई नै घोषणा गर्न नसकेपनि वडा हुँदै समग्र गाउँपालिकालाई घोषणा गर्ने तयारी रहेको अध्यक्ष ओलीले जानकारी दिनुभयो । बाल मैत्री वडा घोषणाको तयारीमा रहेको पिलाडी जिल्लाको दोस्रो बालमैत्री वडा हो । स्थानीय तह पुर्नसंरचना पश्चात २०७४ पौष ८ गते यहाँको पश्चिममा पर्ने आठवीस नगरपालिकाको वडा नं. ४ राकमकर्णालीलाई जिल्लाको पहिलो बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको थियो । गुरासँ गाउँपालिकालाई बालमैत्री स्थानीय शासन युक्त स्थानीय तह बनाउने अभियानलाई सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) द्धारा संचालित सहयात्रा परियोजनाले सहयोग गरिरहेको छ ।

प्रतिक्रिया