बलात्कार र यौनजन्य हिंसा रोक्न ‘बालिका बचाउ’ अभियान

बलात्कार र यौनजन्य हिंसा रोक्न ‘बालिका बचाउ’ अभियान

दैलेख असोज २१ ।
दैलेखका बालिकाको आत्मरक्षाका लागि अभियान सुरु गरिएको छ । बालिका माथि बलात्कार तथा यौनजन्य घटनाहरु श्रृंखलाबद्ध रुपमा घटिरहेको भन्दै यस्ता घटनाहरुलाई निराकरण गर्न दैलेखमा ‘बालिका बचाउ’ अभियान सुरु गरिएको छ । यौनजन्य दुव्र्यवहार र बलात्कार विरुद्ध ऐक्यबद्धता, बालिका बचाउन हाम्रो प्रतिबद्धता भन्ने नारा बोकेर ‘बालिका बचाउ’ आत्मरक्षक अभियानको थालनी गरिएको हो । बालिका बचाउ अभियानले विद्यालयमा अध्ययनरत बालिकाहरुलाई बलात्कार र यौन जन्य दुव्र्यवहारको बारेमा जानकारी गराउनुका यस्तै जिल्लाका सुरक्षा निकायको सहयोगमा आत्मरक्षकको अभ्यास गराइनेछ ।
बालिकाको प्रतिरोधात्मक क्षमता बृद्धि गर्नुका साथै बालिका माथी हुन सक्ने सम्भावित यौनजन्य घटनाको पहिचान गर्न सक्ने क्षमता बढाउनका लागि ‘बालिका बचाउ’ अभियानको सुरुवात गरिएको अभियानकी संयोजक सजना सुनारले बताउनुभयो ।
अभियानले पहिलो चरणमा जिल्ला सदरमुकाम स्थित नारायण नगरपालिका भित्र रहेका विद्यालयलाई समेट्ने संयोजक सुनारले जानकारी दिनुभयो । ‘मेरो स्थायी बसोबास सुर्खेतमा हो, अहिले कामको शिलशिलामा दैलेखमा छु, छोरीहरु बलात्कृत हुनबाट जोगाउनु पर्छ भन्ने सोचले अभियान चलाउनुपर्छ भन्ने लाग्यो, संयोजक सुनारले भनिन् ।’
जिल्ला स्थित सबै सरकारी तथा गैरसरकारी निकायहरुलाई अभियानको बारेमा जानकारी गराएपछि सबैले सहयोग गर्ने आश्वासन दिनुभयो, उहाँहरुकै सल्लाहमा अभियानको थालनी गरेका छौ, उहाँले भन्नुभयो ।
‘नेपाल प्रहरीको तथ्यांक अनुसार बलात्कारको सिकार हुनेमा बालिका र किशोरीको संख्या बढी छ, उनले भनिन् विद्यालय तहमा गरिने अभियानले बालिका माथी हुने यौनजन्य र बलात्कारका घटनामा कमी आउनेछ ।’ अभियानको संयोजक सुनार सुुर्खेतमा बाल विवाह न्यूनिकरण, जातिय विभेद र भ्रष्टाचार विरुद्ध अभियान संचालन गर्दै आएकी थिइन् ।
‘बालिका बचाउ’ अभियान संचालनका लागि पूर्व तयारी स्वरुप आज समन्वयात्मक बैठक समेत गरिएको छ । बैठकमा नारायण नगरका प्रमुख रत्न बहादुर खड्का, उपप्रमुख सावित्री मल्ल, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटा, डिएसपी ठाकुर प्रसाद पोखरेल सहभागि थिए ।

जिल्लामा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैरसरकारी संघ संस्थाहरु विच भएको समन्वयात्मक बैठकले अभियान संचालनका लागि समिति समेत गठन गरेको छ । युवा अभियान्ता सजना सुनारको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको अभियानका सदस्य प्रभा कुमार विकले जानकारी दिनुभयो । समन्वयात्मक बैठकमा सहभागिले जिल्लामा पहिलो पटक संचालन भएको ‘बालिका बचाउ’ अभियानलाई व्यक्तिगत रुपमा पनि सहयोग गर्ने बताउदै अहिलेको समय सान्दर्भिक अभियानलाई जिल्ला व्यापी बनाउन सुझाव दिएका छन् ।
नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले स्थानीय तहको नीति तथा कार्यक्रममा समाबेश गरि अभियानलाई मजबुद बनाउने बताउनुभयो । उपप्रमुख सावित्री मल्लले बालिका बचाउ अभियानलाई सहयोग गर्न तयार रहेको बताउदै जिल्लामा यस्तो अभियानले बालिकामाथी हुने योनजन्य तथा बलात्कार घटना घट्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले बालिका माथी हुने यौनजन्य तथा बलात्कारका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया