चीनमा बनेको विश्वको सबैभन्दा लामो पुल बारे पाँच तथ्य

चीनमा बनेको विश्वको सबैभन्दा लामो पुल बारे पाँच तथ्य

एजेन्सी ।  चिनिया राष्ट्रपति सी जिनपिङ र हङ्कङकी प्रमुख कार्यकारी क्यारी ल्यामको उपस्थितिमा विश्वको सबैभन्दा लामो समुन्द्री पुलको शुभारम्भ भयो ।  छोटो सम्बोधन गर्दै सीले पुल खुलेको घोषणा गरे । उनको घोषणापछि डिजिटल स्क्रिनमा आतसबाजीको भिडियो चलेको थियो ।२० अर्ब अमेरिकी डलरमा बनेको यस पुलमा बुधबारबाट मात्रै यातायात चल्नेछ ।  ५५ किमी लामो यो पुलले हङकङ र मकाउलाई चीनको मुलभुमिसँग जोड्छ । विश्वको सबैभन्दा लामो यस पुलको बारेमा कयैन रोचक पक्षहरु रहेका छन् । यहाँ बेलायती पत्रिका द गार्डियनले प्रस्तुत गरेको पुलको पाँच प्रमुख तथ्यहरु प्रस्तुत गरिएको छ :

चालकले गर्ने हाई र ब्लडप्रेसरको निरन्तर निगरानी 

पुलमा गाडी चलाउने चालकहरुको मुटुको रफ्तार र ब्लड प्रेसरको निगरानी निरन्तर हुनेछ । र यी सुचना पुलको कन्ट्रोल सेन्टरमा पुग्नेछ । हङकङका मिडियाको रिपोर्ट अनुसार पुलमा गाडि चलाइरहेका ड्राइभरमाथि पनि क्यामेराको निगरानी हुनेछ ।

यदी कुनै चालककले २० सेकेण्डभित्र तीन पटकभन्दा बढी हाई गरेमा ‘हाई निगरानी क्यामेरा’ले खतराको सुचना दिनेछ ।

सबैलाई पहुँच हुने छैन पुलमा 

हुनत पुलले चिनियाँ स्वशासित क्षेत्रहरु हङकङ र मकाउलाई चिनियाँ मुलभूमीको अझ नजिक ल्याउन लक्ष्य लिएको छ तर चुनिएका मानिसहरुले मात्र यस पुलमा पहुँच पाउनेछन् । हङकङका जनतालाई पुल पार गर्नको लागि विशेष परमिटको आवश्यकता पर्नेछ । हङकङबाट झुहाई प्रवेश पाउनको लागि केही कडा सर्तहरु पुरा गर्नेलाई मात्र दीर्घकालिन खालको विशेष परमिट दिइने रिपोर्टहरु पनि आइरहेका छन् । यी सर्तहरुमा चीनलाई उलेख्य कर बुझाएको, चीनको दक्षिण प्रान्त ग्वाङदोङ क्षेत्रमा ठूलो रकम अनुदानमा दिएको र थुप्रै मध्य एक राजनीतिक संगठनको सदस्यता रहेको मानिएको छ ।  अन्यले भने एक निजी बस लिन सक्छन् । यो पुलमा सार्वजनिक यातायात भने चल्ने छैनन् ।

पुललाई लिएर हङकङवासीमा असन्तुष्टि 

हङकङका अनलाईन प्रयोगकर्ताहरुले पुलको सिमित प्रवेशप्रति गुनासो गरेका छन् ।  “हङकङकै करदाताले तिरेको त्यत्रो पैसा प्रयोग भएका पुल… तर हामीहरु सबैलाई नै खुल्ला गरिएको छैन,” एक जना हङकङ निवासीले साउथ चाइना मर्निङ पोष्टमा टिप्पणी गरेका छन् ।

लोकतन्त्र पक्षधर कानुनकर्मी एडीले यस पुललाई ‘तत्काल आवश्यक नहरेको एक राजनीतक रुपले प्रेरित विशाल संरचना’ भने ।  झुहाईको उत्तरतर्फ अर्को पुल सेनझेन र झोङशान नजिक बनिरहेको छ । उक्त पुलको निर्माण पछि सन् २०३० सम्ममा हङकङ–झुहाई–मकाउ पुलमा यातायातको चाप उलेख्य घट्नेछ ।
“यो कुराले पनि यो अनावश्यक रहेको देखाउँछ,” उनले भने ।

कुन साइडमा चल्ने छन् गाडी ?

हङकङ र मकाउमा सवारीसाधन देब्रेबाट चलाइन्छ । तर मुलभूमि चीनमा भने गाडी दाँयाबाट चल्छ । यसले पुलमा गाडि कुन साइडमा चल्ने भनेर मानिसहरुमा अन्यौलता निम्त्यीएको छ ।

पुललाई मुलभूमि चीनको भूभाग मानिने भएकाले चालकहरुले पुलमा रहँदा गाडि दाहिनेबाट चलाउनुपर्ने हङकङको यातायात विभागले बताएको छ । विभागका अनुसार यस सहरका चालकले पनि पुलमा सोही नियम पालना गर्नुपर्नेछ ।

हुन त सुरुमै साइड बदल्नका लागि केही सिर्जनात्मक समाधानका विकल्पहरु पनि अघि ल्याइएका छन् । यसमा डच आर्किटेक्टको समुहले प्रस्ताव गरेको पर्ल रिभर नेकलेस नाम दिइएको एक ‘फ्लिपर पुल’ विशेष चर्चामा रह्यो । तर पछि भने परम्परागत उपाय अपनाइयो । अब कारलाई पुल प्रवेश गर्नु अघि विशेष रुपमा निर्माण गरिएको ‘मर्ज पोइन्ट’मा रोकेर साइड बदल्न लगाइनेछ ।

‘राजनीतिक पुल’

यो पुल हङकङ र मकाउलाई चीनको दक्षिणी क्षेत्रमा रहेको ११ शहरसँग जोडेर एक हाई–टेक क्षेत्र निर्माण गर्ने अभियानको हिस्सा हो । ‘ग्रेटर बे एरिया’ नाम दिएको यो क्षेत्र अमेरिकाको चर्चित सिलिकन भ्यालीलाई प्रतिस्पर्धा दिन सक्ने गरी बनाइँदैछ ।   अघिल्लो महिना मात्र चिनियाँ मूलभूमिसँग हङकङलाई तीव्र गतिको रेलमार्गले जोडियो ।

आलोचकहरुले अबौं डलरको यस पुल हङकङमा बढ्दै गएको चीन विरोधी धारणालाई मत्थर पार्नको लागि हङकङको चीनसँगको समायोजनको गति बढाउन बनाइएको आरोप लगाएका छन् ।   हङकङ र मकाउ चीनको अभिन्न अंग भए पनि उनीहरु आफ्नै अलग सरकार, कानुनी प्रणाली र नीति भएका विशेष प्रशासनिक क्षेत्र हुन् । स्वशासनका पक्षधरहरुले यस पुल हङकङमाथि चीनको नियन्त्रण बढाउन ल्याइएको बताइरहेका छन् ।

द गार्जियनबाट

एजेन्सी ।

प्रतिक्रिया