डेढ वर्षपछि हवार्इ उडान शुरु

डेढ वर्षपछि हवार्इ उडान शुरु

अमरराज पुन

रुकुम । रुकुम पश्चिमको चौरजहारी बिमानस्थलमा पुनः उडान सेवा शुरु भएको छ । डेढवर्षदेखी रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले बुधबारबाट उडान शुरु गरेको हो ।

हप्ताको दुईदिन बुधवार र बिहिवार उडान हुने गरी चौरजहारी बिमानस्थल पुनः सञ्चालनमा आएको स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताउनुभयो । उहाँका अनुसार बुधवार काठमाण्डौं–चौरजहारी–नेपालगञ्ज तथा बिहिवार नेपालगञ्ज–चौरजहारी–काठमाडौं उडान हुने बताईएको छ ।

उडान शुरु भएको बुधबार पहिलो दिन चौरजहारीबाट एक बिरामी सहित आठजनाले नेपालगञ्ज सम्मको हवाई यात्रा गरेका छन् । झण्डै डेढवर्षपछि यहाँको हवाई सेवा सञ्चालनमा आउँदा स्थानीय र सर्वसाधारण खुशी भएका छन् । त्यस्तै रुकुम पश्चिम लगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका नागरिकलाई पनि सहज हुने भएको छ ।

आजदेखी नेपाल बायुसेवा निगमको जहाजले पुनः उडान शुरु गरेसंगै यहाँको नयाँ भाडादर समेत कायम गरिएको छ । अबदेखी चौरजहारीबाट काठमाडौंका लागि आठहजार र नेपालगञ्जलाई तीनहजार भाडादर निर्धारण गरिएको स्टेशन प्रमुख नेपालीले जानकारी दिनुभयो ।

यसअघि नेपाल वायुसेवा निगमसंग प्रयाप्त जहाज र पाईलट नभएको भन्दै गतवर्षको जेठ अन्तिम साताबाट चौरजहारी बिमानस्थलको उडान बन्द गरिएको थियो । बन्द हवाई सेवा सञ्चालनका लागि जिल्लाका सरोकारवाला निकाय, स्थानीय सरकार तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पक्षसंग पहल चाल्दै आएका थिए । २०२८ सालबाट संचालमा आएको चौरजहारी विमानस्थलको थप स्तरोन्नतीका लागि पाँचवर्ष अघि धावनमार्गमा कालोपत्रे गरिएको थियो ।

प्रतिक्रिया