दुल्लुमा सांस्कृतिक महोत्सब तथा वाङ्मय सङ्गोष्ठि

दुल्लुमा सांस्कृतिक महोत्सब तथा वाङ्मय सङ्गोष्ठि


दैलेख कात्तिक २७ ।
दुल्लु नगरपालिका स्थित पटांगिनीमा मंगलवार देखि दुल्लु सांस्कृतिक महोत्सब तथा बृहत वाङ्मय सङ्गोष्ठि सुरु भएको छ । यहाँ रहेको सांस्कृतिक, धार्मीक पुरातात्विक तथा ऐतिहासिक सम्पदा तथा संस्कृतीको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने उदेश्यले सांस्कृतिक महोत्सब तथा बृहत वाङ्मय सङ्गोष्ठिको आयोजना गरिएको हो । आज सम्म संचालन हुने महोत्सब तथा वाङ्मय गोष्ठिको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले उद्घाटन गर्नुभयो । वाङ्मय सङ्गोष्ठिको उद्घाटनमा अतिथीहरुलाई दहि चावल र पगडी बाधेर स्वागत तथा सम्मान गरिएको छ ।
दुल्लुमा लोक सांस्कृतिक महोत्सबको आयोजना गर्ने नगरपालिकाको लक्ष अनुरुप सांस्कृतिक महोत्सब तथा बृहत वाङ्मय सङ्गोष्ठिको आयोजना गरिएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताउनुभयो । उहाँले दैलेखको दुल्लु क्षेत्रमा देशका महत्वपूर्ण सांस्कृतिक, धार्मीक पुरातात्विक तथा ऐतिहासिक सम्पदाहरु रहेको बताउदै त्यसको प्रचार प्रसार, संरक्षण र प्रर्बद्धन गर्न नगरपालिकाले पहल थालेको बताउनुभयो ।
वाङ्मय सङ्गोष्ठि उद्घाटनको अबसरमा राष्ट्रिय समाचार समितिका अध्यक्ष एंव बरिष्ठ कवि हरिहर अधिकारी ‘श्यामल’ ले दैलेख जिल्ला सांस्कृति सम्पदाले भरिपूर्ण रहेको बताउनुभयो । उहाँले यहाँ रहेका सांस्कृतिक, धार्मीक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनका लागि तिनवटै तहका सरकारले लगानीमा ध्यान दिनुपर्ने बताउनुभयो । “खर्च गर्नकै लागि लगानी गरेर मात्रै हुँदैन, लगानीको परिणाम देखिनुपर्छ । उहाँले भन्नुभयो ।” दैलेख र दुल्लु क्षेत्र नेपाली सभ्यताको उद्गम स्थल रहेको बताउनुहुँदै अध्यक्ष श्यामलले दैलेखलाई पर्यटनको आधार क्षेत्र बनाउन सकिने धारणा राख्नुभयो ।
उद्घाटन समारोहमा प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, इतिहासकार एंव नेपाल प्रज्ञा प्रतिठानका पूर्व प्राज्ञ परिषद् सदस्य दिनेशराज पन्त, प्रतिनीधि सभा सदस्य राज बहादुर बुढा, दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले मन्तव्य राखेका थिए ।
गोष्ठिमा प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्मा, नेपाल संस्कृत विश्वविद्यालयका शिक्षा अध्यक्ष रमेश प्रसाद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव जिवेन्द्र देव गीरी, पूर्व प्रज्ञा सदस्य जगमान गुरुङ्ग, भाषाविद् डा माधव पोखरेल, डा. मधुसुदन गिरी, प्रा.डा. सुदन कुमार पौड्याल लगाएतका विज्ञहरु सहभागि छन् ।
बृहत वाङ्मय सङ्गोष्ठि नेपाल प्रज्ञा प्रतिष्ठान, मध्यपश्चिमाञ्चल साहित्य परिषद्, जिसस दैलेख, दुल्लु नगरपालिका लगाएतका अन्य तिन स्थानीय तहको संयुक्त आयोजनामा सुरु भएको हो । दुल्लु सांस्कृतिक महोत्सब तथा बृहत वाङ्मय सङ्गोष्ठिमा दुल्लु क्षेत्रमा रहेको स्थानीय सांस्कृतिक तथा झाँकी, तरबार नाच, फड्को नाच, हुड्के नाच, रतेउली नाच लगाएत मौलिक परम्परासंग सम्बन्धित नाचहरु प्रस्तुत गरिएको थियो ।
क्याप्सन ः दुल्लु सांस्कृतिक महोत्सब तथा बृहत वाङ्मय सङ्गोष्ठिको उद्घाटन गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती लगाएतका विज्ञहरु ।

प्रतिक्रिया