राजनीतिक चेतना आवश्यक

राजनीतिक चेतना आवश्यक


सुर्खेत, मंसिर १ – कर्णाली प्रदेशका सदस्य रातो कामीले दलित समुदायका सामाजिक उत्थानका निम्ति राजनीतिक चेतता आवश्यक रहेको बताएका छन् । कर्णाली प्रदेश दलित अधिकार सञ्जालले शनिवार सुर्खेतमा आयोजना गरेको छलफल कार्यक्रममा उनले सो विचार राखेका हुन् ।

जनयुद्धको क्रममा उठाइएको समताको मुद्दाले दलित समुदायको राजनीतिक चेतनाको जग बसालेको तर संघीय गणतान्त्रिक अभ्यासमा स्थानीय तहका नेतृत्व गर्ने जनप्रतिनिधिहरुले लक्षित कार्यक्रम वा अवसरमा दलित समुदायलाई नसमेटेको औल्याउदै उनले जनप्रतिनिधिलाई सचेत गराउन नागरिक समाजले अगुवाई गर्नुपर्ने सुझाव दिए ।
प्रदेशसभाका अर्का सदस्य राजु नेपालीले दलित समुदायले भोग्दै आएको विभेद र छुवाछूत समस्या समाधानका निम्ति स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधि र समुदायका अगुवावीच सहकार्य र समन्वय प्रभावकारी बनाउनुपर्ने बताइन् ।
कार्यक्रममा एनएनएसडब्लूएका कार्यक्रम प्रवन्धक बिनोदबिक्रम जैरुले नागरिक समाज र दलित जनप्रतिनिधिहरुवीचको सहकार्यबाट जातीय विभेद समस्या न्यूनीकरण गर्न सकिने बताए । त्यसक्रममा सुर्खेतकी मञ्जू सुनार, रुकुमका प्रबीर ददेल, दैलेखका अमर सुनार र सल्यानका लोकबहादुर महराले जिल्लाका दलित सवाल र भइरहेका क्रियाकलापका विषयमा प्रगति सुनाएका थिए ।
कर्णाली प्रदेश स्तरको दलित अधिकार सञ्जालले जातीय विभेदका स्थानीय सवालहरुको अभिलेखीकरण गरी समस्या समाधानका निम्ति कर्णाली प्रदेश सरकारको ध्यानार्षण गराउन मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिने तयारी गरेको अधिकारकर्मी अमर सुनारले जानकारी दिए ।

प्रतिक्रिया