कर्णालीमैत्री नीति बनाउन आवश्यक : सभामुख शाही

कर्णालीमैत्री नीति बनाउन आवश्यक : सभामुख शाही


सुर्खेत – कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले कर्णालीको समृद्धिका लागि कर्णालीमैत्री नीति बनाउन आवश्यक रहेको बताएका छन् ।उनले समृद्धिको लक्ष्य पूरा हुने खालका आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए ।शुक्रवार कर्णाली फाउन्डेसनले सुर्खेतमा आयोजना गरेको नीति संवाद कार्यक्रममा बोल्दै सभामुख शाहीले विकाससँगै नागरिक अनुकूल हुनेखालका नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।

‘कर्णालीलाई विगतमा जहिले पनि प्राथमिकतामा राखिएन,’ उनले भने, ‘जसका कारण यो प्रदेशका जनताले विकासको अनुभव गर्न पाएनन् ।’ तर अब प्रदेशमै सरकार आइसकेपछि कर्णालीको विकासका लागि आवश्यक नीति बनाउँदै अघि बढिने उनको भनाई छ ।

‘हामीले पूर्वाधारको विकासलाई मात्र विकास ठानेका छौैं,’ सभामुख शाहीले भने, ‘त्यहीँ विकासका लागि सम्बन्धित नीतिको पनि विकास हुन जरुरी छ, यसका लागि सबैको सहभागिता पनि जरुरी छ ।’ संविधानमार्फत् समाजवादमा पुग्ने लक्ष्य लिइएको बताउँदै सभामुख शाहीले लक्ष्य प्राप्तिका लागि आवश्यक नीति बनाउन प्रदेशसभा लाग्ने बताए ।

सरकारलाई आवश्यक पर्ने कानून निर्माणमा अहिलेसम्म सरकार लागिरहेको भन्दै उनले अबका दिनमा जनताको जीवनसँग प्रत्यक्ष रुपमा प्रभाव पार्ने विधेयक निर्माणमा लाग्ने बताए । विकाससँग सम्बन्धित विषयका कानून निर्माण गर्ने तयारीमा प्रदेश सरकार रहेको सभामुख शाहीले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सरकार वस्तुपरक कानून निर्माणको चरणमा रहेको बताए । उनले प्रदेश सरकारले सामाजिक न्याय सहितको समृद्धिको कल्पना गरेको बताए । मन्त्री रावलले समस्यै–समस्या रहेको कर्णालीमा समृद्धिको खोजी गरिरहेको बताउँदै त्यसका लागि सहयोग गर्न विज्ञसँग उनले आग्रह गरे ।

उनले समृद्ध कर्णाली निर्माणका लागि नागरिक समाजको भूमिका उच्च रहेको बताए । कार्यक्रममा उपसभामुख पुष्पा घर्ती लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया