मृतक र घाइतेका परिवारलाई सहयोग

मृतक र घाइतेका परिवारलाई सहयोग

ज्वाला संदेश
दैलेख, १४ मङ्सिर ।
दैलेखको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिकामा भएको जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको परिवारलाई ठाटीकाँध गाउँपालिकाले सहयोग उपलब्ध गराउने भएको छ । गाउँपालिकाले मृतकका परिवारलाई जनहि १० हजार रुपैयाँको दरले सहयोग रकम उपलब्ध गराउने जनाएको छ । मृतकको काज किरियाका लागि सहयोग रकम उपलब्ध गराइने ठाटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंहले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको उपचारमा गाउँपालिकाले सहयोग गर्ने भएको छ ।
यस्तै सोहि दुर्घटनामा परी मृतकका परिवार र घाइतेका परिवारलाई चामुण्डाविन्द्रासैनी नगरपालिकाले पनि जनहि ७ हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराएको छ । चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्य बहादुर शाहीले घटनास्थलमै पुगेर मृतक र घाइतेका परिवारलाई सहयोग रकम उपलब्ध गराएका हुन् ।
बुधवार विहान सुर्खेतबाट ठाटीकाँध गाउँपालिकाको बहाँकोट (साविकको विशाला गाविसको केन्द्र तर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जिप दुर्घटनामा जिपमा सवार आठ जना यात्रु मध्ये पाँच जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए । दुर्घटनामा परी ठाटीकाँध गाउँपालिका वडा नं. ३ का ४६ बर्षिया राजेन्द्र बहादुर शाही, वडा नं. १ का २४ बर्षिया निर्मल बम, वडा नं. २ का २० बर्षिया रमेश बहादुर शाही, वडा नं. ४ का २० बर्षिया रत्ना शाही, वडा नं. ४ कै दिलिप शाहीको मृत्यु भएको थियो ।
यस्तै सोहि गाउँपालिका वडा नं. १ का शमशेर कुमार बम, जुद्ध सुजी तथा वडा नं. ३ का मनिषा रास्कोटी घाइते भएका थिए । घाइतेहरुका अहिले उपचार भइरहेको छ । बोलेरो जिप तीन बर्ष अघि मात्रै ट्राक खोलिएको बाहाकोट सडक खण्डको डाङ्गे मोडमा दुर्घटना भएको थियो । प्रहरीका अनुसार साँघुरो सडक र अधिक मोडका कारण जीप दुर्घटना भएको हो । दुर्घटना भएको स्थान सिँधै गाडी मोडेर लिन नसकिने बताउदै जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुर प्रसाद पोखरेलले भने ‘ब्याक गर्ने क्रममा कन्ट्रोल गर्न नसकेर जिप दुर्घटना भएको हुनुपर्छ ।’

प्रतिक्रिया