बिजुलीले भाप्र झिलिमिली

बिजुलीले भाप्र झिलिमिली

दैलेख — महाबु गाउँपालिका–१, भाप्रमा रिमेखोला लघु जलविद्युत् आयोजना उद्घाटन भएपछि गाउँ नै झिलिमिली बनेको छ । ऊर्जा मन्त्रालयअन्तर्गतको डोलिडार, साविकको गाउँ विकास समिति र स्थानीयको जनश्रमदानबाट आयोजना सञ्चालनमा आएको हो ।

डोलिडारको एक करोड ६९ लाख र साविकको गाउँ विकास समितिको १२ लाख लागतमा आयोजना सञ्चालन भएको छ । आयोजनाबाट १८ दशमलव ५३ किलोवाट विद्युत् निस्किएको छ, जसबाट गाउँका एक सय ५५ घरधुरी लाभान्वित भएका छन् ।

स्थानीय ६८ वर्षीया मायाकुमारी रावल बुढेसकालमा गाउँमै बिजुली पुगेपछि दंग छिन् । ‘यत्रो वर्षसम्म अँध्यारोमा बसियो, बल्ल बिजुलीको रहर पूरा भएको छ,’ उनले भनिन्, ‘पहिले बजारमा बलेको बिजुली हेरेर चित्त बुझाइन्थ्यो, अब त घरमै बिजुली आइपुग्यो ।’

सोही गाउँकी ११ कक्षामा अध्ययनरत सुनिता गुरुङले बिजुली आएपछि पढाइमा सहज हुने बताइन् । उनले रातिको समयमा दियालोको भरमा पढ्नुपर्ने अवस्था अन्त्य भएको बताइन् । ‘अब त मनै खुसी भएको छ,’ उनले भनिन्, ‘बिजुलीको कारण पढाइमा समस्या हुने अवस्था अन्त्य भएको छ ।’

भाप्र गाउँ अहिलेसम्म सडकको पहुँचमा पुगेको छैन । यस्तो अवस्थामा बिजुली पुगेपछि भने स्थानीयमा विकासको केही अनुभूति भएको छ । आयोजनाको उद्घाटन गर्दै पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काले सबैको साझेदारीमा गाउँमा बिजुली बलेको बताए ।

‘नेताहरूले चुनावको बेला मात्र विकासको आश्वासन बाँडे, विकास गरेनन् भन्ने आरोप आएका थियौं,’ उनले भने, ‘अहिले हामी सबैको सहयोगमा बिजुली बलेपछि त्यो आरोपबाट छुटेको छ ।’ भाप्रको विकासमा आफू सधैं लागिरहने उनले बताए ।

बिजुली बलेपछि गाउँमा स्वरोजगारीको अवस्था सिर्जना हुने अपेक्षा गरिएको छ । आयोजनाका सल्लाहकार कनक सेनले अब युावहरूले गाउँमै बसेर उद्यम गर्न सक्ने वातावरण तयार भएको बताए । कान्तिपुर ।

प्रतिक्रिया