पाँचतारे होटलमा छाउगोठ

पाँचतारे होटलमा छाउगोठ

ललितपुर । काठमाडौंको दरबार मार्गस्थित पाँचतारे होटल याक एण्ड यतिमा छाउगोठ राखिएको छ ।नेपालको सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी जिल्लाहरूमा महिलाहरू महिनावारी भएका बेला बस्ने अवैज्ञानिक गोठहरू यस्ता हुन्छन् भन्ने देखाउनका लागि याक एण्ड यतिमा छाउगोठ राखिएको हो ।

नेपालमै पहिलो पटक आयोजना गरिएको ‘महिनावारी स्वास्थ्य व्यवस्थापन सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन’ का अवसरमा आज होटलको दोस्रो तलामा राखिएको छाउगोठ कार्यक्रमको प्रमुख आकर्षण थियो ।राम्ररी खुट्टा तानेर एक जना महिला समेत सुत्न नमिल्ने गरी बनाइएको कच्ची टहरो हेर्ने र फोटो खिच्नेको निकै घुइँचो थियो ।छाउ प्रथा विरुद्ध काम गर्दै आइरहेकी अछामकी अभियन्ता पशुपती कुँवर हात टेकेर नमूना गोठभित्र पसिन् र गोठ भित्रैबाट भनिन्, ‘दशक अघिसम्म महिनावारी भएका बेला हरेक महिनामा सात दिन यस्तै गोठमा बस्दाको झल्को आयो ।’

अभियन्ता पशुपती कुँवर नमूना छाउगोठ अगाडि फोटो खिच्दै ।एकछिन साथीसँग गोठभित्रै बसेर कुरा गर्दै उनले यस्तै गोठमा दूधे सन्तानसँगै एकसरो लुगाका साथ सुत्ने महिलाहरूले चिसोका कारण सन्तान गुमाएका घटना सुनाइन् ।

अछाममै जन्मिए हुर्किएका तेस्रोलिंगी पुरुष भक्ति शाहले भने, ‘अछामका हाम्रा आमा दिदीबहिनीहरू अहिले पनि यस्तै गोठमा रात कटाउन बाध्य छन् ।’ उनले अब यस्ता छाउगोठहरू संग्रहालय बाहेक अन्त देख्न नपाए हुन्थ्यो भन्ने कामना गरे ।

तेस्रोलिंगी पुरुष भक्ति शाह छाउ गोठ भित्र ।सम्मेलन नेपाल सरकार र महिनावारी स्वास्थ्य र सरसफाइ व्यवस्थापनका क्षेत्रमा काम गर्ने संस्थाहरूको सञ्जाल (एमएचएम अलाइन्स) को आयोजनामा भएको हो ।

सम्मेलनमा महिनावारीका बेला अपनाउनु पर्ने सरसफाई, त्यस सम्बन्धी राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय अभ्यासका बारेमा छलफल भएको सञ्जालका संयोजक गुणराज श्रेष्ठले जानकारी दिए ।सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायत महिनावारी प्रथा विरुद्ध कार्यरत संघ संस्थाका प्रतिनिधि, अभियन्ता, किशोर किशोरीहरूको उपस्थिती रहेको छ ।–महिला खबर–

प्रतिक्रिया