दृष्टिविहीन महिलामाथि यौनहिंसा

दृष्टिविहीन महिलामाथि यौनहिंसा


वीरेन्द्रनगर — बर्दियाकी एक दृष्टिविहीन बालिका छात्रावासमा बसेर पढ्थिन् । कक्षा ७ मा पढ्ने उनलाई आफ्नै देख्नेरनदेख्ने दुवै शिक्षकले यौनहिंसा गर्न थाले । एकदिन उनले हिंसाको प्रतिकार गरिन् । न्याय पाउनुपर्ने उनी बदलामा छात्रावासबाटै निष्कासित भइन् ।

यो एउटा उदाहरणमात्र हो । अधिकांश दृष्टिविहीन महिला लामो समयदेखि यौनहिंसामा पर्दै आएका छन् । ‘हामीलाई कस्तो गाह्रो, अरूले देख्दा सहयोग गरिरहेको छ भन्ने देखिन्छ । तर, उनीहरूले नै हामीलाई हिंसा गरिरहेका हुन्छन्,’ वीरेन्द्रनगर बस्ने सोमना खड्काले भनिन्, ‘प्रतिकार गर्न पनि गाह्रो हुन्छ ।’ दृष्टिविहीन बालिका तथा महिलाहरू छात्रावासमै पनि हिंसा भोग्नुपर्ने अवस्था छ । दृष्टिविहीन महिलाहरू हिंसामा परे भने न्याय माग्दा पनि उत्तिकै कठिन हुने सोमना बताउँछिन् । उनले न्याय माग्न जाँदा देखेको छ रु के प्रमाण छ रु भनेर सोध्दा आफूहरूले न्याय पाउन समस्याभएको बताइन् ।

२८ वर्षीया सोमना दृष्टिविहीन हुन् । पेसाले शिक्षक रहेकी उनी स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत छिन् । दुई वर्ष हुँदासम्म देख्ने सोमनाले त्यसपछि भने देख्न सकिनन् । आफू देख्न नसक्ने भएकोमा उनलाई धेरै पीडा लाग्दैन । तर, उनलाई त्यतिबेला पीडा हुन्छ, जब समाजले उनीमाथि हिंसा गर्छ । ‘म र म जस्तै महिलाले सामाजिकसँगै यौनहिंसा भोग्नुपरेको हुन्छ,’ उनले भनिन्, ‘समाजले हामीलाई सानैदेखि हिंसा गर्न थाल्छ, किशोर अवस्था पुगेपछि भने बोलाइ र छुवाइको हिंसा हामीले धेरै झेल्नुपर्छ ।’ यात्रा गर्दा, गाडी चढाउने र ओराल्ने नाममा, बाटो कटाउने नाममा गलत तरिकाले छुन खोज्ने धेरै हुने गरेको उनको भनाइ छ ।

वीरेन्द्रनगर ८ की मेनका आचार्यले दृष्टिविहीन महिला भएकै कारण सानैदेखि समाजको विभेद सहनुपरेको बताइन् । ‘उमेर बढ्दै जाँदा हामी दृष्टिविहीन महिलामाथि यौनहिंसा हुन्छ,’ उनले भनिन्, ‘त्यसमा धेरैजसो गलत तरिकाले छुने र गलत शब्द बोलेर हिंसा गरिरहेका हुन्छन् ।’ कतिपयहरू विद्यालयमा शिक्षकबाटै हिंसामा पर्ने भएकाले कतै पनि सुरक्षित नभएको उनको भनाइ छ । उनले अहिले समग्र महिला नै सुरक्षित नहुँदा आफूहरू झन् समस्यामा परेको बताइन् । घर बाहिर बसेर पढ्दा दृष्टिविहीन पुरुषहरूबाटै पनि हिंसामा पर्ने गरेको मेनका बताउँछिन् ।

दैलेखकी रेनुका कोइरालाले आफूले देख्न नसक्दा हिंसा गर्नेले फाइदा उठाउने बताइन् । ‘एक्लै देख्दा नराम्रो शब्द बोल्ने, छुन खोज्ने गर्छन् । प्रतिकार गर्नलाई देखेको हुँदैनौं,’ उनले भनिन्, ‘कसले हिंसा गर्यो भन्ने थाहै नपाई हामी हिंसामा परिरहेका हुन्छौं ।’

२०७४ सम्ममा महिला तथा बालबालिका कार्यालयको तथ्यांकअनुसार सुर्खेतमा करिब १६ सय दृष्टिविहीन छन् । दृष्टिविहीन महिलाहरूले यौनहिंसा धेरै भोग्नुपर्ने उनीहरूको वकालतको क्षेत्रमा काम गरिरहेको संस्था इन्क्लुजनकी कार्यक्रम संयोजक रिताचन्दले बताइन् । Kantipur

प्रतिक्रिया