दैलेखमा ४० प्रतिशत खेत रोपाइँ

दैलेखमा ४० प्रतिशत खेत रोपाइँ

हिक्मत बहादुर नेपाली
दैलेख असार – असार सकिनै लाग्दा समेत दैलेखमा ४० प्रतिशत मात्र रोपाइँ भएको छ । समयमै प्रर्याप्त पानी नपरेका कारण रोपाइँ प्रभावित भएको हो । जिल्लाका ६० प्रतिशत खेतमा अझै रोपाई हुन सकेको छैन् । ती खेत अझै बाँझै छन् । यस बर्षका असार अन्तिमसम्म जिल्लाभर ४० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र दैलेखले जनाएको छ । गत बर्ष यहि समयमा ५५ प्रतिशत बढि रोपाइँ सम्पन्न भएको थियो । यहाँका धेरै जसो खेतीयोग्य जमिन आकाशे पानीको भरमा छन् । जिल्लाको कुल ४३ हजार १ सय २१ हेक्टर खेतीयोग्य जमिन मध्ये ३४ हजार ४ सय ९७ हेक्टरमा खेती गरिदैँ आएको कृषि ज्ञान केन्द्र दैलेखका निमित्त प्रमुख तिलक पाण्डेले जानकारी दिनुभयो । जिल्लामा ६ हजार ५ सय १७ हेक्टर क्षेत्रफलमा मात्र धान खेती गरिन्छ ।
कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लाभर ९ हजार ६ सय ३८ हेक्टर क्षेत्रफलमा मात्र सिचाइँ सुविधा पुगेको छ । यो कुल खेती गरिएको जमिनको २७ प्रतिशत मात्र हो । कृषि ज्ञान केन्द्र दैलेखका अनुसार जिल्लामा ६७ प्रतिशत किसान आकाशे पानीमा निर्भर छन् । सिँचाइको सुविधा नहुँदा दैलेखका किसान आकाशे पानीको भरमा खेती गर्न बाध्य भएका हुन् । भरपर्दो सिँचाइ सुविधा नहुँदा लगानी र प्रविधि अनुसार किसानले उत्पादन बढाउन सकिरहेका छैनन ।दैलेखको नारायण, दुल्लु, चामुण्डाविन्द्रासैनी नगरपालिकाका, भगवतीमाई, गुुराँस, भैरबी, ठाटीकाँध गाउँपालिकाका अधिकाँश किसानको खेत बाँझै छन् । आठबीस नगरपालिकाको केही भू–भाग, नौमूले, महाबु र डुङ्गेश्वर गाउँपालिकामा अन्य स्थानीय तहको तुलनामा बढि सिचाई सुविधा पुगेको कृषि ज्ञान केन्द्र दैलेखका निमित्त प्रमुख पाण्डेले जानकारी दिनुभयो । समयमै मनसुन सक्रिय नभएकै कारण सिँचाई सुविधा नभएका ठाउँमा धान रोपाइँ कम भएको उहाँको भनाई छ ।
राष्ट्रिय योजना आयोगले सन २०१६ मा सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले मुलुकका सुख्खापनको अत्यन्तै उच्च जोखिममा सात जिल्ला छन् । जसमा दैलेखमा पनि परेको छ । प्रतिवेदनका आधारमा पहाडमा मुहान सुक्दैछन् कतै हराउँदैछन् । त्यसको प्रत्यक्ष असर किसानलाई परेको हो । ‘धान खेती गर्नका लागि आकाशे पानीको भर पर्नुपरेको छ, पानी पर्न सुरु भएमात्रै खेत दौडिन्छौ,’ डुङ्गेश्वर गाउँपालिका–२ का कृषक पूर्ण बहादुर गुरुङ्गले भन्नुभयो ।

प्रतिक्रिया